भदौ ९ देखि नाडा अटो शो २०२६ : ६ दिन सम्म चल्ने मेलाका आकर्षण के ?

काठमाडौं - नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले स्थापनाको ५०औं वर्षलाई विशेष बनाउँदै १८औं नाडा अटो शो २०२६ आयोजना गर्ने भएको छ । आगामी भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने यस वर्षको अटो शोमा नेपाली उत्पादनसँगै अत्याधुनिक सवारी प्रविधि र रोबोट विशेष आकर्षणका रूपमा रहने भएका छन् । नाडाले पत्रकार सम्मेलनमार्फत अटो शोको तयारी, सहभागी ब्रान्ड र प्रदर्शनीका आकर्षणबारे जानकारी प्रदान गरेको छ ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नाडाको ५० वर्षे यात्रामा अटोमोबाइल क्षेत्र नेपालको आर्थिक तथा औद्योगिक विकासको महत्त्वपूर्ण हिस्सा बन्दै आएको बताए । उनका अनुसार यस वर्षको अटो शो केवल सवारी साधनको प्रदर्शनीमा सीमित नभई नेपालको अटोमोबाइल क्षेत्रले हासिल गरेको परिवर्तन र आगामी सम्भावनाको प्रतिबिम्ब बन्नेछ ।

नाडा अटो शो समितिका सभापति अनुपकुमार बरालका अनुसार यस वर्षको प्रदर्शनीलाई नाडाको स्वर्ण उत्सव संस्करणका रूपमा विशेष बनाइँदैछ । करिब ३ लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने मेलामा साना ठूला गरी २०० भन्दा बढी स्टल रहनेछन् ।

लगभग तीन लाख वर्गफुट क्षेत्रफलमा आयोजना गरिने सोप्रदर्शनीमा साना ठूला गरी २०० भन्दा बढी स्टलहरू रहने छन् जस्मा २३ वटा ब्रान्डका प्यासेन्जर कार भेइकल (पीसीभी), १७ वटा ब्रान्डका लाइट कमर्सियल भेइकल (एलसीभी), १३ वटा ब्रान्डका दुईपांग्रे, १० वटा वित्तीय एवं बीमा सेवा प्रदायकहरू तथा ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण र अटोमोबाइल सम्बन्धी अन्य उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछन् र यी स्टलहरूमा नेपालमा एसेम्बल हुने सवारी साधन, ल्युब, व्याट्री, हेल्मेट एवं अन्य सामाग्रीहरू समेत रहेका छन्।

यस वर्षको अटो शोमा नेपाली उत्पादनलाई विशेष प्राथमिकता दिइने भएको छ । ‘मेड इन नेपाल एन्ड मेक फर नेपाल’ प्याभिलियनमार्फत स्वदेशमै उत्पादन तथा एसेम्बल भएका सामग्रीलाई छुट्टै स्थानमा प्रदर्शन गरिनेछ ।

मेलाको अर्को प्रमुख आकर्षण आधुनिक रोबोट रहनेछन् । प्रदर्शनीमा जीआई ह्युमनोइड रोबोट र जीओ २ क्वाड्रयुपेड रोबोट प्रदर्शन गरिने नाडाले जनाएको छ । विभिन्न ब्रान्डका नयाँ मोडलहरुको प्रदर्शनी गरिनुका साथै स्मार्ट मोबिलिटी, सवारी क्षेत्रको दिगो विकास तथा कनेक्टिभिटीमा केन्द्रित सिम्पोसियम्स समेत आयोजना गरिने छ ।

नाडाका अनुसार नेपाली उत्पादन र नयाँ प्रविधिलाई एउटै छानामुनि प्रस्तुत गर्ने भएकाले यस वर्षको अटो शो अटोमोबाइलप्रेमीका साथै प्रविधिमा रुचि राख्ने दर्शकका लागि समेत विशेष हुने अपेक्षा गरिएको छ ।

यस वर्षको नाडा अटो शोको शीर्ष प्रायोजन एचपी लुब्रिकेन्ट्सले गरेको छ । दर्शकले टिकेटिङ पार्टनर खल्ती एपमार्फत अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । निश्चित अवधिका लागि टिकट खरिदमा ५० प्रतिशतसम्म क्यासब्याकको व्यवस्था गरिएको आयोजकले जनाएको छ । मोबिलिटी पार्टनर याङ्गो, फायर सेफ्टी पार्टनर हिट्को लगायत विभिन्न प्रायोजक रहेका छन् ।

दर्शकको सहजताका लागि नेपाल पुलिस क्लब र नेसनल ट्रेडिङको परिसरमा पार्किङको व्यवस्था गरिने भएको छ । त्यहाँबाट प्रदर्शनीस्थलसम्म आउजाउ गर्न सटल बस सेवासमेत सञ्चालन गरिनेछ ।

मेलास्थलमा सुरक्षा व्यवस्थाका लागि सीसीटीभी निगरानीको व्यवस्था गरिनेछ भने अपाङ्गतामैत्री व्हीलचेयर सेवा, आपत्कालीन स्वास्थ्य टोली तथा ट्राफिक सूचना डेस्क पनि राखिनेछ । छ दिनसम्म सञ्चालन हुने नाडा अटो शोमा करिब दुई लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

नाडाले आफ्नो ५०औं वर्षको अवसरमा आयोजना गर्न लागेको भएकाले यसपटकको अटो शो विगतका संस्करणभन्दा थप व्यवस्थित, प्रविधिमैत्री र विविधतापूर्ण बनाउने तयारी गरेको जनाएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...