बिजुली गाडी किन्नु अगाडि के के अध्ययन गर्नुपर्छ ? एक व्यवसायी र विज्ञको अनुभव चर्चा

काठमाडौंको चिसो मौसममा, साँझको खाना खाएर सोफामा बस्दै गर्दा भर्खरै ७९ पुरा भएर ८० वर्षमा लाग्नु भएकी मेरी बुढी आमाले मलाई भन्नु भो, ‘बाबु, आजकल बिजुली गाडी निकै चलेका छन रे । तिमी पनि यो थोत्रो धुवाँ फाल्ने गाडी बेचेर थपथाप गरी बिजुली गाडी लेउ । बनाउनु परे पनि खर्च पनि निकै कम हुन्छ रे त ।’ मेरो ठूली छोरीले पनि आमाको कुरालाई सहमत गरेझै गरी मुसुक्क हाँस्दै मलाई पुलुक्क हेरिन् ।

१६ वर्षे पुरानो मेरो गाडी, सेकेण्ड ह्याण्ड गाडी हो । मैले प्रयोग गरेको पनि झण्डै आठ वर्ष भयो । यो गाडी करिव १६ वर्ष पुरानो हो । ९७ हजार किलोमिटर त मैले नै गुडाइसके । यो गाडी गुडाएर नेपालको लगभग सबै ठाउँ पुगिसकेँ । मेरो १६ वर्षे गाडी चलाएर गतवर्ष गर्मी महिनाताका हामी परिवारै रारा घुम्न मुगु जिल्लासम्म पुगेका थियौं । निकै कठिन गरी पुगेका थियौं । बाटो निकै नै खराब भएकोले गाडीको तलतिर ढुंगाले धेरै पटक ठोकियो । तर खासै केही क्षति भएको थिएन । उक्त यात्रामा, एक पटक टायर पन्चर भयो, स्पेयर टायर बदले । त्यसबखत काठमाडौ फर्के पछि, मलाई थोत्रै गाडी भएपनि मेरो गाडी बलियो रहेछ भन्ने लाग्यो । मेरो यो गाडीप्रति झन् भरोसा बढ्यो ।

आजमात्रै मेरो यो डिजेल गाडी बनाउन ३० हजार जति खर्च भयो । क्लच प्लेट, गियर आयल, डिजेल फिल्टर, फ्यान बेल्ट, इन्जिन आयल र आयल फिल्टर फेर्नु प-यो । सर्भिस चार्जमा राम्रै र जेन्युइन पार्ट्समा पनि थोरै डिस्काउन्ट पाएको थिएँ । मैले पुरानो गाडी खरिद गरे तापनि आजसम्म सधै नै आधिकारिक सर्भिस सेन्टरमा मात्रै मर्मत गरेको छु ।

तर पनि आज आमाले भनेको कुरा ठिकै लाग्यो । विगतमा यसवारे मैले कहिल्यै सोचेको थिएन । इन्धनको खर्च पनि जोगिने, सर्भिसमा लाग्ने खर्च पनि धेरै जोगिने । जेनतेन पुरानो गाडी बेचेर अलिकति सरसापट लियो भने सस्तो पर्ने सानो गाडी त लिन सकिएला की झैं लाग्यो । आफूलाई सबै प्रकारले ठिक हुने जस्तो लाग्यो र कुन बिजुली गाडी लिन उपयुक्त हुन्छ, अध्ययन गर्न शुरु गर्नु पर्ने भयो ।

म कुनै सामान खरिद गर्दा प्रायः राम्रै अध्ययन गर्छु । आमा, श्रीमती र छोरीहरु सबैको सहमति भएकोले मैले हाम्रो लागि खरिद गर्नु पर्ने उपयुक्त बिजुली गाडीबारे केही पूर्व अध्ययनका आधारहरु निम्न रुपले तयार पारे ।

भोलि देखि यसबारे बुझेर म र मेरो परिवारको लागि उपयुक्त बिजुली गाडी खरिद गर्ने निर्णय गरेँ ।

मेरो बिजुली गाडीको बजेट
घाँटी हेरी हाड निल्नु । मांशहारी शब्द प्रयोग भएको उखान भए पनि यो अत्यन्त व्यावहारिक छ । म साधारण निजी कम्पनीमा जागिर गर्ने व्यक्ति हो । यसैबाट म मेरो परिवार चलाउँछु । मैले आफूले पुरा गर्न सक्ने मात्र आवश्यकता र रहर राख्दछु । त्यसैले मैले पारिवारिक सल्लाह बमोजिम ३५ लाख देखि अधिकतम ५० लाख सम्मको बजेट भित्र रहेर बिजुली गाडी खरिद गर्ने निधो गरे । त्यस्तै परे दुई लाख जति नपुगे थप्न सकिने तर्क श्रीमतीको तर्फबाट आयो र त्यसले मेरो मनोवल झन बढ्यो ।

स्थापित र पुरानो कम्पनीको बिजुली गाडी
गाडी खरिद गर्दा मुख्यतया उत्पादक कम्पनीको विश्वसनियतालाई एकदमै ध्यान दिनु पर्छ । यसको लागि उक्त कम्पनीले कति समयदेखि के कस्ता गाडीहरु बनाउदै आएको छ ? विकसित देशहरुमा उक्त कम्पनीका गाडीहरुको बिक्री तथा लोकप्रियता कस्तो छ ? आदि कुरामा एकदमै ध्यान दिनु पर्छ । विशेषतः बिजुली गाडीको लागि अत्यन्त गम्भीर रुपले बुझ्न जरुरी छ । किनकी कतिपय गाडी कम्पनी बन्द पनि भएको भन्ने हल्ला मैले सुनेको पनि थिए । मैले नेपालमा आयात भएका बिजुली गाडीहरु र सो अनुरुप उत्पादक कम्पनीहरुको सूची तयार पारे । इन्टरनेट तथा अन्य सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट यस्ता कम्पनीहरुको बारेमा बुझे । मैले थोरै समयमै मेरो छनौटमा ६ कम्पनीको सूची तयार पार्न सफल भए र सकेसम्म छिटो अन्य पूर्व अध्ययनको आधारहरुमा काठमाडौंमा भएका शोरुममा बिजुली गाडी प्रत्यक्ष हेर्ने र टेष्ट ड्राइभ गर्ने निर्णय गरे ।

मर्मत गर्ने सभिस सेन्टर तथा स्पेयर पार्ट्सको उपलब्धता
मैले माथिको छनौटमा परेका गाडी कम्पनीहरुको नेपालमा आयातपछिको मर्मत सम्भारको सुबिधा, आफ्नै सर्भिस सेन्टर, तालिमप्राप्त इन्जिनियर तथा टेक्निसियन, मर्मतका लागि आवश्यक उपकरण तथा अत्यावश्यक स्पेयर पार्ट्सको उपलब्धता आदि विषयमा बुझ्न एक दिन ३/४ घण्टाको समय छुट्याएर माथि छनौटमा परेका कम्पनीहरुको काठमाडौंमा रहेको बिजुली गाडीका सर्भिस सेन्टरहरु पुगे ।

उक्त सर्भिस सेन्टरका प्रमुखहरुसँग यसवारे पर्याप्त जानकारी लिने प्रयास गरे । नेपालको अन्य शहरहरुमा सर्भिस सेन्टर भए नभएको पनि बुझे । यो विषयमा बुझ्दै गर्दा, मेरो छनौटमा परेका गाडी कम्पनीको सूची अझै छोटो हुन गयो । किनकी मैले छनौट गरेका मध्ये केही कम्पनीहरुले गाडी आयात तथा बिक्री गरे तापनि सर्भिस सेन्टर तथा बिक्री पछिको मर्मत सम्भारलाई पर्याप्त ध्यान दिएको पाइएन ।

लामो समय मितव्ययी मर्मत खर्चको लागि पुरै पावर ब्याट्री बदल्ने खालको बिजुली गाडी भन्दा मर्मत गर्न मिल्ने तथा ब्याट्री भित्रका मोड्युल पार्ट्स फेर्न मिल्ने खालको बिजुली गाडी अत्यन्त उत्तम रहेछ ।

मलाई सम्बन्धित सरकारी निकायले बिजुली गाडी, इन्धन गाडी, भारवहन गाडी आदि भिन्न भिन्न प्रयोजनको हिसावले वर्गिकरण गरेर सवारी साधन बिक्री अगाडिको पर्याप्त परीक्षण तथा अनिवार्य आधुनिक मापदण्ड यथासक्य छिटो लागू गर्नु अनिवार्य जस्तो लाग्यो । यदि यस्तो अवस्था भएको खण्डमा गाडी खरिद गर्नु अघि यसको वारेमा बुझ्न सबैलाई धेरै सहज हुने रहेछ । यसले आयातित बिजुली गाडीको निरन्तरता र उपभोक्ता हित हुने थियो ।

ग्राउन्ड क्लियरेन्स
मैले पुरानो गाडी लिएर रारा गएको सम्झे । हैट, विगत धेरै वर्षदेखि हाम्रो देशको मुख्य सडक तथा राजमार्गको हालत भनिसाध्य छैन । सडक भन्ने कसरी ? राम्रो सडक हाम्रो सपना जस्तै भो ।

राजमार्गमा गाडी चलाउदा दायाँ बायाँ भन्दा पनि गाडीको तलको भागमा जोगाउन मुश्किल छ । ढुंगा र ढिस्को छल्दै सर्प हिडेझैं गाडी चलाउनु पर्छ । ठोक्किएर क्षति भयो भने बिच वाटोमा रोकिनु पर्ने । बिजुली गाडीको ब्याट्री नै गाडीको तल बिचभागमा झुण्डिएको हून्छ । तल ठोक्किएमा ब्याट्री नै खराब भै फेर्नु पर्ने भएमा ब्याट्री खरिद र फिटिङ खर्च झण्डै गाडीको आधा दाम जस्तो आउने रहेछ ।

मेरो चाहना ग्राउन्ड क्लियरेन्स धेरै भएको बिजुली गाडी खरिद गर्नु हो । इन्टरनेटबाट मेरो छनौटमा परेका गाडीहरुको ग्राउन्ड क्लियरेन्सको बारेमा बुझ्दा मेरो रोजाइमा परेका गाडीहरुको सूची झन् छोटो हुँदै गयो ।

फुल चार्जमा दिने रेन्ज
हामी समय समयमा विशेष पर्वहरुमा जन्म थलो बर्दिया पुग्ने गर्छौ । करिव ६०० किलोमिटर जति दुरीको एकतर्फी यात्रा गर्नु पर्छ । मैले खरिद गर्ने बिजुली गाडी एक पटक मध्य यात्रामा फुल चार्ज गरे ६०० किलोमिटर यात्रा पुरा होस् भन्ने चाहना राखेको छु । यसको मतलब कम्तिमा ३०० किलोमिटर भन्दा माथिको रेन्ज दिने बिजुली गाडी रोज्नु मेरो आवश्यकता हो । अध्ययन गर्दा मेरो छनौटमा परेका प्रायः सबैजसो कम्पनीहरुका गाडीमा त्यो क्षमता रहेछ । खुशी लाग्यो ।

बिजुली गाडीको वारेन्टी
यो अत्यन्त महत्वपूर्ण विषय हो । हाम्रो देशमा हालका वर्षहरुमा ह्वात्तै बिजुली गाडी आयात भैरहेको छ । कथम्कदाचित मोटर तथा ब्याट्री एक्कासी आफै खराब भएमा पैसा खर्च गरेर बदल्नका लागि झण्डै सेकेन्ड ह्यान्ड गाडीको मूल्य खर्चिनु पर्छ । मेरो जस्तो आर्थिक अवस्थाको स्तर भएको व्यक्तिको लागि यस्तो अवस्था आएमा दशा लागेको सम्झे हुन्छ ।

त्यसैले तुलना गर्दा मैले खरिद गर्ने विजुली गाडीको कम्तिमा आठ बर्ष ब्याट्री, मोटर तथा इलेक्ट्रोनिक पार्ट्समा वारेन्टी हुनु पर्छ । मेरो सूचीमा परेका गाडीहरु प्रायः सबैमा वारेन्टीको मापदण्ड पर्दोरहेछ । यसले मलाई खरिद गर्नु पर्ने बिजुली गाडी छनौटमा झनै सहज भयो ।

फिचर तथा अप्सनहरु
आजकल हाम्रो देशमा धेरै जसो बिजुली गाडीहरु आधुनिक फिचरयुक्त भएर आयात भएको पाइन्छ । हाम्रो देशको सडक तथा ट्राफिक व्यवस्थापन जस्ता कुराहरुलाई ध्यानमा राखेर मैले खरिद गर्ने बिजुली गाडीमा सरल फिचरलाई प्रथामिकता दिने निर्णय गरेको छु । एडीएएस अर्थात एडास लेभल थोरै भएको ठिकै हुन्छ जस्तो लाग्यो । सामान्य टचस्क्रिन भएको तथा ३६० डिग्री क्यामेरा नभए पनि फरक नपर्ने जस्तो लाग्यो । गाडीको क्याबिनमा धेरै झिलिमिली प्रकाश आँखामा पर्दा गाडी चलाउदा असहज हुने र ड्राइभिङ गर्दा बढी बाधा हुन्छ जस्तो लाग्छ । साथै धेरै फिचरयुक्त गाडीको कुनै फिचर प्रविधिमा खराबी भएमा मर्मत खर्च बढी हुने भएकोले मेरो रोजाई सरल फिचरयुक्त बिजुली गाडी परेको हो । मैले नेपालमा बिजुली गाडी बिक्रेताको वारेमा सम्बन्धित वेबसाइटमा हेरे र प्रायः बिजुली गाडी धेरै फिचरयुक्त आउने रहेछन् भन्ने थाहा पाए । मैले मेरो छनौटमा परेका बिजुली गाडीको शोरुम पूगेपछि यस बारे थप प्रष्टरुपले बुझ्ने निर्णय गरे ।

गाडीको कलर
मेरो १६ वर्षे पुरानो डिजेल गाडीले कालो धुवाँ फाल्ने भएपनि गाडीको बडी कलर सेतो नै हो । ग्रह राशी तथा आस्थागत हिसावले कलर छनौट र साइतलाई मेरो आमा तथा श्रीमतीले धेरै नै महत्व राख्ने गर्नुहुन्छ । यसले गाडी चलाउँदाको मनोविज्ञान पनि सफा राख्ने रहेछ । यद्यपि मौसमी तापक्रम र सफा गर्न सहज हुने हिसाबले पनि गाडीको कलर छनौट अत्यन्त महत्वपूर्ण हुन्छ । मैले दुबै कुरालाइ मध्यनजर राखेर सेतो वा सिल्भर वा ग्रे कलरलाई छनौट गर्ने निर्णय गरे । तर मेरो रहरको कुरा गर्ने हो भने कालो वा रातो अति नै मन पर्छ । तर परिवार, श्रीमती तथा आमाको सल्लाहलाई मैले सधै आत्मसात गर्ने भएकोले कलरको रहर गर्न छोडिदिए ।

डिस्काउन्ट तथा अन्य सुबिधा
यो विषय मेरो आर्थिक पक्ष र बजेटसँग जोडिएकोले यसवारे मेरो अन्तिम छनौटमा परेका गाडीको शोरुम कर्मचारीसँग अधिकतम डिस्काउन्ट लिने र अन्य जस्तो पहिलो वर्षको गाडीको अटोप्लस बिमा, घरमा चार्ज गर्न मिल्ने ३ र ७ किलोवाटको चार्जर, स्पेयर टायर, फ्लोर म्याट तथा अन्य कुनै खरिद गर्दा ग्राहकलाई फाइदा हुने योजना आदि भएमा सो को माग गर्ने विचार गरे ।

यसरी मैले खरिद गर्नुपर्ने बिजुली गाडीको पूर्व अध्ययन गर्दा अन्तमा मेरो छनौट सूचीमा जम्मा दुई कम्पनी पर्न सफल भएका थिए । यस बिचमा म एक्लैले दुवै कम्पनीको गाडी टेस्ट ड्राइभ गरिसकेको थिए । साथै, त्यस बिचमा मेरो पुरानो डिजेल गाडी रिकन्डिसन हाउसमा बिक्री पनि गरिसकेको थिए ।

घरमा गाडी डेलिभरी लिने तरिकाले सबै जना शोरुम जाने सल्लाह गरिसकेका थियौ । आजको दिन शुभ हुने पारिवारिक सल्लाह बमोजिम हामी सपरिवार छनौट सूचीको पहिलो विजुली गाडीको शोरुम पुग्यौ । शोरुम भित्र गाडीहरु सफाचट पारेर मिलाएर सजाइएको थियो । त्यो देख्दा मेरा छोरीहरु दंग हुँदै मलाई सोधे, ‘बाबा, हामीले किन्ने गाडी कुन हो ?’ मैले हामीले छनौट गरेका कलरको गाडी देखाउदै भने, ‘यस्तै कलरको गाडी हो । तर फाइनल भएपछि भन्छु ।’ शोरुम म्यानेजरसँग भेट भयो । उहाँ बडो मिजास स्वाभावको हुनुहुदो रहेछ । मैले मेरो बिजुली गाडी खरिद गर्नको लागि गरेको अध्ययनको वारेमा सबै वृत्तान्त सुनाए । उहाँ अचम्म पर्नु भो र हाँस्दै भन्नु भो, ‘तपाईले राम्रो अध्ययन गर्नु भएकोले मेरो शोरुममा आउनु भयो ।’ अनि मुस्कुराउदै मेरी सानी छोरीलाई आफ्नो टेबलको घर्रावाट चकलेट निकालेर दिनुभयो । मेरी सानी छोरीले हाँस्दै मलाई हेरिन् । मेरो ‘लेऊ’ भन्ने संकेत पछि सानी छोरी खुसी हुँदै चकलेट समातिन् ।

मैले शोरुम म्यानेजरसँग सबै छलफल गरिसकेपछि मेरो लगभग सबै कुराहरुमा सहमति भो । मैले दिनुपर्ने रकमको ७० प्रतिशत आज नै बुझाउने र बाँकी दुई दिन पछि बुझाउने तथा सोही दिनमै गाडी नामसारी गर्ने प्रस्ताव राखें । शोरुम म्यानेजर सहमत हुनु भो । आवश्यक कागजात तयार पार्नु भो र बिजुली गाडी डेलिभरीको लागि सबै प्रक्रिया पुरा भयो ।

छोरीहरु दंग परिरहेका थिए । गाडी हस्तान्तरण गर्न रिवन लगाएर गाडीलाई सजाउँदै गर्दा मैले भने हस्तान्तरण पछि सो रिवन हटाउन प्रस्ताव गरे । किनकी लामो समय यस्तो रिवन राख्दा गाडीको कलरलाई रिवन बसेको भागमा विगार्न सक्ने कुराको वारेमा मैले कुन गाडी किन्ने भन्ने वारेमा अध्ययन गर्ने क्रममा इन्टरनेटको माध्ययमबाट थाहा पाएको थिए ।

गाडी हस्तान्तरण गर्दा शोरुम प्रतिनिधिले गाडी तथा यसको फिचरवारे राम्रो तरिकाले विस्तृतमा जानकारी दिनु भयो । बिक्री प्रतिनिधिहरु आफूले बिक्री गर्नु पर्ने बिजुली गाडीको विषयमा राम्रो जानकारी राख्ने रहेछन् । खुसी लाग्यो । त्यसपछि हामी निस्कने तयारी गर्दै गर्दा आमाले छोरीहरुलाई मिलाउदै पछाडिको सिटमा बस्नु भयो । श्रीमती अगाडि बायाँ साइडमा र म चालक सिटमा बसे ।

आमाले मन्दिर हुँदै घर जाने भन्नु भो । मन्दिर पुग्यौ, गाडी सामान्य पुजा ग¥यौ । बिश्वकर्मा बाबालाई ढोग्यौ । त्यसपछि घर पुग्दै गर्दा मैले पहिलो पटक गाडीको पावर ब्याट्रीको चार्ज हेरे, ७० प्रतिशत रहेछ । घरमा पुगेर चार्जमा राख्ने निधो गरे ।

घरमा पुग्यौं । गेट भित्र गाडी पार्क गर्ने स्थान नजिकै पावर प्लग थियो । सानो चार्जर ३ किलोवाटको रहेछ । मैले गाडीमा चार्जर जोड्ने क्याप खोल्दै गर्दा सानी छोरीले सोधिन्, ‘बाबा बाबा, डिजेल हाल्ने ठाउँ कहाबाट हो यो गाडीमा ?’

म, आमा, श्रीमती र ठुली छोरी जोडजोडले हाँस्यौ र भन्यौ….. ‘जय बिजुली गाडी’

केपी पोख्रेल

सम्बन्धित समाचारहरू

नेपाल आयो स्मार्ट–३ इलेक्ट्रिक कार, सिजी मोटर्सले बिक्री गर्ने

नेपाल आयो स्मार्ट–३ इलेक्ट्रिक कार, सिजी मोटर्सले बिक्री गर्ने

काठमाडौं–सीजी मोटर्स आधिकारिक विक्रेता रहेको अर्को नयाँ ब्रान्ड...

अटो शोमा बुकिङ लिएका ग्राहकले पाउन थाले डल्फिन

अटो शोमा बुकिङ लिएका ग्राहकले पाउन थाले डल्फिन

काठमाडौं– नाडा अटो शो–२०२३ मा बीवाइडी डल्फिन वुकिङ लिएका ग्राहकले गाडी...

२०२५ मा विश्वभर ईभीको बिक्री ३० प्रतिशतले वृद्धि हुने, नेपालमा के होला ?

२०२५ मा विश्वभर ईभीको बिक्री ३० प्रतिशतले वृद्धि हुने, नेपालमा के होला ?

एक नयाँ अध्ययन अनुसार, विद्युतीय सवारीको बिक्री यो वर्ष ३० प्रतिशतले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...