भरतपुरका ६ प्रमुख चोकमा ‘ट्राफिक लाइट’ जडानको काम सुरु

चितवन–मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा बढ्दो सवारी चाप नियन्त्रण तथा सडक सुरक्षा अभिवृद्धि गर्न विभिन्न ६ प्रमुख चोकहरूमा ‘ट्राफिक लाइट’ जडानको काम आधिकारिक रूपमा सुरु भएको छ ।

पुलचोक–गोन्द्राङ छ लेन सडक र बाइपास रोडका विभिन्न स्थानहरूमा यो जडान भइरहेको छ । निर्माण कम्पनीका सञ्चालक सुमन थापाका अनुसार ६ वटै तोकिएका स्थानमा पोल राख्ने काम सम्पन्न भइसकेपछि सोमबारदेखि पुलचोक र सहिदचोकमा बत्ती जडानको काम अघि बढाइएको हो ।

सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाका प्रमुख राकेश महर्जनका अनुसार उच्च सवारी चाप हुने पुल्चोक, सहिद चोक, चौबिसकोठी, हाकिम चोक, मालपोत चोक र केन्द्रिय बसपार्कमा बत्ती राख्न लागिएको हो ।

भरतपुर महानगरपालिकाका यी ६ चोकमा ट्राफिक बत्ती राख्न २०८२ साउन २० गते १ करोड २३ लाख १४ हजार २६० रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । सम्झौता अनुसार २०८२ चैत २० गतेसम्ममा काम सम्पन्न गरिसक्नुपर्ने समयसीमा थियो ।

तथापि, निर्माण कम्पनीको सुस्तता, सामान ल्याउन भएको ढिलाइ र बिचमा भएका जेनजी प्रदर्शनका कारण परियोजना प्रभावित बनेको हो । ठेकेदार कम्पनीले समयमै सामान ल्याउन नसकी म्याद थपको निवेदन दिए पनि सडक विभागले त्यसलाई अस्वीकार गरेको छ। हाल निर्माण कम्पनीलाई दैनिक जरिवाना लगाउँदै द्रुत गतिमा काम गर्न लगाइएको छ ।

भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले महानगरले लामो समयदेखि दुर्घटना जोखिम र सवारी चाप घटाउन ट्राफिक लाइटको माग गर्दै आएको बताए । लाइट सञ्चालनमा आएपछि सहरी यातायात आवागमन सहज हुनुका साथै सडक दुर्घटनामा उल्लेख्य कमी आउने विश्वास लिइएको छ । रासस

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...