गाडीभन्दा अगाडिको यात्रा : १८औं नाडा अटो शोले देखाउँदैछ अटोमोबाइलको पूर्ण तस्वीर

गाडी किन्नु एउटा क्षणिक निर्णय वा उत्सव मात्र होइन, यो आगामी १० वर्षसम्मको यात्राको सुरुवात हो। मानिसहरू शोरुममा केही साता बिताएर गाडी रोज्छन्, तर त्यसपछिको एक दशक भने वर्कसप, बैंक, बीमा कम्पनी र टायर पसलहरूमा बित्छ । भदौ ९ गतेदेखि भृकुटीमण्डपमा सुरु हुन लागेको ‘१८औं नाडा अटो शो २०२६’ ले उपभोक्तालाई गाडी मात्र होइन, गाडी किनेपछि आउने यी सम्पूर्ण पाटाहरूसँग एकै ठाउँमा जोड्ने प्रयास गर्दैछ ।

३ लाख वर्गफिटमा ५३ सवारी ब्राण्ड र विविध भूगोल
करिब तीन लाख वर्गफिट क्षेत्रफलमा फैलिने यस पटकको अटो शोमा दुई सयभन्दा बढी स्टलहरू रहनेछन् । प्रदर्शनीमा २३ यात्रुवाहक, १७ हल्का व्यावसायिक र १३ दुईपाङ्ग्रे गरी कुल ५३ सवारी ब्राण्डहरू सहभागी हुँदैछन् ।

भौगोलिक विविधताको हिसाबले पनि यो शो निकै रोचक हुनेछ । जापानी, भारतीय, कोरियाली ब्राण्डका साथै युरोपेली इन्जिनियरिङको स्कोडा, मलेसियाको राष्ट्रिय ब्राण्ड प्रोटोन, र चेरी (ओमोडा तथा जेको) एवं जीडब्ल्यूएम जस्ता चिनियाँ निर्माताहरू एकअर्काको केही पाइला टाढा उभिनेछन् ।

गाडी नबेच्ने ७० कम्पनीको ठूलो उपस्थिति
अटो शो भन्नाले केवल चिल्ला गाडीहरूको प्रदर्शनी मात्र सम्झिने परम्परागत सोचलाई यसपटक नाडाले बदल्दैछ । प्रदर्शनीमा सहभागी बहुमत कम्पनीहरूले चलाएर लैजान मिल्ने गाडी बेच्दैनन् ।
करिब ७० वटा कम्पनीहरूले गाडीलाई वर्षौंसम्म सडकमा दौडाइराख्न आवश्यक पर्ने पाट्र्स र प्रविधि उपलब्ध गराउनेछन् । यसमा टायर, ब्याट्री, इन्जिन आयल, हेलमेट, बेयरिङ, ग्यास्केट, फिल्टर, डाइग्नोस्टिक उपकरण, ग्यारेज टुल्स, जीपीएस तथा टेलिमेटिक्स प्रणाली र इभी चार्जिङ उपकरणहरू समावेश छन् ।

अटो लोनदेखि बीमासम्मः एउटै भ्रमणमा सबै प्रश्नको समाधान
नयाँ गाडी किन्दा आउने दोस्रो ठूलो प्रश्न वित्तीय व्यवस्थापनको हो। यसलाई सहज बनाउन करिब १० वटा बैंक, वित्तीय संस्था र बीमा कम्पनीहरू अटो लोन तथा सवारी बीमाका प्याकेजसहित उपस्थित हुनेछन्। विशेष गरी विद्युतीय सवारी (भ्ख्) का लागि छुट्टै वित्तीय योजनाहरू आकर्षणको केन्द्र बन्नेछन् ।

प्रदर्शनीलाई चारपाङ्ग्रे, दुईपाङ्ग्रे, वित्तीय संस्था, अटो पाट्र्स र ग्यारेज उपकरण गरी छुट्टाछुट्टै क्षेत्रमा विभाजन गरिएकाले अवलोकनकर्ताले पहिलो प्रश्नसँगै दोस्रो प्रश्नको उत्तर पनि एउटै भ्रमणमा पाउनेछन् ।

विशेष प्याभिलियन र आधा शताब्दीको रूपान्तरण
यस पटक विदेशी सहभागीका लागि ‘इन्टरनेसनल बिजनेस प्याभिलियन’ र स्वदेशी उत्पादन तथा एसेम्बलीलाई प्रवद्र्धन गर्न ‘मेड इन नेपाल ÷ मेड फर नेपाल’ प्याभिलियनको व्यवस्था गरिएको छ ।

नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती भन्छन्, “अटो शो भन्नेबित्तिकै गाडीले भरिएको हल भन्ने लाग्छ । तर हाम्रो प्रदर्शनीको ठूलो हिस्सा त ती गाडी वर्षौंसम्म चलाइराख्ने उद्योगले ओगटेको छ । त्यो उद्योग पनि देखिनुपर्छ ।’

पचास वर्षअघि एउटा सानो कोठामा अटाउने नेपालको अटोमोबाइल उद्योगलाई आज ३ लाख वर्गफिट क्षेत्रफल चाहिनुले गाडीको सङ्ख्या मात्र नभई समग्र नेपाली अटोमोबाइल इकोसिस्टमकै अभूतपूर्व विस्तारलाई स्पष्ट पार्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...