एआईबाट ट्राफिक व्यवस्थापन सम्भव छ, तर, सरकारले डेटाको महत्व बुझ्नु प-याे : सूर्यांश वैद्य

काठमाडौं - वैद्य इनर्जीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सूर्यांश वैद्यले कृत्रिम बौद्धिकता (एआई) ले अटोमोबाइल क्षेत्रसँगै ट्राफिक व्यवस्थापन, सवारी सुरक्षा र व्यवसाय सञ्चालनमा समेत महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने बताएका छन् । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले आयोजना गरेको ‘एआई एण्ड अटोमोटिभ टेक्नोलोजीः ड्राइभिङ द फ्युचर अफ मोबिलिटी’ संवादमा बोल्दै वैद्यले यस्तो बताएका हुन् ।

उनका अनुसार आफ्नो संस्थामा समेत कर्मचारीलाई एआईका विभिन्न प्रयोगबारे जानकारी दिँदै नयाँ–नयाँ प्रयोग पहिचान गर्न प्रोत्साहित गरिएको छ । साथै, एआईले कर्मचारीलाई थप आत्मनिर्भर बनाउनुका साथै अनुसन्धान, विश्लेषण र काम गर्ने नयाँ तरिका खोज्न सहयोग गरिरहेको उनले सुनाए । अटोमोबाइल क्षेत्रमा एआईको प्रयोग अझ व्यापक बन्दै गएको उल्लेख गर्दै वैद्यले सवारीसाधनमा जडित सेन्सर र अन्य उपकरणले संकलन गर्ने तथ्याङ्कको विश्लेषणबाट प्रयोगकर्तालाई विभिन्न सुविधा दिन सकिने बताए ।

उनले एथरजस्ता विद्युतीय स्कुटरमा सडकको अवस्था पहिचान गरी ‘पोटहोल अलर्ट’ जस्ता सुविधा विकास गर्न सकिने उदाहरण दिए । त्यस्तै, एआईको प्रयोग सवारी चलाउने शैली सुधार्न पनि उपयोगी हुने उनको भनाइ छ । सवारीको राइड एनालिटिक्समार्फत सुरक्षित र प्रभावकारी रूपमा कसरी चलाउने, ऊर्जा कसरी बचत गर्ने, कहिले चार्ज गर्दा उपयुक्त हुन्छ र कुन स्थानमा चार्ज गर्न सकिन्छ भन्ने जानकारी प्रयोगकर्तालाई दिन सकिने उनले बताए।

रुट प्लानिङमा समेत एआईको प्रयोग बढाउन सकिने वैद्यको धारणा छ । सवारीसाधनको चार्ज सकिन सक्ने अवस्था पहिचान गरी गन्तव्यसम्म पुग्नुअघि कहाँ चार्ज गर्न उपयुक्त हुन्छ भन्ने सुझाव सवारीले नै दिन सक्ने उनको भनाइ छ। त्यस्तै, मौसम र वर्षाको तथ्याङ्कलाई सवारीको प्रणालीसँग जोडेर सडकको अवस्थाअनुसार ट्र्याक्सन कन्ट्रोल मोड परिवर्तन गर्न सकिने उनले उल्लेख गरे ।

साथै, स्वचालित सवारी (अटोनोमस ड्राइभिङ) एआईको महत्वपूर्ण प्रयोग भए पनि नेपालजस्तो मुलुकमा यसको प्रयोग चुनौतीपूर्ण छ । उनका अनुसार स्वचालित सवारीका लागि आवश्यक प्रशिक्षण तथ्यांक प्रायः राम्रो सडक अवस्था, स्पष्ट लेन र व्यवस्थित ट्राफिक भएको वातावरणबाट आउने गरेको छ। नेपालका सडक तथा ट्राफिक अवस्था फरक भएकाले स्थानीय परिस्थिति अनुकूल तथ्यांक र अनुसन्धान आवश्यक रहेको उनले बताए ।

वैद्यले एआईको प्रयोग सवारीसाधनमा मात्र सीमित नराखी अटोमोबाइल व्यवसायको सञ्चालनमा समेत गर्नुपर्नेमा जोड दिए । स्पेयर पाट्र्सको मागको चक्र अनुमान गर्न तथा कुन सामानको कति स्टक आवश्यक पर्छ भन्ने पूर्वानुमान गर्न एआई र ईआरपी प्रणालीको प्रयोग गर्न सकिने उनले बताए। यसबाट स्टक व्यवस्थापन सुधार गर्नुका साथै लागत घटाएर त्यसको लाभ ग्राहकसम्म पु-याउन सकिने उनको भनाइ छ ।

उनले एआई तथा अटोमोटिभ प्रविधिको अनुसन्धानमा निजी क्षेत्र र अनुसन्धान संस्थाबीच सहकार्य आवश्यक रहेको बताए । विशेषगरी काठमाडौं उपत्यकाजस्तो पुरानो र घना सहरी क्षेत्रमा फराकिलो सडक निर्माण गरेर मात्र ट्राफिक समस्या समाधान गर्न नसकिने भन्दै तथ्यांकमा आधारित ट्राफिक व्यवस्थापन आवश्यक रहेको उनले जानकारी दिए ।

सार्वजनिक यातायात, बस लेन तथा अन्य पूर्वाधारमा कहाँ र कति लगानी गर्ने भन्ने निर्णयसमेत अनुसन्धान र तथ्याङ्कका आधारमा गर्नुपर्ने उनको भनाइ छ। उपत्यकामा सार्वजनिक विद्युतीय सवारी चार्जिङ पूर्वाधार विस्तारभन्दा सार्वजनिक यातायातलाई प्रभावकारी बनाउने पूर्वाधारमा पहिलो चरणमा लगानी गर्नु बढी प्रभावकारी हुन सक्ने उनको बुझाइ छ । वैद्यले सवारीसाधनबाट संकलित तथ्याङ्कलाई सार्वजनिक पूर्वाधार सुधारमा समेत प्रयोग गर्न सकिने सम्भावना औँल्याए ।

“सवारीसाधनबाट संकलित तथ्याङ्कलाई पूर्वाधार मन्त्रालय वा सम्बन्धित निकायसँग साझेदारी गर्न सकिए सडकको खाल्डोजस्ता समस्या पहिचान र समाधानमा समेत सहयोग पुग्न सक्छ,” उनले भने । उनका अनुसार भविष्यको मोबिलिटीको उद्देश्य केवल नयाँ सवारीसाधन बिक्री गर्नु नभई मानिसलाई एक स्थानबाट अर्को स्थानमा सुरक्षित, सहज र प्रभावकारी रूपमा पु-याउने प्रणाली विकास गर्नु हुनुपर्छ । एआई, अनुसन्धान र सार्वजनिक–निजी क्षेत्रको सहकार्यले नेपालको यातायात तथा मोबिलिटी क्षेत्रमा यस्ता समाधान विकास गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने उनले बताए ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...