क्षतिग्रस्त १२ वटा झोलुङ्गे पुलहरूको मर्मत कार्य सुरु, २० दिनमै सञ्चालनमा ल्याइने
काठमाडाैं – रसुवाको भोटेकोशी नदीमा आएको बाढीले त्रिशूली–मुग्लिन...
नेपालको भूगोल आफैंमा सडक सुरक्षाका लागि चुनौतीपूर्ण छ । हिमालदेखि तराईसम्मको भौगोलिक विविधतासँगै यहाँका सडकमा तीखा घुम्ती, साँघुरा पहाडी बाटा, भिरालो सडक, नदीका किनार, खोँच, पहिरो सम्भावित क्षेत्र र सीमित दृश्यता भएका ब्लाइन्ड कर्नर पनि प्रशस्त छन् । यस्तो सडकमा सवारी चलाउँदा चालकको सीपसँगै सही समयमा सही निर्णय गर्ने क्षमता अत्यन्त महत्वपूर्ण हुन्छ ।
केही समयअघि सिन्धुलीको सुनकोशी क्षेत्रमा सवारी दुर्घटनापछि कार नदीमा खसेको र बेपत्ता भएकाहरूको खोजी तथा उद्धार प्रयास गरिएको घटनाले पनि घुम्ती तथा जोखिमपूर्ण सडकमा अतिरिक्त सावधानीको आवश्यकता सम्झाउँछ । यस्ता घटनाले हामीसामु एउटा गम्भीर प्रश्न खडा गर्छन् – मोडमा चालकले आफूले देखेको सडक मात्र हेर्ने कि नदेखिएको जोखिमको पनि अनुमान गर्ने ?
मोडको अर्को भागमा के छ, चालकलाई थाहा हुँदैन । विपरीत दिशाबाट तीव्र गतिमा सवारी आउन सक्छ, मोटरसाइकल अचानक देखिन सक्छ, पैदलयात्री सडकमा हुन सक्छ वा सडकको किनारमै गहिरो खोँच, नदी अथवा पहिरोको जोखिम हुन सक्छ । त्यसैले मोडमा सवारी चलाउनु भनेको दृश्यताभन्दा बढी सावधानी, धैर्य र पूर्वानुमानमा निर्भर हुनु हो
तीखा मोड तथा घुम्तीमा सुरक्षित यात्रा गर्दै गन्तव्यसम्म पुग्न यी १० सुरक्षा सावधानी अपनाऔ ।
१. मोड आउनुअघि नै गति घटाउनुहोस् ।
मोडभित्र पुगेपछि अचानक ब्रेक लगाउनुभन्दा मोडअघि नै गति नियन्त्रण गर्नु सुरक्षित हुन्छ । विशेषगरी तीखा घुम्तीमा सडकको अवस्था, मौसम र दृश्यताअनुसार सुरक्षित गति कायम गर्नुपर्छ ।
२. आफ्नो लेन कहिल्यै नछोड्नुहोस् ।
मोडलाई छोटो पार्ने नाममा विपरीत लेनतर्फ काट्ने बानी अत्यन्त जोखिमपूर्ण हुन्छ । आफूले अर्को सवारी नदेखे पनि विपरीत दिशाबाट अर्को सवारी तीव्र गतिमा आइरहेको हुन सक्छ ।
३. ब्लाइन्ड कर्नरमा ओभरटेक नगर्नुहोस् ।
अगाडिको सडक स्पष्ट देखिँदैन भने ओभरटेक गर्ने निर्णय अनुमानमा आधारित हुन्छ । त्यसैले “दृश्यता छैन भने ओभरटेक छैन” भन्ने सुरक्षा सिद्धान्तलाई व्यवहारमा उतारौँ ।
४. अगाडिको सवारीसँग सुरक्षित दूरी कायम गर्नुहोस् ।
मोडमा अगाडिको सवारीले अचानक ब्रेक लगाउन सक्छ वा सडकमा अवरोध देखिन सक्छ । पर्याप्त दूरीले चालकलाई प्रतिक्रिया दिने र सवारी नियन्त्रणमा राख्ने अतिरिक्त समय दिन्छ ।
५. आवश्यकता अनुसार हर्न तथा संकेत प्रयोग गर्नुहोस् ।
साँघुरा तथा ब्लाइन्ड घुम्तीमा आफ्नो उपस्थितिको जानकारी दिन विवेकपूर्ण रूपमा हर्न प्रयोग गर्न सकिन्छ । तर हर्न बजाएपछि बाटो सुरक्षित छ भन्ने ग्यारेन्टी हुँदैन । गति नियन्त्रण र आफ्नो लेनमा रहनु पहिलो प्राथमिकता हो ।
६. पहाडी सडकको किनारालाई गम्भीरतापूर्वक लिनुहोस् ।
पहाडी सडकका कतिपय घुम्तीको एकातर्फ भिर र अर्कोतर्फ खोँच वा नदी हुन्छ । यस्तो अवस्थामा अत्यधिक गति, अचानक ब्रेक वा सवारीको नियन्त्रणमा हुने सामान्य त्रुटिले पनि गम्भीर दुर्घटना निम्त्याउन सक्छ । मोडमा सडकको किनारातर्फ अत्यधिक नजिकिएर सवारी नचलाउनुहोस् र सुरक्षित दूरी कायम राख्नुहोस् ।
७. वर्षा, कुहिरो र रातमा थप सावधानी अपनाउनुहोस् ।
वर्षामा सडक चिप्लो हुन्छ, ब्रेकिङ दूरी बढ्न सक्छ र पानी वा हिलोले सडकको वास्तविक अवस्था लुकाउन सक्छ । कुहिरो र रातमा दृश्यता झन् कम हुन्छ । त्यसैले गति घटाउने, दूरी बढाउने र अनावश्यक ओभरटेक नगर्ने बानी बसाल्नुपर्छ ।
८. ठूला सवारीसँग धैर्य गर्नुहोस् ।
बस, ट्रक तथा अन्य ठूला सवारीले मोडमा बढी स्थान लिन सक्छन् । विशेषगरी मोटरसाइकल तथा स्कुटर चालकले ठूलो सवारीको छेउबाट हतारमा निस्कने प्रयास गर्नु हुँदैन ।
९. मोड काटेपछि पनि तुरुन्तै गति नबढाउनुहोस् ।
मोड पार गरेपछि सडक खाली देखिए पनि केही दूरीसम्म सावधानी कायम राख्नुहोस् । रोकिएको सवारी, पैदलयात्री, सडक अवरोध वा अर्को घुम्ती अचानक आउन सक्छ ।
१०. यात्राअघि सवारीको अवस्था जाँच गर्नुहोस् ।
ब्रेक, टायर, स्टेयरिङ, हेडलाइट, इन्डिकेटर र मिररको अवस्था राम्रो हुनुपर्छ । विशेषगरी पहाडी तथा लामो दूरीको यात्राअघि सवारीको प्राविधिक अवस्थालाई बेवास्ता गर्नु हुँदैन ।
मोडमा चालकको क्षमता गति बढाएर होइन, सही समयमा गति घटाएर देखिन्छ । सडकमा आफूले देखेकोभन्दा आफूले नदेखेको जोखिमलाई बढी महत्व दिनु नै सुरक्षित ड्राइभिङ हो । मोडले अगाडिको बाटो मात्र लुकाउँदैन, सम्भावित जोखिम पनि लुकाएको हुन्छ । त्यसैले, मोडअघि गति घटाऔँ, आफ्नै लेनमा रहौँ, दृश्यता नभए ओभरटेक नगरौँ र सुरक्षित रूपमा गन्तव्य पुगौँ ।
प्रहरी वरिष्ठ नायव निरीक्षक
जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवन
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...