साझा बसलाई ‘ब्लु बस’ बनाउने वारे बहस : के भने कुलमान र यात्रीले ?

काठमाडौं - सरकारले साझा बसलाई रङ परिवर्तन गरेर ‘ब्लु बस’ बनाउने र महिलाहरुलाई निःशुल्क सेवा उपलब्ध गराउने घोषणा गरे पश्चात सामाजिक सञ्जालमा विभिन्न बहस भएका छन् । कतिपयले यसलाई स्वाभाविक मानेका छन् भने कतिपयले यसको विरोध गरेका छन् ।

साझा बस राजा महेन्द्रको पालामा वि.सं. २०२० सालमा स्थापना भएको थियो। सुरुमा यसको रङ निलो थियो। पछि केही समय साझा यातायातको सेवा लगभग बन्दजस्तै अवस्थामा पुगेको थियो। त्यसपछि वि.सं. २०७० सालमा पुनः हरियो रंगका साथ सञ्चालनमा गरियो। अहिले सरकारले पुनः निलो रङका बस सञ्चालन गर्ने तयारी गरेको छ।

नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक, पूर्व मन्त्री तथा हाल उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

अध्यक्ष घिसिङले महिला सुरक्षाका लागि चालिएको कदम सकारात्मक भए पनि साझा यातायातको ‘हरियो पहिचान’ मेट्न खोजिनु उपयुक्त नभएको टिप्पणी गरेका छन् ।

घिसिङले साझा यातायातले विद्युतीय सवारी (ईभी) प्रवद्र्धन गर्दै हरित र दिगो सार्वजनिक यातायातको सन्देश दिन वर्षौंदेखि अपनाउँदै आएको हरियो पहिचानलाई रङ परिवर्तन गरेर कमजोर बनाइनु गम्भीर गल्ती हुने औंल्याएका छन् । ‘हरियो रङ केवल रङ मात्र होइन, वातावरणमैत्री सार्वजनिक यातायातप्रतिको प्रतिबद्धताको प्रतीक पनि हो। हामी हरेक क्षेत्रलाई हरित बनाउँछौँ भन्ने राष्ट्रिय संकल्प पनि हो,’ उनले भनेका छन् ।

महिलाका लागि निःशुल्क वा विशेष बस सञ्चालन गर्नु स्वागतयोग्य पहल भए तापनि वास्तविक समाधान भनेको महिलाले जुनसुकै सार्वजनिक यातायात प्रयोग गर्दा पनि पूर्ण रूपमा सुरक्षित महसुस गर्ने वातावरण निर्माण गर्नु भएको उनको तर्क छ ।

उनले थप लेखेका छन्, ‘महिलाको सुरक्षा कुनै एउटा ‘ब्लु बस’ मा सीमित हुनु हुँदैन, सम्पूर्ण सार्वजनिक यातायात प्रणाली नै सुरक्षित, मर्यादित र महिलामैत्री बन्नुपर्छ। रङ परिवर्तनभन्दा सोच परिवर्तन आवश्यक छ।’ महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्दै सम्पूर्ण सार्वजनिक यातायातलाई सुरक्षित, सम्मानजनक र विश्वासयोग्य बनाउनु नै सरकारको प्राथमिकता हुनुपर्नेमा उनले जोड दिएका छन् ।

काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातमा लामो समयदेखि स्थापित साझा यातायातको रैथाने हरियो पहिचान र ब्रान्डिङलाई बदलेर नीलो रङ पोतिएपछि वरिष्ठ पत्रकार टीकाराम यात्रीले व्यवस्थापन र सरकारमाथि गम्भीर प्रश्न उठाएका छन्।

सामाजिक सञ्जालमा बहस छेड्दै यात्रीले यातायात क्षेत्रमा संरचनात्मक सुधार र सेवाको गुणस्तर बढाउनुको साटो केवल देखिने रङ बदल्नुको पछाडि कुनै दलीय वा राजनीतिक आग्रह लुकेको त छैन भन्दै संकेत गरेका छन्।

ऐतिहासिक संस्थाको पहिचान बदल्नुपर्ने ठोस र प्राविधिक कारण माग गर्दै उनले लेखेका छन्, ‘तर्क–वितर्क अनेक होलान्, तर साझा यातायातको यो बसलाई नीलो रङ पोतेर चलाउनुपर्ने चित्तबुझ्दो कारण खोज्दैछु। कुतर्क होइन, मनासिब तर्क भए कृपया भन्नुहोला!’

साझा बसको रङ परिवर्तन गर्दा देखिने दृश्य वारेमा पनि विभिन्न बहस भइरहेका छन् । ब्यंग्य चित्र पत्रकार राजेश केसीले साझा बसको हालको रङको डिजाइन आफूले स्वयंसेवकको रुपमा गरेको र अहिलेकै रङमा निलो रङ थप्दा आकर्षक देखिने भन्दै त्यसको डिजाइन पनि गरेका छन् ।

यस प्रकारका विभिन्न बहस सामाजिक सञ्जालमा भइरहेका छन् । यद्यपि साझा यातायातले सरकारले आवश्यक सहुलियत र निर्देशन दिएमा आगामी साउन १ देखि यो बस चलाउने र त्यसको आवश्यक तयारी गर्ने बताएको छ ।

सम्बन्धित समाचारहरू

इजरायल–ईरान तनावबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको आधिकारिक सवारीको चर्चा

इजरायल–ईरान तनावबीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको आधिकारिक सवारीको चर्चा

ईरान र इजरायलबीच जारी तनावले विश्वभर तेस्रो विश्वयुद्धको सम्भावनाबारे...

नयाँ बसपार्कमा ५६ टिकट काउण्टर थपियो

नयाँ बसपार्कमा ५६ टिकट काउण्टर थपियो

काठमाडौँ – काठमाडौँभित्रबाट उपत्यका बाहिर चल्ने सार्वजनिक जीप तथा...

दुई सयबढी पर्यटक सवारी चालकलाई तालिम

दुई सयबढी पर्यटक सवारी चालकलाई तालिम

काठमाडौँ – पछिल्लो समय नेपालमा पर्यटकहरू आउने संख्या बढ्दै गएपछि पर्यटक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...