हर्न होइन, संयम:  सुरक्षित र सभ्य सडकको आधार

हामी हतारमा छैनौं, तर हाम्रो व्यवहार भने हतारिएको हुन्छ । समय बचाउने नाममा गरिने सानो लापरवाहीले ठूलो दुर्घटना निम्त्याउन सक्छ भन्ने यथार्थलाई हामी अझै बेवास्ता गरिरहेका छौं । अधिकांश चालकहरू घरबाट निस्कँदा खासै हतारमा हुँदैनन्, तर सडकमा पुगेपछि अचानक हतारो बढ्छ । केही मिनेट छिटो पुग्ने चाहनाले उच्च गति, जथाभावी ओभरटेक र अनावश्यक हर्न बजाउने प्रवृत्ति हाम्रो सडक संस्कृतिको गम्भीर समस्याका रूपमा विकसित हुँदै गएको छ ।

विशेषगरी हर्नको अत्यधिक प्रयोगले केवल ध्वनि प्रदूषण मात्र होइन, सामाजिक र स्वास्थ्यसम्बन्धी समस्या पनि निम्त्याइरहेको छ । दिन होस् वा रात, चर्को आवाजमा बजाइने हर्नले मुटुका बिरामी, वृद्धवृद्धा, साना बालबालिका, परीक्षा तयारीमा रहेका विद्यार्थी तथा दिनभरको थकानपछि आराम गर्न खोजिरहेका श्रमिकहरूमा नकारात्मक असर पार्छ । यसले मानसिक तनाव बढाउने, निद्रा अवरोध गर्ने र दीर्घकालीन स्वास्थ्य समस्या सिर्जना गर्ने जोखिम बढाउँछ ।

ध्वनि प्रदूषण शहरी स्वास्थ्य समस्या मध्ये एक बढ्दो चुनौती बन्दै गएको छ । सडकलाई अनावश्यक कोलाहल होइन, शान्त, सभ्य र सुरक्षित बनाउन यी व्यवहारिक उपायहरू अपनाउनु आवश्यक छ :

१. समयमै निस्कने बानी बसाल्नुहोस्

हतारको मुख्य कारण ढिलो निस्कनु हो । घरबाट केही समय अगाडि नै निस्कने योजना बनाउनुभयो भने सडकमा हतार गर्नुपर्ने अवस्था आउँदैन र अनावश्यक हर्न तथा उच्च गति नियन्त्रणमा रहन्छ ।

२. हर्नलाई आवश्यक अवस्थामा मात्र प्रयोग गर्नुहोस्

हर्न चेतावनीका लागि हो, झर्को पोख्ने साधन होइन । ट्राफिक जाम, सिग्नल वा सामान्य अवस्थामा लगातार हर्न बजाउनु ध्वनि प्रदूषण मात्र होइन, असभ्य व्यवहार पनि हो । हर्न चेतावनीका लागि हो, झर्को पोख्ने साधन होइन - यसको मर्यादा बुझौं ।

३. गति सधैं नियन्त्रणमा राख्नुहोस्

छिटो भन्दा सुरक्षित भन्ने सोच विकास गर्न आवश्यक छ । सडकको अवस्था, भीडभाड र मौसम अनुसार सवारीको गति मिलाउनु नै दुर्घटना रोक्ने पहिलो उपाय हो ।

४. धैर्य र सहनशीलता अपनाउनुहोस्

सडकमा सबै चालक र पैदल यात्रुहरू बराबरका सहभागी हुन् । सानो कुरामा रिसाउने, आक्रोश देखाउने, हर्न बजाएर प्रतिक्रिया जनाउने बानीले जोखिम बढाउँछ । शान्त रहनु नै सुरक्षित यात्रा हो ।

५. रातको समयमा विशेष सावधानी अपनाउनुहोस्

राति चर्को हर्नले मानिसहरूलाई झस्काउने, निद्रा बिगार्ने र स्वास्थ्यमा असर पुर्‍याउने सम्भावना हुन्छ । त्यसैले रातमा सकेसम्म हर्न प्रयोग नगर्ने बानी बसाल्नुहोस् ।

६. संवेदनशील समूह तथा स्थान प्रति जिम्मेवार बन्नुहोस्

मुटुका बिरामी, वृद्धवृद्धा, विद्यार्थी तथा आराम गरिरहेका कामदारहरूमा हर्नको चर्को आवाजले प्रत्यक्ष असर पार्छ । अस्पताल, विद्यालय तथा आवासीय क्षेत्र 'नो हर्न जोन' हुन् । यी स्थानको सम्मान गर्नु प्रत्येक चालकको दायित्व हो । आफ्नो सानो व्यवहारले अरूको स्वास्थ्यमा कस्तो असर पर्छ भन्ने बुझ्नु नै सच्चा नागरिक कर्तव्य हो ।

७. ट्राफिक नियमको पूर्ण पालना गर्नुहोस्

लेन अनुशासन, सडक संकेत तथा चिन्हको पालना र सुरक्षित दूरी कायम गर्नुले हर्न प्रयोगको आवश्यकता स्वत: घट्छ । नियम पालना गर्ने बानीले सडक संस्कार सुधार हुन्छ ।

८. सवारी चलाउँदा मानसिक सन्तुलन कायम राख्नुहोस्

तनाव, रिस वा हतारमा सवारी चलाउँदा निर्णय क्षमतामा असर पर्छ । शान्त मनले सवारी चलाउँदा दुर्घटनाको जोखिम न्यून हुन्छ ।

९. अरूलाई पनि सचेत गराउनुहोस्

“नो हर्न प्लिज” अभियान सफल बनाउन व्यक्तिगत प्रयास मात्र पर्याप्त हुँदैन । आफ्नो परिवार, साथीभाइ र सहकर्मीहरूलाई पनि यसको महत्व बुझाउनुहोस् ।

१०. ‘सुरक्षित पुग्नु’ नै प्राथमिकता बनाउनुहोस्

गन्तव्यमा बरू केही ढिलो पुग्नु  स्वीकार्य हुन सक्छ, तर असुरक्षित यात्रा कदापि स्वीकार्य हुँदैन । आफ्नो र अरूको जीवनभन्दा ठूलो केही छैन ।

       शान्त सडक हाम्रो आफ्नै व्यवहारबाट सुरु हुन्छ । हर्न बजाउनु सजिलो छ, तर संयम अपनाउनु नै वास्तविक संस्कार हो । आजैबाट होइन, अहिलेबाट “नो हर्न प्लिज” अपनाऔ, किनकि सुरक्षित यात्रा नै सफल जीवनको आधार हो ।

ट्राफिक नियम जानौं पनि, मानौं पनि ।

  • प्र.ब.ना.नि. बिष्णु थापा

जिल्ला ट्राफिक प्रहरी कार्यालय, भरतपुर, चितवन

सम्बन्धित समाचारहरू

नागढुंगा-मुग्लिन सडकमा २४ नयाँ पुल निर्माण गरिने 

नागढुंगा-मुग्लिन सडकमा २४ नयाँ पुल निर्माण गरिने 

काठमाडाैं – नागढुंगा-मुग्लिन सडकमा २४ नयाँ पुल निर्माण गरिने भएको छ।...

१२५ सीसी सम्मको मोटरसाइकलको कर ३ हजार, ६५० सीसी भन्दा माथिको ३० हजार (यस्तो छ करको दर)

१२५ सीसी सम्मको मोटरसाइकलको कर ३ हजार, ६५० सीसी भन्दा माथिको ३० हजार (यस्तो छ करको दर)

काठमाडौं – पेट्रोलियम पदार्थबाट चल्ने कुनै पनि मोटरसाइकल वा स्कुटर नेपाल...

आज निर्वाचन : यात्रु सुविधाका लागि पर्यटन बोर्डको निःशुल्क सटल बस

आज निर्वाचन : यात्रु सुविधाका लागि पर्यटन बोर्डको निःशुल्क सटल बस

काठमाडौं – निर्वाचनका दिन यात्रुहरूको आवागमन सहज बनाउन नेपाल पर्यटन...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...