जेव्रा क्रसिङ : पैदल यात्रुको कानुनी अधिकार, चालकको अनिवार्य दायित्व

सडकमा कोरिएको जेव्रा क्रसिङ केवल सेतो धर्काको चित्र होइन, यो पैदल यात्रुको सुरक्षित आवतजावतको कानुनी अधिकार हो । विश्वभर स्वीकार गरिएको ट्राफिक सिद्धान्त अनुसार जेव्रा क्रसिङमा पुगेका वा पार गर्न लागेका पैदल यात्रुलाई पहिलो प्राथमिकता (Right of Way) दिनुपर्छ । तर विडम्बना, हाम्रो सडकमा धेरै चालकहरूले यही आधारभूत ट्राफिक नियमको निरन्तर उल्लङ्घन गरिरहेका छन् । जेव्रा क्रसिङमै सवारी रोकेर यात्रु चढाउने / ओराल्ने, क्रसिङ ढाकेर पार्किङ गर्ने, पैदल यात्रुलाई बाटो नदिई छल्दै अघि बढ्ने, सडक पार गर्न प्रतीक्षारत पैदल यात्रुलाई बेवास्ता गर्दै तीव्र गतिमा सवारी चलाउने जस्ता गलत अभ्यासले दुर्घटनाको जोखिम बढाएको छ । यस्ता लापरवाहीपूर्ण व्यवहारका कारण धेरै निर्दोष पैदल यात्रुले ज्यान गुमाएका छन् भने धेरैजना गम्भीर घाइते भएका छन् ।

        नेपालको सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ तथा सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४ अनुसार चालकले ट्राफिक संकेत, सडक चिन्ह तथा पैदल यात्रुको सुरक्षालाई सम्मान गर्दै सवारी सञ्चालन गर्नुपर्ने कानुनी दायित्व छ । जेव्रा क्रसिङमा पैदल यात्रु सडक पार गर्न लागेका वा पार गरिरहेका अवस्थामा चालकले गति घटाई आवश्यक परे सवारी पूर्ण रूपमा रोकी सुरक्षित रूपमा बाटो दिनुपर्छ । यस्ता कानुनी व्यवस्थाको उल्लङ्घन गर्नु केवल ट्राफिक नियम उल्लङ्घन मात्र होइन, मानव जीवनप्रतिको गैरजिम्मेवारी पनि हो ।

        एकछिन आफ्नै बानीको समीक्षा गरौँ । कतै हामी पनि जेव्रा क्रसिङमा उभिएका पैदल यात्रुलाई बेवास्ता गर्दै सवारी चलाउने वा जेव्रा क्रसिङ प्रयोग नगरी सडक पार गर्ने गलत अभ्यासमा त छैनौँ ? यदि छ भने, आजैदेखि त्यो बानी परिवर्तन गर्नुहोस् । तपाईंको सानो परिवर्तनले कसैको जीवन जोगिन सक्छ । यसका लागि निम्न जीवनरक्षक सुरक्षा सावधानीहरू अनिवार्य रूपमा अपनाऔँ :-

१. जेव्रा क्रसिङ नजिक पुग्नासाथ गति घटाउनुहोस् ।

        विद्यालय, अस्पताल, बजार तथा व्यस्त चोकमा रहेका जेव्रा क्रसिङ नजिक पुग्दा सधैं सावधानी अपनाउनुहोस् ।

२. पैदल यात्रुलाई पहिलो प्राथमिकता दिनुहोस् ।

        जेव्रा क्रसिङमा कोही व्यक्ति पार गर्न लागेका छन् भने तुरुन्त सवारी रोक्नुहोस् । केही सेकेन्डको प्रतीक्षाले एउटा अमूल्य जीवन बचाउन सक्छ ।

३. जेव्रा क्रसिङमाथि सवारी नरोक्नुहोस् ।

        रातो बत्ती, ट्राफिक जाम वा अन्य कारणले रोक्नुपरे पनि क्रसिङमाथि सवारी नल्याउनुहोस् । यसले पैदल यात्रुको बाटो अवरुद्ध हुन्छ र उनीहरूलाई जोखिमपूर्ण स्थानबाट सडक पार गर्न बाध्य बनाउँछ ।

४. यात्रु चढाउने वा ओराल्ने काम जेव्रा क्रसिङमा नगर्नुहोस् ।

        यस्तो कार्यले पैदल यात्रुको दृश्यता घटाउँछ र दुर्घटनाको सम्भावना अत्यधिक बढाउँछ ।

५. पैदल यात्रुलाई छल्ने प्रयास नगर्नुहोस् ।

        जेव्रा क्रसिङमा मानिस देख्दा दायाँ–बायाँबाट कटाएर अघि बढ्ने प्रवृत्ति अत्यन्त खतरनाक हुन्छ । चालकको एक क्षणको हतारले अर्को परिवारको जीवनभरको पीडा बन्न सक्छ ।

६. वर्षा, राति वा कम दृश्यता भएको अवस्थामा अझ बढी सतर्क रहनुहोस् ।

        यस्ता अवस्थामा पैदल यात्रु समयमै नदेखिन सक्छन् । त्यसैले गति नियन्त्रण र विशेष सावधानी अत्यावश्यक हुन्छ ।

७. पैदल यात्रुले पनि जिम्मेवार व्यवहार अपनाउनु आवश्यक छ

        जेव्रा क्रसिङ प्रयोग गर्नुहोस्, सडक पार गर्नु अघि दायाँ / बायाँ हेर्नुहोस्, चालकले सवारी रोकेको सुनिश्चित भएपछि मात्र अघि बढ्नुहोस् र मोबाइलमा ध्यान दिँदै सडक पार नगर्नुहोस् ।

        सभ्य समाजको पहिचान सडकमा देखिने व्यवहारबाट हुन्छ । चालकले जेव्रा क्रसिङलाई पैदल यात्रुको सुरक्षित क्षेत्रका रूपमा सम्मान गर्ने र पैदल यात्रुले पनि निर्धारित स्थानबाट सावधानीपूर्वक सडक पार गर्ने संस्कार विकास गर्न सके मात्रै सडक दुर्घटना न्यूनीकरण सम्भव हुन्छ । सडकमा केही सेकेन्डको संयमले कसैको सम्पूर्ण जीवन बचाउन सक्छ । त्यसैले सम्झनुहोस् - जेव्रा क्रसिङमा पहिलो अधिकार पैदल यात्रुको हो । त्यसको सम्मान गर्नु प्रत्येक चालकको कानुनी दायित्व मात्र होइन, सभ्य समाजको नैतिक जिम्मेवारी पनि हो ।

ट्राफिक नियम जानौं पनि, मानौं पनि ।

  • विष्णु थापा

प्रहरी बरिष्ठ नायव निरीक्षक

जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवन

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...