नेपाली बजारमा अब जिलीको ईएक्स५ ईभी, नाडा अटो शोमा विशेष अफर हुने
काठमाडौं– नेपाली बजारमा विद्युतीय सवारीसाधन (ईभी) का नयाँ मोडलहरू...
अब नेपाली सडकमा तीन प्रकारका ट्याक्सी सञ्चालन हुने भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सर्वाजनिक सवारीको रुपमा प्रयोग हुने ट्याक्सीको लागि नयाँ ‘राष्ट्रिय मापदण्ड, २०८१’ जारी गर्दै ट्याक्सीलाई तीन श्रेणीमा वर्गीकरण गरेको हो ।
आकार, यान्त्रिक क्षमता, सुरक्षा विशेषता तथा उपलब्ध सुविधाको स्तर लगायतका आधारमा ट्याक्सीको व्यवस्थापन यो मापदण्ड जारी गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेशमान सिंह राईले जानकारी दिए ।
मन्त्रालयले ट्याक्सीको रुपमा प्रयोग हुने सवारी सम्बन्धी राष्ट्रिय मापदण्ड, २०८१ लाई संशोधन गरी वैशाख ३० गतेदेखि यो मापदण्ड कार्यान्वयनमा ल्याएको हो । यो मापदण्ड कार्यान्वयनमा आएसँगै यस अघिको मिटर जडित ट्याक्सीको मापदण्ड, २०७६ खारेज गरिएको छ ।
नयाँ मापदण्ड कार्यान्वयनमा आएसँगै नेपालमा गुड्ने ट्याक्सी साधारण (अर्डिनरी), विशेष (डिलक्स) र विशिष्ट (लक्जरी) गरी तीन श्रेणीमा वर्गीकरण गरिएको छ ।
भाडा दर पनि ट्याक्सीको वर्ग अनुसार कायम हुनेछ । साधारण वर्गको ट्याक्सीको अधिकतम भाडादर सरकारले तोक्ने छ। विशेष वर्गको ट्याक्सीको अधिकतम भाडा दर साधारण वर्गको ट्याक्सीको भन्दा २० प्रतिशत र विशिष्ट वर्गको ट्याक्सीको भाडा दर साधारण वर्गको भन्दा सय प्रतिशत बढी हुने मापदण्डमा लेखिएको छ ।
यो मापदण्ड लागू हुनु भन्दा अघि दर्ता भएर सञ्चालनमा रहेका सबै ट्याक्सी साधारण वर्ग रहेका छन् । तर ती ट्याक्सीलाई विशेष वा विशिष्ट वर्गमा कायम गराउन चाहनेले सवारी दर्ता कार्यालयमा निवेदन दिएर वर्ग परिवर्तन गर्न सकिने व्यवस्था पनि गरिएको छ । सुरक्षा विशेषता नभएका ट्याक्सीलाई भने विशेष तथा विशिष्ट वर्गमा कायम गर्न नसकिने मापदण्डमा उल्लेख छ ।
ट्याक्सीमा यात्रु पहिचान गर्न सक्ने गरि वर्ग खुल्ने संकेत चिन्हरु प्रयोग गर्नुपर्ने हुन्छ । साधारण, विशेष वा विशिष्ट वर्गका ट्याक्सीहरुमा ८० वाई ८० मिलिमिटरको वर्गाकार पारदर्शी प्लाष्टिकभित्र रातो रंङमा कम्तीमा ६० मिलिमिटर माटाईका अंग्रेजी अक्षरहरु क्रमशः ओ, डी वा वाई लेखिएको स्टिकर टास्नु पर्नेछ ।
यस्तो संकेत चिन्ह ट्याक्सीको चार स्थानमा टाँस्नु पर्नेछ । यस्तो संकेत चिन्ह अगाडिको सिसाको चालक तर्फको माथिल्लो कुना, पछाडि पट्टिको दायाँ र बायाँ ढोकामा तथा पछाडिको सिसाको बायाँ तर्फको तल्लो कुनामा टाँस्नु पर्नेछ ।
नेपालमा आयात हुने, उत्पादन एसेम्बल हुने वा रुपान्तरण भएको सवारी साधनको कुनै मोडेललाई ट्याक्सीको रुपमा दर्ता गराउन वा वर्ग कायम गराउन पैठारीकर्ता (आधिकारिक विक्रेता), उत्पादक, एसेम्बलीकर्ता वा रुपान्तरणकर्ताले अनिवार्य रुपमा त्यस्ता सवारीको वर्गीकरण गराउनुपर्ने मापदण्डमार्फत व्यवस्था गरिएको छ ।
ट्याक्सीमा यात्रु हुँदा, यात्रु नहुँदा र प्रयोगमा नहुँदा अवस्थाको लागि छुट्टाछुट्टै बत्ती बाल्नु पर्ने मापदण्डमा व्यवस्था गरिएको छ । जसअनुसार ट्याक्सीको छतमा जडान भएको ‘ट्याक्सी’ अंकित लोगोभित्र तीनप्रकारको बत्ती अनिवार्य जडान गर्नुपर्ने व्यवस्था गरिएको छ ।
मापदण्डअनुसार ट्याक्सीमा यात्रु नहुँदा अर्थात खाली हुँदा ‘ट्याक्सी’ अंकित लोगोभित्र हरियो रंगको बत्ती चालकले वाल्नु पर्छ । यसैगरी ट्याक्सीमा यात्रु हुँदा रातो रंगको बत्ती वाल्नुपर्ने हुन्छ । त्यस्तै ट्याक्सी प्रयोगमा नभएको अवस्था (अफ ड्युटी) मा सेतो रंगको बत्ती बाल्नु पर्छ ।
यसैगरी सबै प्रकारका ट्याक्सीमा प्रिन्टरसहितको डिजिटल भाडा मिटर र डिस्पलेसहितको जिपीएस न्याभिगेसन प्रणालीसमेत राख्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ । ट्याक्सी चालकले अनिवार्य रुपमा चालक तथा सवारीको विवरण भएको आईडी कार्ड ट्याक्सीमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।
ट्याक्सीमा हुनु पर्ने न्यूनतम सुरक्षा विशेषताहरु
नेपालमा सञ्चालन हुने ट्याक्सीमा एन्टी लक ब्रेकिङ सिस्टम (एबीएस) सहित इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिब्युसन (ईबीडी) अनिवार्य गरिएको छ । यस्तै, कम्तिमा दुई वटा एयर ब्याग, हाईस्पिड अलर्ट स्टिम, सिट बेल्ट, चालक तर्फको दुवै सिटमा सिट बेल्ट रिमाइन्डलर र रियल पार्किङ सेन्सर वा रियर भ्यू क्यामरा हुनु पर्नेछ ।
साधारण ट्याक्सीको न्यूनतम मापदण्ड
मापदण्डअनुसार साधारण ट्याक्सीतर्फ आन्तरिक दहन इन्जिन जडित सवारी (कम्व्युसन इन्जिन पावर्ड भेइकल) र विद्युतीय सवारी (हाइड्रोजन फ्युल सेलमा आधारित सवारी समेत) गरी प्राविधिक विशेषता तथा सुविधा अनिवार्य रुपमा हुनुपर्ने व्यवस्था गरिएको छ ।
जसअनुसार साधारण ट्याक्सीतर्फ आन्तरिक दहन इन्जिन जडित सवारी (१ हजार सीसी वा त्यो भन्दामाथि) को हकमा इन्जिन डिस्प्लेसमेन्टको भोल्युम १.५ प्रतिशतसम्म कम समावेश भएको हुनुपर्ने मापदण्ड तोकिएको छ । यस्तै अधिकतम इन्जिन वा मोटर शक्ति १.५ प्रतिशतसम्म कम समेत समावेश भएको हुनुपर्ने तोकिएको छ । त्यस्तै अधिकतम इन्जिन वा मोटरको टर्कतर्फ ६५ न्यूटन मिटर वा त्यसभन्दा माथि तोकिएको छ ।
यस्तै ह्विल वेस २३०० मिलिमिटर वा त्यसभन्दा बढी र बुट स्पेश (मालसामान राख्ने क्षमता) र सबै सीट सिधा अवस्थामा राख्दा १६० लिटर वा त्यसभन्दा बढी हुनुपर्ने मापदण्ड तोकिएको छ ।
यसैगरी साधारण ट्याक्सीतर्फ विद्युतीय सवारीको हकमा व्याट्रीमा सञ्चित हुने उर्जा (किलोवाट आवर) र सवारीको कुल भारत (जीभीडब्ल्यू, किलोग्राम) बीचको अनुपात ०.०१५ हुनुपर्ने मापदण्ड बनाइएको छ । यस्तै अधिकतम इन्जिन वा मोटर शक्ति ४० किलोवाट वा त्यो भन्दा बढी तोकिएको छ । इन्जिन वा मोटर टर्क, ह्विल वेस, बुट स्पेश दहन इन्जिनमा जडित सवारीजस्तै तोकिएको छ ।
डिलक्स ट्याक्सीको मापदण्ड
डिलक्स ट्याक्सीतर्फ दहन इन्जिन जडित सवारी (१२०० सीसी वा त्योभन्दा बढी) को हकमा इन्जिन डिस्प्लेसमेन्टको भोल्युम १.५ प्रतिशतसम्म कम समेत समावेश भएको, अधिकतम इन्जिन वा मोटर शक्ति १.५ प्रतिशतसम्म कम समावेश भएको, अधिकतम इन्जिन वा मोटर टर्क ८० न्यूटन मिटर वा त्यसभन्दा बढी, व्हील बेस २५०० मिलिमिटर वा त्योभन्दा बढी र बुट स्पेस २०० लिटर वा त्यसमध्ये बढी हुनुपर्ने मापदण्ड तोकिएको छ ।
डिलक्स ट्याक्सीतर्फ नै विद्युतीय सवारीको हकमा व्याट्रीमा सञ्चित हुने उर्जा (किलोवाट आवर) र सवारीको कूल भार (जीभीडब्ल्यू, किलोग्राम) बीचको न्यूनतम अनुपात ०.०१९ हुनुपर्ने मापदण्ड तोकिएको छ । त्यस्तै अधिकतम इन्जिन वा मोटर शक्ति ५० किलोवाट वा त्योभन्दा बढी तोकिएको छ ।
अधिकतम इन्जिन वा मोटर टर्क, ह्विल बेस र बुट स्पेशको हकमा दहन इन्जिन जडिनजस्तै मापदण्ड तोकिएको छ ।
तर डिलक्स ट्याक्सीको हकमा छुट्टै विशेष प्रकारको मापदण्डअन्तर्गत अनिवार्य रुपमा टच स्क्रीनसहितको डिस्प्ले स्क्रीन कम्तीमा एक, विद्युतीय स्वीचबाट खुल्ने र बन्द हुने झ्याल (अगाडि र पछाडि), जाडो गर्मी सबै मौसमको लागि उपयुक्त हुने वातानुकुलन प्रणालीलाई मापदण्डको रुपमा तोकिएको छ । सवारी निर्माता कम्पनीवाहेक अन्य पक्षले जडान गरेको डिस्प्ले समेत मान्य हुने व्यवस्था गरिएको छ ।
लक्जरी ट्याक्सीको मापदण्ड
विशिष्ट (लक्जरी) ट्याक्सीतर्फ दहन इन्जिन जडित सवारी (२ हजार सीसी वा त्योभन्दा बढी) को हकमा इन्जिन डिस्प्लेसमेन्टको भोल्युम १.५ प्रतिशतसम्म कम समेत समावेश भएको हुनुपर्ने मापदण्ड तोकिएको छ ।
यस्तै अधिकतम इन्जिन वा मोटर शक्ति १.५ प्रतिशतसम्म कम समेत समावेश भएको, अधिकतम इन्जिन वा मोटर टर्क १७० न्यूटन मिटर वा त्यसभन्दा बढी, ह्विल बेस २७०० मिलिमिटर वा त्यसभन्दा बढी र बुट स्पेश ४०० लिटर वा त्यसभन्दा बढी हुनुपर्ने मापदण्ड तोकिएको छ ।
यसैगरी बिद्युतीय सवारीतर्फ ब्याट्रीमा सञ्चित हुने उर्जा (किलोवाट आवर) र सवारीको कूल भार (जीभीडब्ल्यू, किलोग्राम) बीचको न्यूनतम अनुपात ०.०२५ हुनुपर्ने उल्लेख छ । अधिकतम इन्जिन वा मोटर टर्क, ह्विल बेस, बुट स्पेशको हकमा दहन इन्जिन जडित सवारीको हकमा तोकिएको मापदण्ड नै विद्युतीय सवारीतर्फ तोकिएको छ ।
तर लक्जरी ट्याक्सीतर्फ भने छुट्टै सुविधाहरु अनिवार्य रुपमा तोकिएको छ । जसअनुसार विद्युतीय स्वीचबाट खुल्ने र बन्द हुने झ्याल (अगाडि र पछाडि), जाडो गर्मी मौसमको लागि उपयुक्त हुने हावाको गुणस्तर नियन्त्रणसहितको स्वचालित वातावरण नियन्त्रण क्षमताको वातानुकूलन प्रणाली, पछाडिको सीटको लागि समेत वातानुकुलित हावा प्रवाह हुने हावा पथ, पछाडिको सीटमा शिर अड्याउने हेडरेष्ट, पछाडिको यात्रुको लागि हात अड्याउने आर्म रेष्ट, अगाडि र पछाडि कप होल्डर र पछाडिको सीटका यात्रुको लागि समेत मोवाइल तथा अन्य विद्युतीय उपकरणहरु चार्ज गर्न डीसी वा एसी पावर आउटलेट सुविधा अनिवार्य मापदण्ड तोकिएको छ ।
त्यसैगरी वाईफाई इन्टरनेट सुविधा, अगाडिको शिर कक्ष (फ्रन्ट हेड रुम) र पछाडिको शिर कक्ष (रियर हेड रुम) कम्तीमा क्रमशः १००० मिलिमिटर र ९५० मिलिमिटर हुनुपर्ने (१ प्रतिशत कमसमेत समावेश हुनेगरी) र अगाडिको पाउ कक्ष (फ्रन्ट लेग रुम) र पछाडिको पाउ कक्ष (रियर लेग रुम) कम्तीमा क्रमशः १००० मिलिमिटर र ९०० मिलिमिटर हुनुपर्ने (१ प्रतिशत कम समेत समावेश हुनेगरी) अनिवार्य मापदण्ड तोकिएको छ ।
सवारी साधन कम्पनीबाहेक अन्य पक्षले जडान गरेको डिस्प्ले तथा वाईफाई इन्टरनेट सुविधा समेत मान्य हुने व्यवस्था मापदण्डमार्फत गरिएको छ ।
काठमाडौं– नेपाली बजारमा विद्युतीय सवारीसाधन (ईभी) का नयाँ मोडलहरू...
टोयोटाले तेस्रो ईभीको रुपमा बीजेडथ्रीएक्स ( बीजेड३एक्स) एसयूभी चीनमा...
कुनै समयमा निकै नै लोकप्रिय मोपेड काइनेटिक लुना नयाँ टेक्नोलोजी र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...