पहिलो पटक काठमाडौंमा ट्रक भित्रिदाको कथा : यस्तो छ प्रितम सिंहको अनुभव

सन् १९५७ तिरको कुरा । पटनाबाट किस्तीमा गाडी जोडेर ल्याएको उनी सम्झिन्छन् । पटनाबाट ४ दिन र वीरगन्जबाट २ दिन लगाएर काठमाडौं आएको सम्झिदा उनी अहिले पनि भावुक हुन्छन् । उनी हुन् प्रितम सिंह । खासमा पाइलट कोर्स पुरा गरेका प्रितम सिंहको भाग्यमा भने ट्रक व्यवसायी बन्ने लेखिएको रहेछ । यति मात्र होइन, जन्मभूमि छोडेर नेपाललाई कर्मभूमि बनाउने पनि उनको भाग्यमा लेखिएको थियो । यसैले त उनी नेपालमै आफ्नो व्यावसायिक कार्यको साथै समाजसेवामा पनि रमाए । ८७ वर्षिय प्रितम सिंह अझै पनि सामाजिक कार्यमा समेत संलग्न छन् ।

प्रितम सिंहले काठमाडौं उपत्यकामा पहिलो पटक टाटाका तीनवटा ट्रक भित्र्याएका थिए । उनी पनि ट्रक चलाउछन् । यद्यपि लामो दुरीको बाटोमा ट्रक चलाउने ड्राइभर भने तीन वटा ट्रकका लागि तीन जना छुट्टाछुट्टै थिए । तीन जना ड्राइभरहरु प्रितम सिंह, इशर सिंह र आशा सिंह थिए । एक जना ड्राइभर र उनको नाम एउटै अर्थात प्रितम सिंह थियो ।

उनका बुवा सरदार काहान सिंह पनि भारतको जम्मु कश्मीरमा पहिलो गाडी चलाउनेमा पर्छन् । उनको बुवाको जम्मु कश्मीरमा एउटा ठूलै ट्रान्सपोर्ट कम्पनी थियो । त्यसैकारण उनले काठमाडौंमा पहिलो पटक टाटाको तीनवटा ठूला ट्रक भित्र्याएका थिए ।

प्रितम सिंहको कथा उनकै शब्दमा यहाँ प्रस्तुत गरिएको छ ।

पाइलट कोर्सको अध्ययन
म जम्मु कश्मीरको श्रीनगरमा जन्मिएको हुँ । मैले १२ कक्षा सम्म जम्मुमै पढे भने दिल्ली र लखनउबाट पाइलट कोर्स पुरा गरेका थिए । मैले सन् १९५३ मा पाइलट तालिम पुरा गरेको थिए । मसँग ए लेवलको लाइसेन्स छ । पाइलट कोर्स पुरा गरे पश्चात मैले लखनउ देखि दिल्ली, कानपुर आदि स्थानमा ६० घण्टा सम्म प्लेन समेत चलाएको थिए । आमाले पहिले देखि नै पाइलट बन्न चाहेको रुचाउनु भएको थिएन । पछि अध्ययन पुरा गरेर घरमा गए पछि पनि आमाले प्लेन नचलाउन अनुरोध गर्नुभयो । मैले आमाको भनाइ मानेर सो पेशा नै छोडे ।

काठमाडौं आउने योजना र आगमन
एक दिन साथीको बहिनीको विवाहमा भारतको तुलसीपुर पुग्यौ । साथीको बुवाले ट्रकमा ‘बनकस’ घास ओसार्ने काम गर्नुहुन्थ्यो । उहाँले ‘तपाईको बुवाको ट्रान्सपोर्ट कम्पनी छ । काठमाडौंमा ट्रक पु¥याएर सामान ओसार्दा निकै नै फाइदा हुन्छ ।’ भन्नु भयो । हामी त्यतिबेलै काठमाडौं हेर्न आउने निर्णय ग¥यौ । म र मेरो एक जना साथी काठमाडौंका लागि हिड्यौ । त्यतिबेला यहाँ निकै नै कठिनताका साथ आयौ । सुगौलीबाट दुई तीन वटा ट्रेन बदलेर रक्सौल आयौ । रक्सौलबाट अमलेखगन्ज सम्म पनि त्यतिबेला सानो रेल चल्थ्यो । त्यतिबेला सिमरा देखि यता पुरै जंगल थियो । अमलेखगन्ज देखि जीएमसी ट्रकमा चढेर दुई तीन दिन लगाएर आयौ । बाटो सम्झिदा पनि अत्यास लाग्दो थियो । काठमाडौं सुन्दर तर अर्कै संसार जस्तो लाग्यो । हामी काठमाडौं हेरेर अर्को दिन भने प्लेनबाट पटना हुँदै फर्कियौ ।

दोस्रो पटक काठमाडौं
करिव १०, १५ दिन पश्चात नै पिताजी, म र अर्को एक जना फेरि काठमाडौं आयौ । त्यो बेला जम्मु कश्मीरबाट लखनउ, पटना, मुजफ्फरपुर हुँदै वीरगन्ज आयौ । अनि काठमाडौं आयौ । काठमाडौंको न्युरोडमा घुम्दै थियौ । एउटा सानो गाडी सरदारजीले चलाइरहेको देख्यौ । हामीलाई अचम्म लाग्यो । कहाँबाट आएका होलान् भनेर । हामीले गाडी रोक्यौ । उनी त मसँगै पाइलट तालिम गरेको साथी पो रहेछन् । हामी दुवैले एक अर्कालाई ‘तिमी यहाँ के गर्छौ ?’ भनी सोध्यौ । उनी त त्यतिबेलाका राजा महेन्द्रका पाइलट रहेछन् । उनको नाम त्रिलोचन सिंह दुल्लत हो । राजाका अर्का पाइलट ‘रन्धावा’ पनि सरदार नै रहेछन् भन्ने थाहा पायौ । ती साथी पाइलटले नै हामीलाई राजासँग पनि भेट गराइदिए । हाम्रो योजनाको वारेमा सबै जानकारी पाए पश्चात राजाबाट पनि हाम्रो योजना अनुसार कार्य गर्नका लागि स्वीकृति प्रदान भयो र आवश्यक सहयोग गर्न निर्देशन जारी भयो । त्यसपछि करिव तीन दिनको बसाई पश्चात हामी फर्कियौ ।

ट्रकका साथ तेस्रो पटक काठमाडौं
करिव एक महिना पछि हामी ट्रक लिएर काठमाडौं हिड्यौ । ट्रक चलाउनका लागि ३ जना ड्राइभर, तीन जना खलासी, एक जना म्यानेजर र अन्य केही साथी समेत ‘हामी पनि काठमाडौं हेर्न जान्छौ ।’ भनेर आएका थिए । यसरी हामी करिव १०, १२ जना आएका थियौ । ट्रकमा सामान केही थिएन । तीन जना ड्राइभरहरु प्रितम सिंह, इशर सिंह र आशा सिंह थिए । एक जना ड्राइभरको नाम पनि मेरै जस्तो प्रितम सिंह थियो । तीन खलासी मध्ये एक जनाको नाम शेर सिंह थियो । अन्यको याद भएन ।

पटनामा नदी पार गर्नका लागि पुल नै थिएन । स्टिमर चल्थ्यो । त्यही पनि पालो कुर्नु पथ्र्यो । हाम्रो पालो २० दिन पछि बल्ल आउने भनियो । हाम्रो ट्रक फेरि फुल बडी ट्रक भएकाले तार्नका लागि माथिल्लो भाग काट्नु पर्छ भनियो । फेरि २० दिन सम्म के गर्ने भन्ने पनि भयो । त्यही बीचमा हावाबाट चल्ने ठूला बोट पनि देखियो । हामीलाई एक आइडिया आयो । दुई बोटलाई मिलाएर त्यसैमा ट्रक पठाउन सकियो भने कति सहज हुन्थ्यो । हामीले यो कुरा उनीहरुसँग राख्यौ । बोटवालाले तपाईकै रिस्कमा गर्नु हुन्छ भने ठिक छ भने । हामीले दुई गाडीलाई बाँधेर कठिनताका साथ त्यसलाई तार्ने काम सम्पन्न ग-यौ ।

प्रितम सिंहका साथ नेपाल अटो मेकानिक्स व्यवसायी संघका अध्यक्ष ठाकुरप्रसाद न्यौपाने र लेखक ।

हामी कठिनताका साथ मुजफ्फरपुर पुग्यौ । मुजफ्फरपुर देखि रक्सौल सम्म कतिपय स्थानमा रेलको लिकबाटै ट्रक चलायौ । रेल नआउने समय पत्ता लगाएर हामीले निकै नै रिस्की कार्य गरेका थियौ । जेल जान पनि सक्थ्यौ । त्यही पनि त्यो युवा उमेरमा हामीमा हिम्मत आएको थियौ । रक्सौल पछि वीरगन्ज आउदा त्यो समयमा पनि प्रत्येक गाडीको चार हजार रुपैयाँको दरले भन्सार तिरेका थियौ ।

वीरगन्जबाट सिमरा सम्म राम्रै सडक थियो । त्यसपछि भने अप्ठ्यारो थियो । यसले गर्दा अमलेखगन्ज पुग्नै दुई दिन लाग्यो । बयलगाडीले पछ्याएको सडक हेर्दै कहिले यता, कहिले उताको सडक जान्थ्यौ । अमलेखगन्जमा हाम्रो आरसी शर्मासँग परिचय भयो । काठमाडौंमा आवतजावत गरिरहने उनले हामीलाई बाटोमा धेरै सहयोग गरे । निकै पढलेख गरेका लाग्ने उनको धेरै स्थानमा पहिचान थियो । उनले पछि काठमाडौंमा पनि हामीलाई निकै नै सहयोग गरे ।

त्यो समयमा वीरगन्जबाट काठमाडौं सम्म पुराना जीएमसी गाडीहरु चलेको देखिन्थ्यो । बाटो नै सानो भएकाले जिप मात्र चल्ने खालको थियो । एक ठाउँमा त गाडी नै नछिर्ने भए पछि टायरको रिमलाई काटेर समेत टनेलबाट छिर्ने बनाइएको थियो ।

काठमाडौंमा भेटघाट
काठमाडौं आए पछि मन्त्रीजीलाई भेटौ भनेर कसैले भन्यो । मन्त्रीजीलाई भेट्नका लागि सिंहदरबार जानुपथ्र्यो । त्यतिबेला एक जना राणा मन्त्री थिए । उनले गाडी हरौ भने । गाडी देख्ना साथ उनले भने, ‘कस्तो राम्रो बस ल्याएको ?’ उनलाई त्यो ट्रक हो भन्ने नै थाहा थिएन । पहिलो पटक देख्दा यसरी झुक्किनु स्वाभाविक पनि थियो । अगाडि ड्राइभर सिट पछि पनि राम्रा सिट थिए । अनि उनले ‘अब मैले के सहयोग गर्नुृपर्छ ?’ भने । मैले लाइसेन्स र अन्य कानुनी प्रक्रियाका लागि प्रहरीलाई भनिदिनु प¥यो भने । उनले प्रहरीलाई खबर गरे । अनि सबै काम सहज भयो ।

प्रहरीले मलाई लाइसेन्स उपलब्ध गराए । मेरो लाइसेन्स नम्बर ५२०० थियो । त्यतिबेला यातायात कार्यालयको व्यवस्था थिएन । सबै कार्य प्रहरीले गथ्र्यो । काठमाडौंमा आए पछि हामीले ट्रकको दर्ता पनि ग¥यौ । तीन ट्रकको दर्ता नम्बर बा.अ. २३८, २३९ र २४० थियो ।

सहज दैनिकी
हामीले त्यो जमानामा न्युरोडमा प्रतिमहिना ५ रुपैयाँ भाडा तिर्ने गरी कोठा लियौ । सरकारी र अन्य निकायका लागि ढुवानी कार्य गर्न थाल्यौ ।

पहिलो पटक दुई टन नुन हामीले अमलेखगन्जबाट ल्यायौ । बाइरोडको बाटोबाट सामान ओसार्ने काम हुन्थ्यो । दुई तीन दिन लाग्थ्यो । बाइरोडको मोड निकै नै कम थियो । यसले गर्दा अप्ठ्यारो हुन्थ्यो । पछि भने ड्राइभरहरु पनि सहज बन्दै गए ।

नेपालमा बस्न थालेको करिव दुई वर्ष सम्म लाइसेन्स दिने र गाडीको रिन्यु गर्ने सबै काम मैले नै गरेको थिए । सरकारले यसका लागि मलाई नै जिम्मेवारी दिएको थियो । पछि एक दिन प्रहरी आएर हामीलाई नै काम गर्न दिनुस् भने । अनि बल्ल प्रहरीबाट यो कार्यको सुरुवात भएको थियो ।

अनिकालमा सहयोग
त्यही समयमा काठमाडौंमा अनिकाल प¥यो । १० हजार टन अन्न भारतीय सरकारले नेपाल सरकारलाई सहयोग गरेको थियो । यसका लागि हामीलाई ढुवानी गर्न भनियो । तर त्यसका लागि धेरै गाडी चाहिने भएकाले सहज थिएन । हामीले आर्मीको गाडीले गर्न सक्छ भन्ने कुरा प्रस्ताव ग¥यौ । तर आर्मीसँग धेरै जनशक्ति चाहिने भएकाले खर्च पनि धेरै हुने भयो । त्यसका लागि भारतबाटै करिव २ सय गाडी ल्याउने स्वीकृति आवश्यक हुने मैले बताए । सरकारबाट सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त भयो । ती गाडीको नम्बर पनि ५०१, ५०२ आदि गरेर क्रमशः राख्ने र बाटोमा कुनै अवरोध नगर्ने व्यवस्था भयो । यो अवस्थामा मैले कुनै अवरोध विना करिव १५, २० दिनमा सबै गाडी अन्न सहित नेपालमा ल्याइपु¥याए ।

हालको दैनिकी
प्रितम सिंह अहिले करिव ८७ वर्ष पुगे । करिव ४५ वर्ष पहिले मोडर्न इन्डियन स्कुल स्थापना हुँदाका तीन जना संस्थापक मध्ये उनी पनि एक हुन् । हाल उनका करिव ४० बस स्कुलमा संचालित छन् । नातीले अहिले ट्यांकर व्यवसाय गरिरहेका छन् । १९६८ मा उनले विवाह गरेका थिए । उनको तीन छोरी छन् भने छोरा तर्फका दुई नाती छन् ।

हाल उनले नेपालका विभिन्न स्थानमा भएका गुरुद्वाराको सञ्चालनका लागि आवश्यक सहयोग गर्छन् । उनी करिव एक डेढ घण्टा लतिलपुरको कुपण्डोलस्थित गुरुद्वारामा र दुई तीन घण्टा स्कुलमा विताउछन् । यो बाहेक अन्य सामान्य भेटघाट र अन्य कार्यक्रम भइरहन्छ ।

(एकराज सुवेदीसँगको कुराकानीमा आधारित यो फिचर नेपाल अटो मेकानिक्स व्यवसायी संघद्वारा २८औं वार्षिक साधारण सभाको अवसरमा प्रकाशित स्मारिकामा समेत समावेश छ ।)

सम्बन्धित समाचारहरू

टाइगर पावरका उत्पादन अब एसडीआई अटोमोबाइल्सले बिक्री गर्ने, मेकानिक–रिबोरर मिट सम्पन्न

टाइगर पावरका उत्पादन अब एसडीआई अटोमोबाइल्सले बिक्री गर्ने, मेकानिक–रिबोरर मिट सम्पन्न

काठमाडौं – एसडीआई अटोमोबाइल्सको आयोजनामा मेकानिक–रिबोरर मिट सम्पन्न...

जानौ कारको ह्यान्डब्रेक लगाउने सही तरिका

जानौ कारको ह्यान्डब्रेक लगाउने सही तरिका

कार पार्किङ गर्दा कारको ह्यान्डब्रेक लगाउन कहिल्यै बिर्सनु हुँदैन ।...

क्यास्ट्रोलद्वारा मेकानिक्ससँग अन्तरक्रिया, सधै साथमा रहने प्रतिबद्धता

क्यास्ट्रोलद्वारा मेकानिक्ससँग अन्तरक्रिया, सधै साथमा रहने प्रतिबद्धता

काठमाडौं – नेपालमा क्यास्ट्रोल लुब्रिकेन्ट बिक्री–वितरण गरिरहेको नेपाल...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...