ईभी ब्याट्रीमा नयाँ प्रतिस्पर्धा, सोडियम आयनलाई चीनको प्रोत्साहन
काठमाडौं–चीनले सोडियम आयन ब्याट्री उत्पादनलाई प्रोत्साहन गर्न कर छुट...
इलेक्ट्रिक गाडीको लोकप्रियता बढेसँगै ब्याट्रीको आयु र मर्मतसम्भारबारे चासो पनि बढिरहेको छ। पेट्रोल र डिजेल कारको तुलनामा इलेक्ट्रिक कारमा नियमित मर्मतसम्भार कम आवश्यक पर्ने भए पनि यसको सबैभन्दा महत्त्वपूर्ण र महँगो पार्ट्समध्ये यसको ब्याट्री हो। ब्याट्रीको उचित हेरचाह गर्न सकिएमा यसको पर्फमेन्स लामो समयसम्म कायम राख्न सकिन्छ।
इलेक्ट्रिक कारको ब्याट्रीको आयु बढाउन चार्जिङ गर्ने तरिकाले महत्त्वपूर्ण भूमिका खेल्छ। विशेषगरी लिथियम आयन ब्याट्रीमा लामो समयसम्म अत्यधिक चार्ज वा अत्यन्त कम चार्जको अवस्थामा रहँदा ब्याट्रीको दीर्घकालीन असर पर्न सक्छ। त्यसैले दैनिक प्रयोगका लागि ब्याट्रीलाई सामान्यतया २० देखि ८० प्रतिशतको बीचमा राख्नुपर्छ । यद्यपि, सबै इलेक्ट्रिक कारमा एउटै चार्जिङ सिस्टम हुँदैन। केही कारमा ब्याट्री प्रविधि अनुसार चार्जिङ निर्देशन फरक हुन सक्छ। यस्ता कारमा १०० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ तर ब्याट्री फुल चार्ज भएपछि लामो समयसम्म त्यसै राख्नु हुँदैन।
इलेक्ट्रिक कार चार्ज गर्न सामान्य घरेलु डीसी फास्ट चार्जर पनि प्रयोग गर्न सकिन्छ। यसमा चार्जिङको गति विद्युत् आपूर्ति, चार्जरको क्षमता, कारको चार्जिङ पावर र ब्याट्रीको अवस्थामाथि निर्भर गर्छ।सामान्य घरेलु सकेटबाट गरिने चार्जिङ तुलनात्मक रूपमा ढिलो हुन्छ। यसले रातभरि कार चार्ज गर्न चाहने र दैनिक कम दूरी यात्रा गर्ने चालकलाई सुविधा दिन सक्छ। डीसी फास्ट चार्जरले छोटो समयमा धेरै ऊर्जा उपलब्ध गराउन सक्छ। लामो यात्रामा वा छिटो चार्ज गर्नुपर्ने अवस्थामा यो उपयोगी हुन्छ। तर चार्जिङको गति सधैँ समान रहँदैन। ब्याट्रीको चार्ज धेरै कम वा धेरै बढी हुँदा, तापक्रम उपयुक्त नभएमा अथवा ब्याट्री तातो हुँदा चार्जिङको गति घट्न सक्छ।
डीसी फास्ट चार्जिङले समय त बचाउँछ तर बारम्बार हाई भोल्टेज चार्ज गर्दा ब्याट्रीमा ताप उत्पन्न हुन सक्छ, जसले दीर्घकालीन रूपमा यसको क्षमतामा असर पार्न सक्छ। आधुनिक इलेक्ट्रिक कारमा ब्याट्रीको तापक्रम कन्ट्रोल गर्ने सिस्टम र चार्जिङ व्यवस्थापन प्रविधि हुने भएकाले फास्ट चार्जिङ गर्दा सधैँ ब्याट्री बिग्रन्छ भन्ने होइन।
इलेक्ट्रिक कार लामो समयसम्म प्रयोग नगरी पार्किङमा राख्नुपर्ने भए ब्याट्री पूर्ण रूपमा खाली वा लगातार १०० प्रतिशत चार्ज भएको अवस्थामा नराख्नु राम्रो हुन्छ। लिथियम आयन ब्याट्रीका लागि मध्यम चार्ज स्तरमा राखेर पार्किङ गर्नु उपयुक्त हुन्छ। कार पार्किङमा राख्दा ब्याट्रीको चार्ज बिस्तारै घट्न सक्छ। ब्याट्रीको तापक्रम व्यवस्थापन, अनलाइन कनेक्टिभिटी र अन्य इलेक्ट्रिक सिस्टमले पनि ऊर्जा खपत गर्न सक्छन्। त्यसैले लामो समय कार प्रयोग नगर्ने योजना छ भने पार्किङ गर्नुअघि ब्याट्रीको चार्ज जाँच गर्नु र आवश्यकताअनुसार व्यवस्था मिलाउनु उचित हुन्छ।
गर्मीको समयमा सम्भव भएसम्म छायाँ भएको ठाउँ वा ग्यारेजमा कार पार्क गर्नु उपयोगी हुन्छ। त्यस्तै, चिसो मौसममा ब्याट्रीलाई उपयुक्त तापक्रममा राख्ने सुविधा भएका कारमा प्रि-कन्डिसनिङ सिस्टम प्रयोग गर्न सकिन्छ। विशेषगरी फास्ट चार्जिङ गर्नुअघि ब्याट्रीलाई उपयुक्त तापक्रममा पुर्याउँदा चार्जिङको गति र कार्यक्षमतामा सुधार हुन सक्छ।
इलेक्ट्रिक कारका ब्याट्री सामान्यतया धेरै वर्षसम्म प्रयोग गर्न सकिने गरी डिजाइन गरिएका हुन्छ। उचित अवस्थामा प्रयोग गरिएका केही ब्याट्री १० देखि १५ वर्ष वा त्योभन्दा बढी समयसम्म पनि उपयोगी रहन सक्छ। तर सबै कारको ब्याट्री यति नै समय टिक्छ भन्ने हुँदैन।ब्याट्रीको क्षमता प्रत्येक वर्ष औसत २.३ प्रतिशतले घट्दै जान्छ । तथापि यो कारको मोडल, ब्याट्री प्रविधि, वातावरण र प्रयोगको अवस्थाअनुसार फरक हुन्छ।त्यसैगरी, ब्याट्रीको वारेन्टी अवधि र वास्तविक आयु एउटै कुरा होइन। कार खरिद गर्दा ब्याट्रीको वारेन्टी अवधि, न्यूनतम ग्यारेन्टी गरिएको क्षमता र वारेन्टीका सर्तबारे जानकारी लिनु आवश्यक हुन्छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...