इलेक्ट्रिक कार किन्नु पहिले जानौ : चार्जर कस्तो छ ? कसरी प्रयोग गर्ने ?

विद्युतीय गाडी प्रयोग गर्नु वा किन्नु अघि तपाईले जान्नुपर्ने पहिलो कुरा भनेको गाडीसँगै विक्रेताले उपलब्ध गराउने चार्जर कस्तो प्रकारको हो र त्यसलाई कसरी प्रयोग गर्ने भन्ने हो । यसको लागि मुख्यतः तीन तथ्य जान्नु आवश्यक छ । ती हुन् :

१. चार्जरको प्रकार
२. कनेक्टरको प्रकार
३. जडान गर्ने प्लग (पावर सप्लाई)

१. चार्जरको प्रकार
चार्जिङ्ग गतिको आधारमा चार्जर दुई प्रकारका हुन्छन् ः कम गतिको र छिटो गतिको चार्जर अर्थात स्लो र फास्ट चार्जर ।

गाडीसँग बिक्रेताले उपलब्ध गराउने चार्जर कम गतिमा चार्ज गर्ने खालको हुन्छ । जुन घरमा भएको उपयुक्त प्लगमा जोडेर विद्युतीय गाडीको ब्याट्री चार्ज गर्न सकिन्छ । यसलाई एसी –अल्टर्नेटिभ करेन्ट) चार्जर पनि भनिन्छ । यसबाट करिब ३ किलोवाट देखि ७ किलोवाटसम्मको गतिमा घरमा चार्ज गर्न सकिन्छ । तर घरमा प्रयोग भएको पावर सप्लाई करेन्टको क्षमता र सामान्यतया घरमा प्रयोग हुने प्लगको क्षमताको आधारमा ३ किलोवाटसम्मको चार्जर प्रयोग गर्नु राम्रो हुन्छ । साथै ईभीमा एसी चार्ज अधिकतम कुन दरसम्म लिनसक्ने क्षमता हो, बुझ्न जरूरी हुन्छ ।

छिटो गतिमा चार्ज गर्ने चार्जरको तुलनामा कम गतिमा चार्ज गर्ने चार्जरको लागत कम हुने तथा लिथियम ब्याट्रीको लाइफ राम्रो कायम रहन्छ । विशेषगरी लिथियम आयोन ब्याट्री उत्पादकले मध्यम स्तर सम्मको चार्ज गर्ने दर उपयुक्त रहने गरि ब्याट्री उत्पादन गरेका हुन्छन् । त्यस्तै प्रायःजसो गाडी उत्पादकले पनि कम गतिको चार्जर नै प्रयोग गर्न सुझाव दिने गर्छन । ईभी प्रयोगकर्ताले यो कुरालाई ध्यान दिनु अत्यन्त लाभदायक हुन्छ ।

फास्ट चार्जर लामो दुरीका यात्राको लागि उत्तम मानिन्छ । त्यही अनुसार राजमार्गहरुमा जडान गरिएका हुन्छन् किनकी छिटो गतिका चार्जरले छोटो समयमा सबैभन्दा बढी इनर्जी प्रदान गर्न सक्छ । यसले छिटो ईभी चार्ज हुन्छ ।

विशेषगरी यस्ता फाष्ट चार्जिङ डिसी फास्ट चार्जरको रूपमा प्रयोग गरिन्छन् । तपाईंको ब्याट्रीको क्षमतामा निर्भर गर्दै डिसी फास्ट चार्जरले ३० मिनेट देखि १ घण्टामा लगभग ८० प्रतिशत ब्याट्री चार्ज गर्न सक्छ । यो समय चार्जरको क्षमतामा भर पर्छ । यस्तो फास्ट चार्ज अति आवश्यक भएमा मात्र प्रयोग गर्नु पर्छ । नियमित फास्ट चार्ज गर्दा लिथियम आयोन ब्याट्रीको क्षमता छिट्टै कमजोर हुँदै जान्छ । गाडी उत्पादक तथा बिक्रेता कम्पनीहरूले लिथियम आयोन ब्याट्रीको आयु तथा वारेन्टी अवधिलाई ध्यानमा राखेर डिसी फास्ट चार्ज गर्न प्राथमिकता दिँदैनन् । यद्यपि व्यावसायिक प्रयोजनका लामो–छोटो दुरीमा चल्ने विद्युतीय बस वा त्यस्ता गाडीको लागि भने अत्यन्त उपयुक्त छ ।

नेपालमा पनि नेपाल सरकारका विभिन्न सम्बन्धित निकाय र विद्युतीय सवारी साधन आयात गर्ने कम्पनीहरुले सार्वजनिक चार्जिङ स्टेसन स्थापना गरिरहेका छन् । सरकारी तवरबाट राम्रो अध्ययन नगरी र उपभोक्ताको आवश्यकता नबुझी गरिएका यस्ता पब्लिक चार्जिङ स्टेसनमा सबै खालका गाडीलाई प्रयोग हुने प्लग उपलब्ध भने छैन । उदाहरणको लागि डिसी फास्ट चार्जिङ गर्ने विश्वब्यापी रूपमा प्रयोग हुने चाडेमो (CHAdeMO) हाल स्थापना भएका सार्वजनिक चार्जिङ स्टेसनमा ऊपलब्ध छैन । नेपालमा शुरूवाती समय देखिनै चाडेमो प्लग भएका गाडीहरू गुडिरहेका छन् ।

२. कनेक्टरको प्रकार
विद्युतीय गाडीमा भएको मुख्य ब्याट्री चार्ज गर्नका लागि आवश्यक हुने चार्जिङ प्लग गाडी उत्पादक कम्पनी अनुसार फरक–फरक प्रकारका हुन सक्छन् । त्यसैले चार्जर जोड्नु पहिले चार्जरको कनेक्टर र गाडीतर्फको प्लग एउटै खालको र फिट हुने–नहुने ध्यान दिनु पर्छ । एसी चार्जिङ गर्नको लागि टाइप १, टाइप २ र जीबी/टी आदि प्रकारका प्लग रहेका छन् भने डीसी फास्ट चार्जिङको लागि सीसीएस१, सीसीएस२, चाडेमो, जीबी/टी–डीसी आदि प्लग हुन्छन् ।

३. जडान गर्ने प्लग (पावर सप्लाई)
विशेष गरी गाडीसँग बिक्रेताले उपलब्ध गराउने स्लो चार्जर घरमा जोड्नु पहिले तलको बुँदाहरूमा ध्यान दिनु अति जरूरी हुन्छ :

(क) वाल साइडको पावर सप्लाई प्लग चार्जरको करेन्ट एम्पियर क्षमता बराबर वा बढी क्षमताको हुनु पर्छ । जस्तै, १० एम्प्यिरको चार्जर छ भने वाल साइडको प्लग पनि सो बराबर वा बढी १२ एम्पियर वा १५ एम्पियर हुनु पर्छ ।

(ख) वाल साइडको प्लगमा ओभर लोड वा सर्ट सर्किट हुदा सुरक्षाको लागि अनिवार्य एमसीबी र आरसीसीबी/आरसीडी प्रयोग गर्नु पर्छ । यसले घर साइडको वायरिङ तथा चार्ज गर्दा गाडी र चार्जरलाई सुरक्षित गर्छ ।

(ग) चार्जर जोड्ने वाल साइडको प्लग र चार्जरको पिन पूर्णरूपले जोडिने खालको छ वा छैन ख्याल दिनु पर्छ । नमिल्ने वा हल्का मिल्ने भन्दै जबरजस्ती उक्त प्लगमा चार्जर प्रयोग गरी ईभी चार्ज गर्दा ठूलो क्षति हुन सक्छ ।

(घ) वाल साइडको प्लग वाटरप्रुफ वा इन्ग्रेस प्रोटेक्सन क्षमता ठिक नहुन सक्छ, त्यसैले वर्षाको पानीले नभेट्ने ठाउँमा प्लग सुरक्षित हुनु पर्छ ।

(ङ) वाल साइडको प्लगको उचाई सानो बच्चाको पहुँच भन्दा माथि भए राम्रो हुन्छ ।

(च) वाल साइडको प्लगमा घरबाट ल्याइएको वायरको साइज दूरी र प्रयोग क्षमता अनुसार प्रयोग भएको छ छैन ध्यान दिनु पर्छ ।

केपी पोखरेल
(सर्भिस हेड, निसान/ड्याटसन सर्भिस सेन्टर, नेपाल)

सम्बन्धित समाचारहरू

नेटा भी इलेक्ट्रिक कार बुकिङ गर्नेले गाडी पाउन केही महिना पर्खिनु पर्ने

नेटा भी इलेक्ट्रिक कार बुकिङ गर्नेले गाडी पाउन केही महिना पर्खिनु पर्ने

काठमाडौं – नेपाली बजारमा बिक्रीका लागि उपलब्ध होजोन मोटर्सको नेटा भी...

यस्तो हुनेछ महिन्द्राले सार्वजनिक गर्ने नयाँ इलेक्ट्रिक कार एक्सयूभी ४०० का १० विशेषता

यस्तो हुनेछ महिन्द्राले सार्वजनिक गर्ने नयाँ इलेक्ट्रिक कार एक्सयूभी ४०० का १० विशेषता

महिन्द्रा एन्ड महिन्द्रा कम्पीले भारतमा पहिलो इलेक्ट्रिक एसयूभी...

पहिलो मोडुलर इलेक्ट्रिक स्कुटर अर्को वर्ष लन्च हुने

पहिलो मोडुलर इलेक्ट्रिक स्कुटर अर्को वर्ष लन्च हुने

इभी स्टार्टअप कम्पनी डिस्प्याच भेहिकलले अर्को वर्ष मोडुलर इलेक्ट्रिक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...