सानो बजार, दर्जनौ विकल्प : सही ईभी कसरी रोज्ने ?

काठमाडौं–नेपालको अटोमोबाइल बजार आकारका हिसाबले ठूलो छैन । तर पछिल्ला केही वर्षमा यही सानो बजारमा विद्युतीय कारको उपस्थिति भने असाधारण रूपमा बढिरहेको छ ।

चिनियाँ ब्रान्डको तीव्र प्रवेशसँगै भारतीय, कोरियाली र युरोपेली ब्रान्डहरू पनि नेपाली बजारमा आफ्नो स्थान बनाउन प्रतिस्पर्धा गरिरहेका छन्। नयाँ ब्रान्डसँगै हरेक वर्ष नयाँ मोडल थपिँदै छन् ।

केही वर्षअघिसम्म विद्युतीय कार किन्न चाहने ग्राहकका लागि विकल्प सीमित थिए । अहिले अवस्था ठ्याक्कै उल्टिएको छ । एउटै मूल्य समूहमा धेरै ब्रान्ड, धेरै मोडल र फरक–फरक स्पेसिफिकेसन उपलब्ध छन् । सबै ब्रान्डले आफ्ना कारलाई प्रविधि, रेन्ज, डिजाइन र मूल्यका आधारमा उत्कृष्ट साबित गर्ने प्रयास गरिरहेका छन् ।

यसले ग्राहकलाई एउटा ठूलो अवसर दिएको छ, तर सँगसँगै एउटा कठिन प्रश्न पनि खडा गरेको छ—यति धेरै विकल्पमध्ये आफ्नो लागि सही कार कुन हो ?

रेन्जको दौड
विद्युतीय कार खरिद गर्दा ग्राहकको सबैभन्दा ठूलो चासो अहिले रेन्जमा देखिन्छ । लामो रेन्ज भएको कारलाई ग्राहकले स्वाभाविक रूपमा आकर्षक मान्छन् । तर कम्पनीले दाबी गरेको रेन्जलाई नै वास्तविक रेन्ज ठान्नु उचित हुँदैन ।

कारको रेन्ज सडकको अवस्था, ड्राइभिङ शैली, ट्राफिक, तापक्रम, यात्रुको संख्या, एसीको प्रयोग र भूगोलसँग प्रत्यक्ष रूपमा जोडिएको हुन्छ । नेपालको पहाडी भूगोल र उकालो–ओरालो सडकले पनि रेन्जमा प्रभाव पार्छ ।

त्यसैले ईभी किन्दा ‘कम्पनीले कति रेन्ज दाबी गरेको छ ?’ भन्दा ‘मेरो दैनिक प्रयोगमा यसले कति रेन्ज दिन्छ ?’ भन्ने प्रश्न महत्वपूर्ण हुन्छ ।

ब्याट्री ठूलो कि प्रविधि राम्रो ?
विद्युतीय कारको सबैभन्दा महत्वपूर्ण र महँगो कम्पोनेन्ट ब्याट्री हो । त्यसैले कारको डिजाइन र फिचरभन्दा पहिले ब्याट्रीको प्रविधि, क्षमता र वारेन्टीबारे बुझ्नु आवश्यक हुन्छ ।

ब्याट्रीमा कम्पनीले कति वर्ष वा कति किलोमिटरको वारेन्टी दिएको छ ? वारेन्टीका सर्तहरू के छन् ? ब्याट्रीमा समस्या आएमा कम्पनीले कसरी समाधान गर्छ ? भविष्यमा ब्याट्री प्रतिस्थापन गर्नुपरेमा लागत कति पर्न सक्छ ? यी प्रश्नको उत्तर नखोजी केवल आकर्षक मूल्य वा लामो रेन्जका आधारमा ईभी खरिद गर्नु जोखिमपूर्ण हुन सक्छ ।

चार्जिङ स्टेशनको उपलब्धता
ईभीको वास्तविक उपयोगिता ब्याट्रीको क्षमताले मात्र निर्धारण गर्दैन । त्यसका लागि बलियो चार्जिङ पूर्वाधार पनि आवश्यक हुन्छ ।
घरमा चार्जर राख्न सकिन्छ कि सकिँदैन ? कम्पनीले होम चार्जर उपलब्ध गराउँछ कि अतिरिक्त खर्च लाग्छ ? लामो यात्रामा प्रयोग हुने सडकमा चार्जिङ स्टेशन कति छन् ? फास्ट चार्जिङ सुविधा कस्तो छ ? यी प्रश्नको उत्तर कार खरिद गर्नुअघि नै खोज्नुपर्छ ।

लामो रेन्ज भएको कारभन्दा पनि आफ्नो यात्राको बाटोमा सजिलै चार्ज गर्न सकिने कार व्यवहारिक रूपमा उपयोगी हुन सक्छ ।

विदेशमा ठूलो ब्रान्ड, नेपालमा कति बलियो ?
कुनै ब्रान्ड विश्व बजारमा प्रसिद्ध हुनु राम्रो कुरा हो । तर नेपाली ग्राहकका लागि त्योभन्दा महत्वपूर्ण कुरा हो—नेपालमा त्यस ब्रान्डको उपस्थिति कति बलियो छ ?

कार किनेपछि समस्या आउन सक्छ । त्यस अवस्थामा सर्भिस सेन्टर कहाँ छ, दक्ष प्राविधिक छन् कि छैनन्, स्पेयर पाट्र्स उपलब्ध छन् कि छैनन् र कम्पनीले ग्राहकको समस्या कति छिटो समाधान गर्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ ।

शोरुममा कार बेच्नु एउटा कुरा हो, तर ग्राहकलाई पाँच–दस वर्षसम्म साथ दिन सक्ने क्षमता हुनु अर्को कुरा । त्यसैले ईभी खरिद गर्दा ब्रान्डको अन्तर्राष्ट्रिय प्रतिष्ठासँगै नेपालमा रहेको बिक्रीपछिको सेवा प्रणालीलाई पनि उत्तिकै महत्व दिनुपर्छ ।

मूल्य र लागत
कार किन्दा ग्राहकको ध्यान स्वाभाविक रूपमा मूल्यमा जान्छ । तर ईभीको वास्तविक लागत खरिद मूल्यले मात्र निर्धारण गर्दैन । बीमा, चार्जिङ खर्च, टायर, नियमित सर्भिस, स्पेयर पाट्र्स, ब्याट्रीको अवस्था र भविष्यमा कार बिक्री गर्दा प्राप्त हुने मूल्यले पनि कुल लागत निर्धारण गर्छ ।

त्यसैले दुई कारको खरिद मूल्यबीच केही लाख रुपैयाँको अन्तर देखिँदैमा पहिलो कार महँगो र दोस्रो कार सस्तो भन्ने निष्कर्ष निकाल्नु हुँदैन । कार किन्दा आजको मूल्य होइन, पाँच वर्षको खर्च हेर्नु बुद्धिमानी हुन्छ ।

फिचरको संख्या होइन, फिचरको उपयोगिता हेर्नुपर्छ
ठूलो स्क्रिन, ३६० डिग्री क्यामेरा, कनेक्टेड कार, भ्वाइस कमान्ड र विभिन्न स्मार्ट फिचर अहिलेका ईभीका प्रमुख आकर्षण बनेका छन् । तर प्रश्न यो हो—ग्राहकले तीमध्ये कति फिचर वास्तवमै प्रयोग गर्छ ?

धेरै फिचर भएको कार आकर्षक हुन सक्छ, तर सुरक्षा, ब्याट्री, मोटर, सस्पेन्सन, ब्रेकिङ, आराम र विश्वसनीयता कमजोर छन् भने फिचरको लामो सूचीले कारलाई उत्कृष्ट बनाउन सक्दैन ।

त्यसैले ग्राहकले फिचरको संख्या होइन, फिचरको उपयोगिता हेर्नुपर्छ ।

टेस्ट ड्राइभ : शोरुमबाट निस्केर वास्तविक सडकमा पुग्नुस्
ईभी खरिद गर्नुअघि टेस्ट ड्राइभ अनिवार्यजस्तै हो । केही मिनेट शोरुम वरिपरि कार चलाएर मात्र निर्णय गर्नु पर्याप्त हुँदैन । सम्भव भएसम्म उकालो, ओरालो, खराब सडक, ट्राफिक र हाइवेमा कारको व्यवहार बुझ्नुपर्छ । एक्सेलेरेसन कस्तो छ ? ब्रेकिङ कस्तो छ ? रिजनरेटिभ ब्रेकिङ सहज छ कि असहज ? सस्पेन्सनले नेपाली सडकलाई कसरी सामना गर्छ ? पछाडिको सिट परिवारका लागि पर्याप्त आरामदायी छ ? यी कुरा स्पेसिफिकेसनको कागजमा भेटिँदैनन् । यी कुरा सडकमा मात्र महसुस गर्न सकिन्छ ।

अन्त्यमा,
विद्युतीय कार खरिद गर्नु केवल एउटा सवारीसाधन किन्नु होइन। यो नयाँ प्रविधि, नयाँ चार्जिङ संस्कार र नयाँ अटोमोबाइल इकोसिस्टममा प्रवेश गर्नु पनि हो ।

त्यसैले ग्राहकले आकर्षक डिजाइन, ठूलो स्क्रिन र लामो रेन्जको विज्ञापनभन्दा बाहिर हेर्नुपर्छ । ब्याट्री, वास्तविक रेन्ज, चार्जिङ पूर्वाधार, सुरक्षा, बिक्रीपछिको सेवा, स्पेयर पाट्र्स, सञ्चालन खर्च र पुनः बिक्री मूल्यलाई एउटै तराजुमा राखेर मूल्यांकन गर्नुपर्छ ।

नेपालको ईभी बजार अब प्रारम्भिक चरणबाट प्रतिस्पर्धात्मक चरणमा प्रवेश गरिसकेको छ । ब्रान्डहरू थपिने क्रम अझै जारी रहनेछ । आगामी दिनमा ग्राहकका अगाडि विकल्प झन् धेरै हुनेछन् ।

यस्तो अवस्थामा ग्राहकले आफ्नो आवश्यकता बुझेर सही ब्रान्ड, सही मोडल र सही मूल्यमा सही निर्णय गर्नु बुद्धिमानी हुन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...