नाडा अटो शो २०२६ को तयारी तीव्र, ‘स्वर्ण उत्सव संस्करण’ का रूपमा आयोजना गरिदै

काठमाडौं- नेपालको प्रमुख अटोमोबाइल प्रदर्शनी नाडा अटो शो २०२६ को तयारी तीव्र पारिएको छ। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले आयोजना गर्ने अटो शोको १८औँ संस्करण भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनीस्थलमा सञ्चालन हुनेछ।

नाडाको ५०औँ वार्षिकोत्सवको अवसरमा यस वर्षको अटो शोलाई ‘स्वर्ण उत्सव संस्करण’ का रूपमा आयोजना गर्न लागिएको हो। एचपी लुब्रिकेन्ट्स मुख्य प्रायोजक रहेको प्रदर्शनीमा नेपालमा तीव्ररूपमा विस्तार भइरहेको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रका नयाँ प्रविधि, सवारी साधन, उत्पादन र सेवालाई एउटै थलोमा प्रस्तुत गरिने आयोजकले जनाएको छ।

करिब तीन लाख वर्गफुट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा दुई सयभन्दा बढी स्टल रहनेछन्। प्रदर्शनीमा २३ ब्रान्डका यात्रुवाहक सवारी, १७ ब्रान्डका हलुका व्यावसायिक सवारी तथा १३ ब्रान्डका दुईपाङ्ग्रे सवारी सहभागी हुनेछन्। त्यस्तै, १० वटा वित्तीय तथा बीमा कम्पनी र ७० भन्दा बढी अटोमोबाइल पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरणलगायतका उत्पादन तथा सेवाका स्टल रहनेछन्।

नयाँ सवारी र प्रविधि मुख्य आकर्षण

यस वर्षको अटो शोमा विभिन्न ब्रान्डले आफ्ना नयाँ मोडल तथा प्रविधि सार्वजनिक गर्ने तयारी गरेका छन्। भविष्यमा यातायात क्षेत्रमा प्रयोग हुने प्रविधिबारे जानकारी र अनुभव लिन सकिने व्यवस्था पनि प्रदर्शनीमा रहनेछ।

नेपालमै उत्पादन तथा एसेम्बल हुने सवारी साधन, लुब्रिकेन्ट्स, ब्याट्री, हेल्मेट तथा अन्य सामग्रीलाई समेत विशेष प्राथमिकताका साथ प्रदर्शन गरिने आयोजकले जनाएको छ। स्मार्ट मोबिलिटी, सवारी क्षेत्रको दिगो विकास र कनेक्टिभिटीलगायत विषयमा विज्ञ तथा सरोकारवालाको सहभागितामा छलफलसमेत आयोजना गरिनेछ।

छुट्टाछुट्टै क्षेत्र र सहज पहुँचको व्यवस्था

आगन्तुकको सुविधालाई ध्यानमा राख्दै दुईपाङ्ग्रे, चारपाङ्ग्रे, वित्तीय संस्था, अटोमोबाइल पार्टपुर्जा तथा ग्यारेज उपकरणका लागि छुट्टाछुट्टै क्षेत्र निर्धारण गरिनेछ। टिकट खल्ती एपमार्फत अग्रिम खरिद गर्न सकिनेछ भने निश्चित अवधिमा टिकट खरिद गर्दा ५० प्रतिशतसम्म नगद फिर्ताको व्यवस्था गरिएको छ।

प्रदर्शनीस्थलमा सञ्चारकर्मीका लागि मिडिया डेस्क, ट्राफिकसम्बन्धी जानकारीका लागि ट्राफिक सूचना डेस्क तथा क्याफेटेरियाको व्यवस्था गरिनेछ। पार्किङका लागि नेपाल पुलिस क्लबको ब्लु पेभिलियनको भूमिगत पार्किङ तथा सिंहदरबारस्थित राष्ट्रिय व्यापारिक परिसरमा समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ।

आगलागी नियन्त्रण, आपत्कालीन स्वास्थ्य सेवा, सीसीटीभी निगरानी तथा ह्विलचेयरमैत्री संरचनासहितको सुरक्षा र सुविधा व्यवस्था गरिनेछ।

६ दिनसम्म सञ्चालन हुने अटो शोमा करिब दुई लाख दर्शकले अवलोकन गर्ने आयोजकको अपेक्षा छ। नाडाले अटोमोबाइलप्रेमी, उद्योगी–व्यवसायी, व्यावसायिक प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणलाई प्रदर्शनीमा सहभागी हुन आग्रह गरेको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...