दसैँ–तिहारमा एम्पियरको अफर, १ लाख जित्ने मौका र अन्य सुविधा
काठमाडौँ–चाडपर्वको अवसरमा एम्पियर नेपालले आफ्ना ग्राहकका लागि विशेष छुट...
चिनियाँ विद्युतीय सवारीसाधन निर्माता कम्पनी बीवाईडीले जापानी बजारलाई लक्षित गरेर विकास गरेको सानो विद्युतीय कार राको अब जापानबाहिरका बजारमा पनि बिक्री गर्ने भएको छ। कम्पनीले सुरुमा श्रीलंका र मकाउमा बिक्री विस्तार गर्ने योजना सार्वजनिक गरेको छ।
जापानको कानागावा प्रिफेक्चरस्थित हिरात्सुका सहरमा रहेको बीवाईडीको डिलरमा आयोजित कार्यक्रममा कम्पनीले राकोको अन्तर्राष्ट्रिय बजार विस्तारबारे जानकारी दिएको हो। उक्त कार्यक्रम जापानमा बीवाईडीका १० हजार सवारीसाधन बिक्री भएको अवसरमा आयोजना गरिएको थियो।
मकाउमा राकोका लागि बुकिङ खुला भइसकेको छ भने श्रीलंकामा शुक्रबार पत्रकार सम्मेलनसहित बिक्री सुरु गर्ने तयारी गरिएको कम्पनीले जनाएको छ।
राको बीवाईडीले जापानी बजारलाई ध्यानमा राखेर सुरुदेखि नै विकास गरेको मोडल हो। जापानको ‘केई कार’ मापदण्डअनुसार तयार गरिएको यो सानो विद्युतीय कारलाई जापानको साँघुरो सडक र सहरी प्रयोगलाई ध्यानमा राखिएको छ।
बीवाईडीले जापानजस्तै राइट ह्यान्ड ड्राइभ मार्केटलाई प्राथमिकता दिँदै राकोको बिक्री अन्य देश तथा क्षेत्रमा पनि विस्तार गर्ने योजना बनाएको छ। विभिन्न बजारमा यसको माग मूल्यांकन गर्दै चरणबद्ध रूपमा बिक्री विस्तार गर्ने कम्पनीको भनाइ छ।
बीवाईडीले जापानको यात्रुवाहक सवारीसाधन बजारमा सन् २०२३ जनवरीदेखि प्रवेश गरेको हो। करिब चार वर्षको अवधिमा जापानमा बीवाईडीका १० हजार सवारीसाधन बिक्री भएका छन्।
कम्पनीका उपाध्यक्ष लिउ सुएलियाङले आगामी दिनमा जापानमा बिक्री तथा बिक्रीपछिको सेवा सञ्जाललाई थप मजबुत बनाउँदै बिक्रीको गति बढाउने बताएका छन्।
बीवाईडीका अनुसार जापानमा सार्वजनिक भएको करिब दुई महिनामै राकोको सञ्चित अर्डर संख्या २ हजार नजिक पुगेको छ। कम्पनीले राकोप्रति उपभोक्ताको प्रतिक्रिया उत्साहजनक रहेको जनाएको छ।
अब थप उपभोक्तालाई राकोको अनुभव गराउने अवसर बढाउँदै बिक्री विस्तार गर्ने बीवाईडीको योजना छ।
राकोको अन्तर्राष्ट्रिय विस्तारको सुरुवात श्रीलंकाबाट हुनु नेपालका लागि पनि चासोको विषय बन्न सक्छ। नेपाल र श्रीलंका दुवै राइट ह्यान्ड ड्राइभ मार्केट भएकाले जापानी बजारका लागि विकास गरिएको राको नेपालका लागि प्राविधिक रूपमा उपयुक्त हुन सक्ने सम्भावना देखिन्छ।
त्यसमाथि नेपालमा बीवाईडीको विद्युतीय सवारीसाधनको बजार उपस्थिति बलियो रहँदै आएको छ। बीवाईडीका विभिन्न मोडल नेपाली बजारमा बिक्री भइरहेका अवस्थामा कम्पनीले दक्षिण एसियाली बजार विस्तारलाई प्राथमिकता दिएमा नेपाल पनि सम्भावित बजार बन्न सक्छ।
यद्यपि, बीवाईडीले राको नेपालमा ल्याउने विषयमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरेको छैन। त्यसैले नेपालमा आउने कुरा अहिले सम्भावनाको तहमा मात्रै सीमित छ।
यदि राको नेपालमा प्रवेश गरेमा सानो आकार, सहरी प्रयोग र विद्युतीय पावरट्रेनका कारण यसले नेपाली बजारमा छुट्टै सेग्मेन्ट सिर्जना गर्न सक्ने सम्भावना देखिन्छ। विशेषगरी काठमाडौं उपत्यकाजस्ता भीडभाडयुक्त सहरी क्षेत्रमा साना विद्युतीय कारको माग बढिरहेको अवस्थामा राको बीवाईडीका लागि अर्को आकर्षक उत्पादन बन्न सक्नेछ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...