काठमाडौं–तराई द्रुतमार्गको प्रगति ५१ प्रतिशत, सबैभन्दा लामो सुरुङको ब्रेकथ्रु

काठमाडौं - राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई/मधेश द्रुतमार्ग निर्माणको भौतिक प्रगति करिब ५१ प्रतिशत पुगेको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माण भइरहेको आयोजनाअन्तर्गत सबैभन्दा लामो महादेवटार सुरुङको बुधबार ब्रेकथ्रु भएको छ।

३ हजार ४२२ मिटर लामो महादेवटार सुरुङको राष्ट्रपति रामचन्द्र पौडेलले ब्रेकथ्रु गरेका हुन्। सुरुङको दुवैतर्फबाट खनिएको भाग जोडिएसँगै द्रुतमार्गको सुरुङ निर्माणले थप गति लिने नेपाली सेनाले अपेक्षा गरेको छ।

सेनाका अनुसार द्रुतमार्गमा सात स्थानमा १४ वटा सुरुङ निर्माण भइरहेका छन्। यसअघि तीन स्थानका पाँचवटा सुरुङको ब्रेकथ्रु भइसकेको थियो। महादेवटार सुरुङको ब्रेकथ्रुसँगै आयोजनाको सुरुङ निर्माण कार्यले थप गति पाउने विश्वास गरिएको छ।

आयोजनाका अधिकांश संरचनाको सबस्ट्रक्चर निर्माण सम्पन्न भइसकेको सेनाले जनाएको छ। उच्च प्रविधियुक्त पुललगायत अन्य संरचना निर्माणको काम पनि जारी छ।

यद्यपि, ललितपुरको खोकना–दुम्किसाप क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी विवाद भने अझै चुनौतीका रूपमा रहेको छ। उक्त क्षेत्रमा करिब ६.५ किलोमिटर सडक खण्डको विवाद समाधानका लागि पहल भइरहेको र समस्या टुंगिएपछि ठेक्का व्यवस्थापन गरी निर्माण अघि बढाइने सेनाले जनाएको छ।

महादेवटार सुरुङको ब्रेकथ्रु कार्यक्रममा राष्ट्रपति पौडेलले द्रुतमार्ग निर्माण सम्पन्न भएपछि मुलुकको यातायात प्रणालीमा गुणात्मक परिवर्तन आउने विश्वास व्यक्त गरे। करिब ७३ किलोमिटर लामो आधुनिक द्रुतमार्ग सञ्चालनमा आएपछि काठमाडौं र तराई/मधेशबीचको दूरी तथा यात्रा समय घट्नुका साथै इन्धन खपत र सवारीसाधनको सञ्चालन तथा मर्मतसम्भार खर्चसमेत कम हुने उनले बताए।

द्रुतमार्गले भौतिक पूर्वाधार विकाससँगै सामाजिक तथा आर्थिक रूपान्तरणमा समेत योगदान पुर्‍याउने राष्ट्रपति पौडेलको भनाइ थियो। यसले राजधानी र तराई/मधेशबीचको भौगोलिक दूरी घटाउनुका साथै सामाजिक सद्भाव, आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई थप मजबुत बनाउने उनले उल्लेख गरे।

उनका अनुसार द्रुतमार्ग सञ्चालनमा आएपछि पर्यटन प्रवर्द्धन, व्यापार तथा पारवहन सहजीकरण र क्षेत्रीय आर्थिक गतिविधिको विस्तारमा समेत सहयोग पुग्नेछ।

राष्ट्रपति पौडेलले आफूले द्रुतमार्गको तेस्रोपटक स्थलगत अवलोकन गरेको उल्लेख गर्दै नेपाली सेनाले हासिल गरेको प्रगतिप्रति सन्तुष्टि व्यक्त गरे। विकट भौगोलिक अवस्था, जटिल भू–बनावट र प्रतिकूल परिस्थितिका बाबजुद सेनाले पूर्वाधार निर्माणमा देखाएको दक्षता र प्रतिबद्धता प्रशंसनीय रहेको उनले बताए।

आयोजना निर्धारित समयमै सम्पन्न गर्न सरकार, नेपाली सेना, निर्माण व्यवसायी र अन्य सरोकारवाला निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा पनि उनले जोड दिए।

कार्यक्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, प्रधानसेनापति, चीन र दक्षिण कोरियाका राजदूत, सरकारी अधिकारी, परामर्शदाता तथा निर्माण व्यवसायीका प्रतिनिधिहरूको उपस्थिति थियो।

नेपाली सेनाले आयोजना निर्धारित समयमै सम्पन्न गर्न निर्माणमा संलग्न सबै पक्षलाई समान गतिमा काम अघि बढाउन आग्रह गरेको छ।

उक्त कार्यक्रममा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल, नेपालस्थित चीनका राजदूत चाङ माओमिङ तथा कोरियाका राजदूत पार्क जे क्यूङ र प्रधानसेनापति अशोकराज सिग्देललगायत सहभागी थिए ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...