अटोमोबाइल क्षेत्रको दिगो विकासका लागि नीतिगत स्थायित्व र व्यावहारिक मापदण्ड आवश्यक : नाडा अध्यक्ष उप्रेतीको अन्तर्वार्ता

नेपालको अटोमोबाइल क्षेत्र आयातमा मात्र सीमित नभई स्वदेशमै एसेम्बल तथा उत्पादनको दिशामा अघि बढिरहेको छ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आफ्नो स्थापनाको ५० वर्ष पूरा गरेको अवसरमा १८ औं संस्करणको ‘नाडा अटो शो’ लाई स्वर्ण महोत्सवका रूपमा भव्य रूपमा आयोजना गर्दैछ । यसै सन्दर्भमा नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीसँग गरिएको कुराकानीको सम्पादित अंशः

यसपटकको नाडा अटो शोलाई ‘स्वर्ण महोत्सव’का रूपमा आयोजना गर्दै हुनुहुन्छ, तयारी कसरी भइरहेको छ ?
नाडा स्थापनाको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा हामीले गोल्डेन जुब्ली अर्थात् स्वर्ण महोत्सवसँगै १८ औं संस्करणको नाडा अटो शोलाई विशेष रूपमा आयोजना गर्दैछौँ । अघिल्ला संस्करणहरूभन्दा यसपटकको अटो शोलाई अझ बृहत्, भव्य र नवप्रवद्र्धनात्मक बनाउने चुनौती हामीसामु छ । सबै समिति तथा टोलीहरू आ–आफ्नो जिम्मेवारीमा खटिरहेका छन् र हामी तयारीको अन्तिम चरणमा पुगिसकेका छौँ ।

५० वर्षको यो यात्रामा संस्थाले भोगेका आरोह–अवरोहलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?
काँधमा गाडी बोकेर भित्र्याइने दिनदेखि सुरु भएको नाडाको इतिहास आज स्वदेशमै गाडी एसेम्बल र उत्पादन गर्नेसम्मको चरणमा आइपुगेको छ । विगतमा अटोमोबाइल व्यवसाय आयातकर्ता र धनाढ्य वर्गमा मात्र सीमित थियो । तर, अहिले परिस्थिति पूर्णतः फेरिएको छ—सवारी साधन अब विलासिता नभई नागरिकको दैनिक जीवनको अत्यावश्यक साधन बनेको छ । नेपाली कम्पनीहरूले एसेम्बली उद्योग सफलतापूर्वक सञ्चालन गरिरहेका छन् भने सिप्रदीले ‘यात्री’ सँगको सहकार्यमा आफ्नै अनुसन्धान र विकास (आर एण्ड डी) तथा नेपाली इन्जिनियरहरूमार्फत इलेक्ट्रिक स्कुटर उत्पादन सुरु गरिसकेको छ । आउँदो दशकमा धेरैभन्दा धेरै सवारी साधन नेपालमै बन्नेछन् ।

‘मेड इन नेपाल पेभिलियन’ मा अवलोकनकर्ताका लागि के–कस्ता मुख्य आकर्षण रहनेछन् ?
यसपटकको अटो शोलाई हामीले ‘उद्योगदेखि रोजगारसम्म’ भन्ने मूल नाराका साथ आयोजना गरेका छौँ । अब आयातमा मात्र निर्भर नरही स्वदेशमै उद्योग स्थापना गरी रोजगारी सिर्जना ‘मेक भन्ने हाम्रो स्पष्ट उद्देश्य हो । पेभिलियनमा नेपालमै एसेम्बल भएका विभिन्न ब्रान्डका मोटरसाइकलदेखि स्वदेशी प्रविधिमा निर्मित यात्री स्कुटरसम्म अवलोकन गर्न पाइनेछ । यसका अलावा नेपालमै उत्पादित लुब्रिकेन्ट्स, टायर, ब्याट्री तथा विभिन्न कम्पोनेन्ट्स (पार्टपुर्जा) हरू मुख्य आकर्षणका रूपमा रहनेछन् ।

कम्पोनेन्ट्स (पार्टपुर्जा) लाई विशेष प्राथमिकता दिनुको कारण के हो ?
गुणस्तरीय कम्पोनेन्ट्सविना सवारी साधन सुरक्षित रूपमा सञ्चालन हुन सक्दैनन् । सवारी साधन बिक्री गर्नु मात्र ठूलो कुरा होइन; बिक्रीपछिको मर्मत सम्भार र स्पेयर पाट्र्सको उपलब्धता सुनिश्चित हुन सकेन भने त्यसले भविष्यमा ठूलो दुर्घटना र आर्थिक जोखिम निम्त्याउन सक्छ । त्यसैले गाडी खरिद गर्दा र चलाउँदा उपभोक्ताले कम्पोनेन्ट्सको गुणस्तरबारे पनि ध्यान दिनुपर्छ भन्ने सन्देश प्रवाह गर्न हामीले यसलाई प्राथमिकता दिएका हौँ ।

के नेपाल अहिले नै ‘मेक इन नेपाल’ (पूर्ण उत्पादन) को चरणमा जान सम्भव छ ?
काम सुरु गर्नुअघि नै यो सम्भव छ र ? भनेर शङ्का गरेर बस्नु हुँदैन । काम अघि बढाउँदै जाने र क्रमशः देखिएका कमीकमजोरीहरू सुधार्दै लैजाने हो । ५ वर्षअघि विद्युतीय सवारी (ईभी) आयात सुरु हुँदा यो चल्ला र ? भन्ने दुविधा थियो, तर आज ईभी मेनस्ट्रिम बनिसकेको छ । अहिले नेपालमा खपत हुने ९० प्रतिशतभन्दा बढी दुईपाङ्ग्रे सवारी साधन स्वदेशमै एसेम्बल हुन्छन् । सरकारले स्पष्ट र दीर्घकालीन वातावरण बनाइदिने हो भने धेरै बहुराष्ट्रिय कम्पनीहरू ठूलो लगानीसहित नेपाल आउन तयार देखिन्छन् ।

अटोमोबाइल उद्योगलाई फस्टाउन सरकारले कस्तो नीति लिनुपर्छ ?
सरकारका नीतिहरू लगानीमैत्री र स्थिर हुनुपर्छ । बारम्बार नीति परिवर्तन भइरहँदा लगानीकर्ता सशङ्कित हुन्छन् । त्यसैले कम्तीमा १० वर्षसम्म परिवर्तन नहुने दीर्घकालीन नीति आउने हो भने नेपालमा अटोमोबाइल उद्योग बृहत् रूपमा फस्टाउनेछ ।

नेपाली बजारमा नयाँ–नयाँ ब्रान्डहरू भित्रिरहेका छन्, के बजारले यी सबैलाई थेग्न सक्ला ?
अहिले प्रविधि र बजार रूपान्तरणको चरणमा रहेकाले धेरै ब्रान्डहरू भित्रिएका छन् । सवारी साधन आयात गरेर बिक्री गर्ने स्वतन्त्रता सबैलाई छ, तर हामीले सरकारलाई स्पष्ट मापदण्ड बनाउन निरन्तर आग्रह गर्दै आएका छौँ । आज बिक्री भएको गाडीले भोलि बिक्रीपछिको सेवा वा पार्टपुर्जा पाएन भने गाडी थन्किनेछ र त्यसको प्रत्यक्ष मार्का उपभोक्तालाई पर्नेछ । बजारमा आएका सबै ब्रान्ड दीर्घकालसम्म टिक्न सक्दैनन् । त्यसैले सरकारले नेपालको सडक, भूगोल र परिवेश सुहाउँदो सवारी मात्र आयात गर्न पाइने गरी निश्चित मापदण्ड तोक्नुपर्छ ।

सरकारले ल्याउन लागेको नयाँ सवारी मापदण्डबारे नाडाको धारणा के छ ?
सरकारले प्रस्ताव गरेको मापदण्डको मस्यौदा अध्ययन गर्दा सरोकारवालाका व्यावहारिक विषयहरू नसमेटिएको र एकतर्फी रूपमा ल्याउन लागिएको अनुभूति भयो । हामीले आफ्नो देशका लागि मापदण्ड बनाउँदा युरोप वा अमेरिकालाई हेरेर होइन, आफ्नै भूगोल र परिवेश सुहाउँदो बनाउनुपर्छ । नर्वेमा ९० प्रतिशत ईभी बिक्री भयो भन्दैमा त्यहाँकै मापदण्ड नेपालमा हुबहु लागू गर्नु व्यावहारिक हुँदैन । मापदण्ड एकदमै जटिल र असम्भव हुनुहुँदैन । यस्ता दूरगामी नीति तथा मापदण्ड बनाउँदा सरकारले निजी क्षेत्र र सरोकारवाला निकायहरूसँग पर्याप्त समन्वय र परामर्श गर्नुपर्छ ।

स्पेयर पाट्र्स व्यवसायबाट सुरु भएको यहाँको व्यावसायिक यात्रा अहिले सवारी साधन आयातसम्म पुगेको छ, यसलाई कसरी हेर्नुभएको छ ?
हाम्रो व्यावसायिक सुरुवात स्पेयर पाट्र्सबाटै भएको हो । तर, समयको माग र बजारको परिवर्तनलाई आत्मसात् गर्दै हामीले सवारी साधन आयातमा पनि कदम बढाएका हौँ । हाल हामीसँग भारतीय दुईपाङ्ग्रे ब्रान्ड एम्पियर र चीनबाट आयातित कमर्सियल ईभी भ्यानहरू उपलब्ध छन् । यो क्षेत्रमा हामी तुलनात्मक रूपमा नयाँ भएकाले अझै सिक्ने र अनुभव बटुल्ने चरणमै छौँ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...