सार्वजनिक सवारीमा सुरक्षा संस्कार: यात्रुको अधिकार र कर्तव्य

यातायातका साधनहरू आधुनिक जीवनका अभिन्न अङ्ग बनिसकेका छन् । रोजगार, शिक्षा, व्यापार वा व्यक्तिगत कामको सिलसिलामा दैनिक लाखौँ नागरिकहरू सार्वजनिक सवारी साधन (बस, माइक्रोबस, इ-रिक्सा वा ट्याक्सी) मा यात्रा गर्दछन् । तर, पछिल्लो समयका सवारी दुर्घटनाका तथ्याङ्कहरू हेर्ने हो भने सार्वजनिक सवारीको यात्रा सधैँ सुरक्षित र सुनिश्चित हुन सकिरहेको छैन । सवारी दुर्घटनाको मुख्य कारण चालकको लापरवाही वा सडकको दुरावस्था मात्र होइन, कतिपय अवस्थामा यात्रुहरूको सानो असावधानी र सुरक्षा संस्कारको अभाव पनि जिम्मेवार देखिन्छ ।

       सडक सुरक्षा केवल राज्य, कानुन वा ट्राफिक प्रहरीको मात्र जिम्मेवारी होइन, यो त हरेक नागरिकको व्यक्तिगत दायित्व र दैनिक जीवनको संस्कार हुनुपर्छ । सार्वजनिक सवारी साधनमा यात्रा गर्दा तपाईंले अपनाउनुपर्ने जीवन बचाउने महत्त्वपूर्ण सुरक्षा सावधानीहरू निम्नानुसार छन् :

. हतारमा यात्रा कहिल्यै नगर्नुहोस् :

       कतिपय अवस्थामा समयमै गन्तव्यमा पुग्न नसकिने डरले मानिसहरू गुडिरहेको सवारी साधनमा चढ्ने वा गुडिरहेकै अवस्थामा ओर्लिने प्रयास गर्छन् । यो अत्यन्तै घातक बानी हो । सवारी साधन पूर्ण रूपमा रोकिएपछि मात्र सुरक्षित स्थान (बस स्टप वा पिक एन्ड ड्रप जोन) बाट चढ्ने र ओर्लिने गर्नुपर्छ ।

२. झुण्डिएर वा छतमा यात्रा नगर्नुहोस् :

       सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु हुँदा ढोकामा झुण्डिएर, डन्डीमा वा छतमा बसेर यात्रा गर्ने प्रवृत्ति अझै पनि पूर्ण रूपमा हट्न सकेको छैन । सडकका घुम्तीहरूमा वा अचानक ब्रेक लगाउँदा ढोकाबाट खस्ने र गम्भीर दुर्घटना हुने सम्भावना उच्च रहन्छ । तसर्थ, सवारीमा अत्यधिक भीडभाड भएमा अर्को सवारीको प्रतीक्षा गर्नु नै बुद्धिमानी हुन्छ ।

३. शरीरका अङ्गहरू बाहिर ननिकाल्नुहोस् :

       विशेष गरी लामो दुरीको यात्रामा वा गर्मी मौसममा सार्वजनिक बसको झ्यालबाट हात वा टाउको बाहिर निकाल्ने बानी धेरैको हुन्छ । विपरीत दिशाबाट आउने अर्को सवारी साधनले ठक्कर दिँदा वा सडक छेउका रुख, पोल र भित्ताहरूमा ठोक्किँदा अङ्गभङ्ग हुने वा ज्यानै जाने जोखिम रहन्छ । साथै, झ्यालबाट फोहोर वा पानीका बोतलहरू बाहिर फाल्ने काम पनि पूर्ण रूपमा बन्द गर्नुपर्छ ।

४. चालकलाई अवरोध वा ध्यानभङ्ग नगर्नुहोस :

       चालकको एकाग्रता नै यात्रुहरूको जीवनको आधार हो । चालकसँग अनावश्यक गफ गर्ने, ठूलो स्वरमा गीत बजाउन दबाब दिने वा चालकको सिट वरिपरि अनावश्यक भीड गर्ने काम गर्नु हुँदैन । यसले चालकको ध्यान अन्यत्र मोडिन गई ठूलो दुर्घटना निम्त्याउन सक्छ ।

. यात्रा अवधिभर सचेत र चनाखो रहनुहोस् :

       धेरै यात्रुहरू गाडी चढेपछि मोबाइलमा व्यस्त हुने वा निदाउने गर्छन् । यात्राका क्रममा आफू सवार गाडी कुन गतिमा गुडिरहेको छ, चालकले ओभरटेक कसरी गरिरहेको छ भन्ने कुरामा पनि चनाखो हुनुपर्छ । यदि चालकले मादक पदार्थ वा लागू पदार्थ सेवन गरेको शंका लागेमा वा तीव्र गति र लापरवाहीपूर्वक गाडी चलाएमा तुरुन्तै प्रतिवाद गर्नुपर्छ र आवश्यक परे तत्काल ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ वा नेपाल प्रहरीको १०० मा सूचना दिनुपर्छ ।

. सिट बेल्टको प्रयोग र आरक्षित सिटको सम्मान गर्नुहोस् :

       यदि सार्वजनिक सवारी साधन (जस्तै लामो दुरीका हाईस वा गाडी) मा सिट बेल्टको व्यवस्था छ भने त्यसको अनिवार्य प्रयोग गर्ने बानी बसाल्नुपर्छ । यसका साथै, सवारी साधनमा ज्येष्ठ नागरिक, महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिहरूका लागि तोकिएका आरक्षित सिटहरू छोडिदिने र उनीहरूको यात्रालाई सहज बनाउने संस्कारको विकास आफैँबाट गर्नुपर्छ ।

       सडक सुरक्षा नियमको पालना मात्र नभएर जीवनप्रतिको सम्मान हो । सार्वजनिक सवारीमा हाम्रो सानो सचेतना, धैर्यता र जिम्मेवारीले ठूला दुर्घटनाहरू रोक्न सक्छ । एक क्षणको लापरवाहीले जीवनभरको पीडा निम्त्याउन सक्छ भने एक क्षणको सतर्कताले अमूल्य जीवन बचाउन सक्छ । त्यसैले सार्वजनिक सवारीमा यात्रा गर्दा सुरक्षालाई अधिकार मात्र होइन, कर्तव्य र संस्कारका रूपमा अपनाऔँ । सुरक्षित यात्रु बनौँ, सुरक्षित समाज निर्माण गरौँ ।

ट्राफिक नियम जानौं पनि, मानौं पनि ।

  • विष्णु थापा

जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवन

सम्बन्धित समाचारहरू

काठमाडौंबाट धादिङ र चितवन भएर गुड्ने लामो दूरीका सवारी साधन सञ्चालनमा रोक

काठमाडौंबाट धादिङ र चितवन भएर गुड्ने लामो दूरीका सवारी साधन सञ्चालनमा रोक

धादिङ र चितवनका विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएका कारण...

आन्तरिक यात्रुलाई विमानस्थलको गोल्डेन गेटबाटै निःशुल्क बस सेवा सुरु

आन्तरिक यात्रुलाई विमानस्थलको गोल्डेन गेटबाटै निःशुल्क बस सेवा सुरु

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानका हवाई...

रोकिएको ट्रायल परीक्षा शुरु : यस्ता छन् मापदण्ड र नयाँ व्यवस्था

रोकिएको ट्रायल परीक्षा शुरु : यस्ता छन् मापदण्ड र नयाँ व्यवस्था

काठमाडौं – काठमाडौं । बागमती प्रदेश, भौतिक पूर्वाधार विकास मन्त्रालयले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...