चितवन ड्राइभिङ स्कुलको अफर : नयाँ वर्षमा ३० प्रतिशत छुट, उत्कृष्ट टिकटक भिडियोलाई पुरस्कार
भरतपुर – हालै सञ्चालमा आएको चितवन ड्राइभिङ स्कुलले दुईवटा आकर्षक अफर...
नेपालको सडक सञ्जालमा गुड्ने सवारी साधनमध्ये करिब ८० प्रतिशत हिस्सा मोटरसाइकल र स्कुटरले ओगट्छन् । सहजता, पहुँच र गतिशीलताका कारण यो सर्वसाधारणको पहिलो रोजाइ बनेको छ। तर विडम्बना के छ भने, यही दुईपांग्रे सवारी आज सडक दुर्घटनाको सबैभन्दा ठूलो जोखिमको रूपमा उभिएको छ ।
चालु आर्थिक वर्ष २०८२/०८३ को पुस मसान्तसम्मको नेपाल प्रहरीको तथ्यांक अनुसार, नेपालभर कुल २४,८५९ सवारी दुर्घटनामध्ये १४,६२५ दुर्घटनामा मोटरसाइकल संलग्न छन् अर्थात् ५८.८३ प्रतिशत दुर्घटना दुईपांग्रेकै नाममा छन् । अझ दुःखद पक्ष के भने ज्यान गुमाउने र अङ्गभङ्ग हुनेमध्ये अधिकांश १५ देखि ४० वर्ष उमेर समूहका युवा छन् ।
धेरै दुर्घटनामा चालकले हेल्मेट लगाएको देखिन्छ । तर उनीहरूलाई जोगाउन सकिएको छैन । त्यसैले प्रश्न उठ्छ के टाउकोमा हेल्मेट हुनु मात्र ज्यान जोगाउन पर्याप्त छ ?
हेल्मेट मात्र किन पर्याप्त छैन ?
पहिलो, गुणस्तर र सही प्रयोगको अभाव -
कमसल हेल्मेट, नबाँधिएको फित्ता वा खुकुलो स्ट्र्यापले दुर्घटनाको समयमा सुरक्षा दिन सक्दैन । उछिट्टिएको हेल्मेटले सुरक्षा होइन, झनै जोखिम बढाउँछ ।
दोस्रो, तीव्र गति -
दुर्घटनाको प्रमुख कारणमध्ये एक गति हो । सन्तुलन गुम्दा हेल्मेटले टाउको जोगाउन सक्छ, तर छाती, मेरुदण्ड वा भित्री अंगमा लाग्ने चोटबाट बचाउन सक्दैन ।
तेस्रो, दृश्यताको कमी -
कुहिरो, वर्षा वा राति रिफ्लेक्टिभ ज्याकेट र दुरुस्त लाइट बिना चलाउँदा दुईपांग्रे सवारी ठूला सवारीका लागि ‘अदृश्य’ बन्न सक्छ ।
यसैले, हेल्मेट सुरक्षा संस्कारको एउटा भाग हो, सम्पूर्ण समाधान होइन ।
तपाई पनि दुईपांग्रे सवारीबाट आफ्नो यात्रा अनि गन्तव्य तय गर्दै हुनुहुनन्छ भने जीवन बचाउने यी १० नियम प्रति सदैव प्रतिबद्ध रहनुहोस् -
१. हेल्मेट ‘लगाऔँ’ मात्र होइन, ‘सही तरिकाले बाँधौँ’। चालक र पछाडि बस्ने दुवैले गुणस्तरीय हेल्मेटको प्रयोग गरौ ।
२. गति होइन, सुरक्षित घर फर्किनु लक्ष्य बनाऔँ । मोड, बजार, विद्यालय क्षेत्रमा स्वतः गति घटाऔँ ।
३. ओभरटेक अघि आफैलाई यी तीन प्रश्न गर्नुहोस - देखिन्छ ? सुरक्षित छ ? आवश्यक छ ?
४. मदिरा, मोबाइल र मोटरसाइकल कहिल्यै सँगै हुँदैनन् ।
५. ब्लाइन्ड स्पटबाट टाढा रहौँ । ट्रक/बसको नदेखिने कुनामा नबसौँ ।
६. देखिने बनौँ । रिफ्लेक्टिभ ज्याकेट, दुरुस्त हेडलाइट/टेललाइट प्रयोग गरौँ ।
७. सवारीको नियमित स्वास्थ्य जाँच गरौँ । ब्रेक, टायर, चेन - सानो त्रुटि, ठूलो दुर्घटना ।
८. लेन अनुशासन र संकेतको सम्मान गरौँ ।
९. लाइसेन्स र सीप बिना सवारी नगऱौँ । घरबाटै सुरक्षा संस्कार सुरु गरौँ ।
१०. हरेक यात्रा अघि सम्झौँ - घरमा कोही तपाईंको प्रतीक्षामा छ ।
प्रहरीको तथ्यांकमा देखिने यी संख्याहरू केवल अङ्क मात्र होइनन्, यी कसैका छोरा, कसैका पति त कसैका बाबु हुन् । एउटा मोटरसाइकल दुर्घटना हुँदा चालक मात्र घाइते हुँदैन, एउटा सिङ्गो परिवारको सपना र भविष्य क्षतविक्षत हुन्छ ।
याद राख्नुहोस्, ट्राफिक प्रहरीले जरिवाना काट्नु तपाईंलाई दुःख तथा हैरानी दिन होइन, तपाईंको घरको ढोकामा 'मृत्युको खबर' पुग्न नदिनका लागि हो । हामीले समयमै चेत नखुलाउने हो भने, यो यात्रा गन्तव्यसम्म पुग्ने माध्यम नभएर अस्पतालसम्म पुग्ने छोटो बाटो बन्न सक्छ ।
त्यसैले, हेल्मेट टाउकोमा लगाउनुहोस्, तर सुरक्षाको चेत दिमागमा राख्नुहोस् ।
"ट्राफिक नियम जानौँ पनि, मानौँ पनि ।"
– प्र.ब.ना.नि. बिष्णु थापा
प्रमुख–जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुपाल्चोक
भरतपुर – हालै सञ्चालमा आएको चितवन ड्राइभिङ स्कुलले दुईवटा आकर्षक अफर...
काठमाडौं – काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई अझै खुकुलो बनाउने तयारी...
काठमाडौँ- यातायात व्यवस्था विभागले तत्काल सवारी साधनमा इम्बोस्ड नम्बर...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...