काठमाडौं उपत्यकामा रात्रीकालीन सार्वजनिक यातायात विस्तार, ६ रुटमा २८ विद्युतीय बस सञ्चालन

काठमाडौं- काठमाडौं उपत्यकामा रात्रीकालीन सार्वजनिक यातायात सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले साझा यातायातले शनिबारदेखि ६ वटा रुटमा २८ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ।

संविधान दिवसको अवसर पारेर हाल सञ्चालनमा रहेको रात्रीकालीन सार्वजनिक यातायात सेवालाई चार गुणाले विस्तार गरिएको हो। यससँगै उपत्यकाका विभिन्न क्षेत्रमा रातिको समयमा सार्वजनिक यातायातको पहुँच थप सहज हुने अपेक्षा गरिएको छ।

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत (सीईओ) भूपेन्द्र अर्यालका अनुसार गत वैशाख १ गतेदेखि दुईवटा रुटमा ७ वटा बसमार्फत रात्रिकालीन सेवा सुरु गरिएको थियो। हाल नागढुंगा–एयरपोर्ट र लगनखेल–बुढानीलकण्ठ रुटमा सञ्चालन हुँदै आएको सेवा अब थप रुटमा विस्तार गरिएको हो।

शनिबारदेखि बुढानीलकण्ठ–गोदावरी रुटमा ६ वटा, जगाती–रत्नपार्क–ठमेल रुटमा ६ वटा, विमानस्थल–नागढुंगा रुटमा ४ वटा, कीर्तिपुर–जमल रुटमा ४ वटा तथा चक्रपथ परिक्रमाका लागि दुवैतर्फ गरी ८ वटा विद्युतीय बस सञ्चालन हुनेछन्। यससँगै यसअघि सञ्चालनमा रहेका नागढुंगा–एयरपोर्ट र लगनखेल–बुढानीलकण्ठ रुटमा क्रमशः चार र तीन वटा बस चल्ने जनाइएको छ।

कम्पनीका अनुसार रात्रिकालीन बसहरू सम्बन्धित प्रस्थानबिन्दुबाट बेलुका ८ बजेदेखि राति ११ बजेसम्म छुट्नेछन्। यात्रुको चाप र आवश्यकताका आधारमा बसको संख्या तथा सेवा समयसमेत समायोजन गरिने जनाइएको छ। रिङरोड परिक्रमाको रुटमा दुवैतर्फ गरी आठ वटा बस सञ्चालन हुने भएकाले उपत्यकाका विभिन्न क्षेत्रलाई रात्रिकालीन सार्वजनिक यातायातसँग जोड्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। त्यस्तै भक्तपुर–ठमेल, बुढानीलकण्ठ–गोदावरी, विमानस्थल–नागढुंगा, ठमेल–ट्रेकल तथा कीर्तिपुर–जमललगायत रुटमा पनि यात्रुको आवश्यकताअनुसार सेवा सञ्चालन गरिनेछ।

काठमाडौं महानगरपालिकाको विशेष कार्यदलले दिएको सिफारिसका आधारमा रात्रीकालीन यातायात सेवाको दायरा विस्तार गरिएको जनाइएको छ। यसअघि सीमित रुट तथा सवारीसाधनमार्फत सञ्चालन हुँदै आएको रात्रीकालीन सेवा अब थप रुटमा विद्युतीय बसमार्फत सञ्चालन हुने भएको हो।

साझा यातायातको यो विस्तारले रातिको समयमा काम गर्ने कर्मचारी, व्यवसायी, विद्यार्थी तथा अन्य यात्रुलाई सार्वजनिक यातायातको सुविधा लिन सहज हुने अपेक्षा गरिएको छ। साथै, निजी सवारीसाधनमा निर्भरता घटाउन र उपत्यकाको सार्वजनिक यातायात प्रणालीलाई थप व्यवस्थित बनाउन पनि यसले योगदान पुर्‍याउने विश्वास गरिएको छ।

रात्रीकालीन सेवाका लागि तोकिएका ६ वटा रुटमा सञ्चालन हुने २८ विद्युतीय बसले काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको सेवा समय विस्तार गर्नुका साथै विद्युतीय सार्वजनिक यातायातलाई समेत प्रोत्साहन गर्नेछ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...