कथा : जय बिजुली गाडी

ऊफ !! अब १७ प्रतिशतमात्र ब्याट्रीको चार्ज बाँकी छ, काठमाडौसम्म पुग्न ३४ किमी अझै यात्रा गर्नु पर्छ । हैट ! ट्राफिक जाम त्यस्तै, अनि कुन्नी के राजमार्ग भन्ने सडक साँच्चिकैको खोलाको ढुङ्गे बगर, ठ्याक्कै भन्न मिल्ने छ । गाडीको तलको भागमा कतै भत्केको र बिग्रेको सडकको उठेको भाग र निस्केको ढिस्कोले छुन्छ कि भन्ने भयले सर्प हिडेजस्तै गाडी जोगाउदै र गुडाउदै थिएँ ।

माघको जाडो अनि साँझको साढे आठ बज्दै छ । ठूली छोरी, चार बर्षकी सानी छोरी, मेरी अर्धाङ्गिनी र ७२ वर्षकी आमा सहित गोर्खा पुगेर फर्कदा हामीले २२–२३ घण्टा जति ब्याट्री चार्ज गर्न समय पर्खेर खर्चिसक्यौं, करिब यो चार दिनको यात्रामा ।

छोरीहरूको स्कुलको जाडो बिदाको सदुपयोग गर्दै र ऐतिहासिक पृथ्वीनारायण शाहको गोर्खा दरबार घुमेर फर्कदै गर्दा काठमाडांै पुग्ने उकालो बाटोमा हाम्रो बिजुली गाडीमा यात्रा गर्दै–गर्दाको अवस्था हो यो ।

गाडीको एयर कण्डिसन चलाउँदा गाडीको ब्याट्री बढी खपत हुन्छ भन्ने कुरा गाडी किन्ने समयमा सोरूमका कर्मचारीले भनेको सुनेको थिएँ । गाडी भित्रको लुकिङ ग्लासबाट भित्र हेर्दा पछाडिको सिटमा बस्नुभएको वृद्ध आमा र सानी छोरी जाडोले कक्रक्क परेर बसेको मैले बुझेको छु । तर ब्याट्रीको चार्ज प्रतिशत हेर्छु अनि एसी तातो चलाउँन आँटै आउँदैन । तर अचम्म मलाई भने गर्मी भएको जस्तै छटपट भएको छ । बिजुली गाडीको गज्जबको विशेषता रहेछ ।

बैठकबाट भान्छा देखिइरहेको थियो, बिजुली चुलोमा प्रेसर कुकरमा भाउजुले खाना पकाइरहेको देखिरहेको थिएँ । मलाई दाजु भाउजु बिजुलीभक्त भएझै लाग्यो ।

यात्रा शुरू देखिनै गाडीको मितव्ययी स्विच अन गरि चलाएको छु । गाडीको रेडियो पनि बन्द गरेको छु । नौविसे काटियो, तर माथि डाँडामा लहरै बत्ती बालेर लाम लागेर रोकिएर बसेका गाडीहरू देखेपछि मेरो कन्चट तिर पसिना आएको महसुस गरे । आमा र श्रीमतीले पत्तो नपाउँने तरिकाले पसिना पुछे । अनि मनमनै सोचे, आज यो बिजुली गाडी चढेर भक्तपुर सूर्यविनायकमा रहेको घरसम्म त पक्कै पुग्न सकिदैन होला । घरसम्म नपुगे पनि नागढुंगा सम्म कट्न पाएदेखि यो गाडी त्यतै कतै राखेर ट्याक्सीमा जान सकिने थियो । मनमा बिजुली गाडीको ब्याट्रीको चार्ज प्रतिशत, सडकको अवस्था प्रति आवेग, घरसम्म पुग्ने दुरी, गाडीको ट्राफिक जाम जस्ता कुरा बाहेक अन्य सोच्न सक्ने अवस्था आएको थिएन ।

बिजुली गाडी किन्ने समयमा पारिवारिक छलफलमा मेरी श्रीमती बिजुली गाडीप्रति त्यति सहमत थिइनन् । आफ्नो बिजुली गाडीको ब्याट्रीको चार्ज सकियो, गाडी बाटो छेउँमै छोडेर, पैसो खर्चेर ट्याक्सी चढेर घर पुगेपछि बिजुली गाडीको विषयमा श्रीमतीको दुई–चारवटा कुरा पक्कै सुनेर सहनु पर्नेछ भन्ने कुरा मलाई राम्ररी बोध भैसकेको थियो । ठीकै छ !! सोच्दै जाँदा मलाई बिजुली गाडी किनेकोमा पछुतो पो लागेर आउन थाल्यो र रिस पनि ऊठ्दै थियो । तर यो बिजुली गाडीकै कारणले यस्तो विचार मनमा आउनु ठिक हो वा होइन, मेरो ब्रम्हले ठम्याउन सकेको भने थिएन । राम्रो सडक, चार्जिङको पर्याप्त व्यवस्था र राम्रो ट्राफिक व्यवस्थापन हुने हो भने त म मेरो बिजुली गाडीप्रति पुरै सकारात्मक हुने थिएँ होला ।

नौविसे काटियो, तर माथि डाँडामा लहरै बत्ती बालेर लाम लागेर रोकिएर बसेका गाडीहरू देखेपछि मेरो कन्चट तिर पसिना आएको महसुस गरे ।

डिजेल–पेट्रोल हाल्नु नपर्ने, मर्मत खर्च एकदमै कम हुने, आफ्नै देशको बिजुली खपत हुने यस्तो गाडीमा सडकको दुर्दशा र अव्यवस्थित ट्राफिक जामको झन्झटबाट बच्न चक्काको सट्टा पखेटा भएको भए म, मेरा बच्चा र वृद्ध आमासहित अघिनै घर पुगेर तातो भैसक्थ्यौ होला । यस्तो सोच्दा हाँसो–पीडा सँगै लागेर आयो, अनि यस्तो सोच्नु पर्ने अवस्था मलाई मात्र हो कि अरूलाई पनि आउँछ होला जस्तो लाग्यो । यस्तो असम्भव कुरा मेरो मनमा आउनुले अहिले मेरो तनावको उचाई कुन तहसम्म पुगेको छ भन्ने कुरा प्रष्ट बुझिन्छ ।

सुरूङ्ग मार्गको निर्माण कार्यको कारणले जाम भएको रहेछ । कहिले सकिएला खै सुरूङ्ग मार्गको निर्माण कार्य ? तनावै–तनाव लिदै अनि घिच्चिक–घिच्चिक नागबेली गाडी चलाऊदै ढुङ्गाबाट गाडी जोगाउदै तीन प्रतिशत बिजुली गाडीको ब्याट्रीको चार्ज बाँकी रहदा हामी काठमाडौको नागढुंगा चेक प्वाइन्टमा पुग्दा मलाई साँच्चिकै ठूलो युद्ध जितेको झै महसुस भएको थियो । रातीको दश बज्दै थियो । हामीलाई भक्तपुरको पल्लो कुनोमा पुग्नु पर्ने हो, तर बाँकी रहेको ब्याट्रीको चार्जले पुग्न सकिने अवस्था थिएन ।

बारम्बार घरमा भोजनको लागि निमन्त्रणा गरिरहने नैकापमा रहेका आफन्त दाजु–भाउजुलाई सम्झे, फोन गरें र यात्राको इति–वृत्तान्त सुनाएँ । यतै बस्न आग्रह गरे तापनि आफ्नै घर पुग्ने भनेपछि, दाजु–भाउजुले खाना खाएर जान आग्रह गर्नु भयो र हवस् भन्दै मैले फोन राखे । गाडीमा ब्याट्री चार्ज कम भएको संकेत गर्ने बजरको आवाज आइरहेको थियो र मलाई नैकापसम्म ब्याट्रीको चार्जले पुग्छौ वा पुग्दैनौ भन्ने तनावले सताइरहेको थियो । नागढुंगादेखि कलंकीको राम्रो सडक अनि रातको समय भएकोले होला, ट्राफिक जाम पनि थिएन ।

ठिकै स्पिड र अलि–अलि ओरालो भएर पनि होला थोरै बचेको ब्याट्रीको चार्ज नौविसे–नागढुंगामा झैं छिटो–छिटो खर्च भएको थिएन । गाडीको रिजेनेरेटिभ प्रणाली भएकोले होला, दुई प्रतिशत ब्याट्रीको चार्ज रहदा नै हामी दाजुको घरमा पुग्यौ । दाजुले घरमा सात किलोवाटको अर्को चार्जर पनि राख्नु भएको रहेछ । गाडी मिलाएर घरको बरण्डा बाहिर भित्तामा भएको चार्जर गाडीमा घुसारे र गाडी चार्जमा राखे । चार्ज भएको संकेत गर्ने निलो बत्ति झिमिक्क झिमिक्क गर्न शुरू ग¥यो ।

दाजु तल झर्नु भएको थियो । दाजुले अर्को गाडी फेर्नु भएको रहेछ । पहिले इन्जिनवाला थियो तर अहिले बिजुली गाडी लिनुभएको रहेछ । माथि जाउँ भन्नुभयो, दाजुले । बैठक कोठामा बिजुली हिटर बलिरहेको थियो । हिटर ताप्दै तातो भयौ । बैठकबाट भान्छा देखिइरहेको थियो, बिजुली चुलोमा प्रेसर कुकरमा भाउजुले खाना पकाइरहेको देखिरहेको थिएँ । मलाई दाजु भाउजु बिजुलीभक्त भएझै लाग्यो ।

भोक निक्कै लागेको थियो । तातो तातो र मिठो खाना खायौँ । हामी निस्कने तयारी गर्दै गर्दा करिब करिब एक घण्टा बितिसकेको थियो । दाजुले आफ्नो गाडी लिएर जान सुझाउदै हुनुहुन्थ्यो । तल झरेर आफ्नो गाडीको चार्ज हेरे १७ प्रतिशत पुगिसकेको रहेछ । खुशी लाग्यो । आमा छोरीहरू बस्दै गर्दा दाजु गाडीको झ्याल नजिकै आएर भन्नु भो, ‘अब बिजुली गाडी नै राम्रो हो भाई, तीन–चार दिनमा एकपटक चार्ज गर्दा काठमाडौंमा मलाई पुगिरहेछ । खर्च धेरै गर्नु पनि नपर्ने । राज्यले राजमार्ग, ट्राफिक व्यवस्थापन र सहज चार्जिङ स्टेसनको राम्रो व्यवस्थापन गरिदिने हो भने बिजुली गाडीमा जतासुकै यात्रा गर्दा पनि हुन्छ ।’ ‘हस् दाजु, फेरि भेटौला ।’ भने र एयर कण्डिसन तातो खोलेर अगाडि बढ्दै गर्दा मैले अगाडि प्यासेन्जर सिटमा रहेकी श्रीमतीलाई हेरे, ऊनी मुसुक्क हाँसिन् ।

मलाई अब कतै पनि तनाव नरहेको महसुस भयो र अघि नौविसेबाट माथि चढ्दै गर्दा भएको तनाव व्यर्थै लिएझैं लाग्यो । अनावश्यक तनाव लिएको रहेछु । विश्वमा बढी लोकपृय र रूचाउदै गएको बिजुली गाडीप्रतिको मेरो केही समय अगाडिको आक्रोशप्रति पश्चाताप लागिरहेको थियो ।

एसी चलेको तातो भएर होला, सानी छोरी भुसुक्कै निदाई । केहि मिनेटको यात्रा पछि घर पुग्यौ । गाडी खरिद गर्ने समयमा गाडी छोप्ने पातलो कभर पनि लिएको थिएँ तर प्रयोग गरेको थिँइन । पहिलो पटक गाडी कभरले ढाके । साँच्चिकै खुशी लाग्यो आफ्नो बिजुली गाडीप्रति ।

हैट !! बिजुली गाडी गज्जब पो रहेछ ।

जय, बिजुली गाडी !!!

केपी पोखरेल

सम्बन्धित समाचारहरू

आइतबार एमजी जेडएस इभीको फेसलिफ्ट मोडल सार्बजनिक हुने

आइतबार एमजी जेडएस इभीको फेसलिफ्ट मोडल सार्बजनिक हुने

नेपाली बजारमा सर्बाधिक बिक्री हुँदै आइरहेको इलेक्ट्रिक एसयुभी एमजी जेडएस...

२५ हजारसम्म नगद छुटमा कोमाकी व्राण्डका इलेक्ट्रिक स्कुटर र मोटरसाइकल

२५ हजारसम्म नगद छुटमा कोमाकी व्राण्डका इलेक्ट्रिक स्कुटर र मोटरसाइकल

कोमाकी इभीले नगद छुट र अन्य सुविधा राखेर विन्टर अफर ल्याएको छ । सो अफर...

आकर्षक डिजाइन र फरक विशेषता सहित दुई मोडलका इलेक्ट्रिक स्कुटर सार्वजनिक

आकर्षक डिजाइन र फरक विशेषता सहित दुई मोडलका इलेक्ट्रिक स्कुटर सार्वजनिक

काठमाडौं – नेपाली भुबनोटलाई आधार मानेर विकसित गरिएको एफडी ब्रान्डका दुई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...