ईभी बहसमा तथ्य, प्रमाण र सुरक्षालाई प्राथमिकता दिन यमुना श्रेष्ठको आग्रह

काठमाडौं–नेपालमा विद्युतीय सवारीसाधन(ईभी) प्रति बढ्दै गएको विश्वास र आकर्षणलाई कमजोर बनाउने गतिविधिप्रति सचेत हुनुपर्नेमा साइमेक्स इंक प्रालीकी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले जोड दिएकी छिन् ।

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंककी प्रबन्ध निर्देशक श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लख्दै नयाँ प्रविधिका विषयमा प्रश्न उठाउनु, कमजोरीबारे आलोचना गर्नु तथा सुधारका लागि आवाज उठाउनु स्वाभाविक भए पनि व्यक्तिगत स्वार्थ वा अपेक्षाका आधारमा सम्पूर्ण ईभी प्रविधिप्रति नकारात्मक धारणा निर्माण गर्नु उचित नभएको बताएकी हुन् ।

श्रेष्ठका अनुसार व्यक्तिगत अपेक्षा पूरा नभएपछि त्यसलाई सम्पूर्ण ईभी प्रविधिको कमजोरीका रूपमा प्रस्तुत गर्ने प्रवृत्तिले आम उपभोक्तामा भ्रम सिर्जना गर्न सक्छ ।

‘ईभी राम्रो छ भनेर अन्धो समर्थन गर्ने पनि होइन, नराम्रो छ भनेर प्रमाणबिना प्रचार गर्ने पनि होइन,’ श्रेष्ठले भनेकी छिन्, ‘तथ्य हेर्नुपर्छ, प्रमाण हेर्नुपर्छ, परीक्षण गर्नुपर्छ र कमजोरी भए सुधार गर्नुपर्छ ।’

उनले नेपालमा ईभीको विस्तारलाई केवल सवारीसाधनको बजारसँग मात्र जोडेर हेर्न नहुने बताएकी छिन् । उनका अनुसार विद्युतीय सवारीसाधन नेपालको जलविद्युत्, ऊर्जा उपयोग, पेट्रोलियम पदार्थको आयात घटाउने प्रयास तथा वातावरण संरक्षणसँग समेत जोडिएको विषय हो ।

‘ईभी केवल एउटा गाडी होइन । यो नेपालको ऊर्जा भविष्यसँग जोडिएको विषय हो । यो हाम्रो जलविद्युतसँग जोडिएको विषय हो,’ श्रेष्ठले भनेकी छिन् ।

नेपालमा उत्पादन हुने विद्युतलाई यातायात क्षेत्रमा थप उपयोग गर्न सके पेट्रोलियम पदार्थको आयातमा निर्भरता घटाउन र स्वदेशमै उत्पादन हुने ऊर्जाको उपयोग बढाउन सकिने उनको भनाई छ ।

ईभीको विस्तारसँगै सुरक्षा, गुणस्तर र उपभोक्ता हितलाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा समेत श्रेष्ठले जोड दिएकी छिन् । उत्पादक तथा आयातकर्ताले गुणस्तर र सुरक्षामा ध्यान दिनुपर्ने तथा उपभोक्ताले पनि सवारीसाधन छनोट गर्दा तथ्य र प्रमाणका आधारमा निर्णय गर्नुपर्ने उनको भनाइ छ ।

ईभी सम्बन्धी सार्वजनिक बहसमा तथ्यमा आधारित आलोचनालाई स्वागत गर्नुपर्ने भए पनि प्रमाणबिनाको नकारात्मक प्रचारले नयाँ प्रविधिप्रतिको उपभोक्ता विश्वासमा असर पार्न सक्ने उनले बताएकी छन् ।

उनका अनुसार ईभीको विषयमा बहस गर्दा पक्ष वा विपक्षमा मात्र उभिनुभन्दा सुरक्षा, गुणस्तर, प्रविधिको वास्तविक प्रदर्शन तथा वातावरणीय र आर्थिक प्रभावका आधारमा मूल्याङ्कन गर्न आवश्यक छ ।

‘मेरो सपना केवल नेपालमा धेरै ईभी चलून् भन्ने होइन,’ श्रेष्ठले भनेकी छिन्, ‘नेपालको आफ्नै स्वच्छ ऊर्जा प्रयोग गरेर पेट्रोलियम आयातमा निर्भरता घटाउँदै वातावरण जोगाउन र भावी पुस्तालाई स्वच्छ, सुरक्षित र आत्मनिर्भर नेपाल हस्तान्तरण गर्न सकौँ भन्ने हो ।’

श्रेष्ठले नेपालको ईभी यात्रालाई रोक्नेभन्दा अझ सुरक्षित, गुणस्तरीय र जिम्मेवार बनाउँदै लैजानुपर्ने बताउँदै उपभोक्तालाई सही सूचना उपलब्ध गराउने, सुरक्षालाई प्राथमिकता दिने र नयाँ प्रविधिको मूल्याङ्कन तथ्यका आधारमा गर्ने जिम्मेवारी सबै सरोकारवालाको रहेको उल्लेख गरेकी छिन् ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...