भरतपुरका ६ प्रमुख चोकमा ‘ट्राफिक लाइट’ जडानको काम सुरु
चितवन–मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा बढ्दो सवारी चाप नियन्त्रण...
काठमाडौं उपत्यकामा सञ्चालन हुने २० लाखभन्दा बढी सवारीसाधनको व्यवस्थापन अझै पनि ट्राफिक प्रहरीले सीमित स्रोतसाधन र पुराना प्रविधि अर्थात् हातको इशारा र सिठीका भरमा गर्नुपर्ने बाध्यता रहेको छ ।
नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित ‘हिजो, आज र भोलि’ विषयक कार्यक्रममा बोल्दै काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले उक्त कुरा व्यक्त गरेका हुन् ।
उपत्यकामा सवारीको चाप अत्यधिक वृद्धि भए पनि सोही अनुपातमा ट्राफिक व्यवस्थापनका लागि आवश्यक आधुनिक प्रविधि, स्रोतसाधन र स्पष्ट कानुनी अधिकारको अभाव रहेको उनले बताए ।
कार्यक्रममा एसएसपी काफ्लेले नेपालमा सडक दुर्घटनाको अवस्था दिनानुदिन गम्भीर बन्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गरे । तथ्यांक प्रस्तुत गर्दै उनले नेपालमा सडक दुर्घटनाका कारण दैनिक औसत सात जनाको मृत्यु हुने र ५० जनाभन्दा बढी मानिस अंगभंग हुने गरेको जानकारी दिए ।
‘पछिल्लो पाँच वर्षको अवधिमा मात्रै सडक दुर्घटनामा परी करिब ६० हजार मानिसले ज्यान गुमाइसकेका छन् । यसका साथै उपत्यकाको सडकमा ट्राफिक व्यवस्थापन तथा सवारी जाँचका क्रममा बितेको एक वर्षमा १९ जना ट्राफिक प्रहरीले समेत ज्यान गुमाउनुपरेको छ’ उनले भने ।
सडक दुर्घटना हुनुमा तीव्र गति (ओभरस्पिड), लेन अनुशासनको उल्लंघन र मादक पदार्थ तथा लागूऔषध सेवन (मापसे÷लापसे) मुख्य जिम्मेवार रहेको काफ्लेले उल्लेख गरे । विशेष गरी पछिल्लो समय केही चालकले बिहानै मादक पदार्थ वा लागूऔषध सेवन गरेर सवारी चलाउने गरेको पाइएको छ । अझ चिन्ताजनक कुरा, साना विद्यालयका विद्यार्थी बोक्ने सवारीका चालकहरूसमेत यस्तो गैरजिम्मेवार र जोखिमपूर्ण अवस्थामा भेटिनुले विद्यार्थीको सुरक्षामाथि नै ठूलो प्रश्नचिह्न खडा गरेको उनको भनाइ थियो ।
यसबाहेक जेब्रा क्रसिङको लापरवाहीपूर्ण प्रयोगका कारण कुल दुर्घटनाको करिब ५ देखि ७ प्रतिशत दुर्घटना जेब्रा क्रसिङ आसपास नै हुने गरेको उनले जानकारी दिए ।
ट्राफिक प्रहरीको मुख्य उद्देश्य राजस्व संकलन वा चिट काट्नु नभई चालकमा नियम उल्लघंन गर्दा कारबाही हुन्छ भन्ने डर सिर्जना गरी सडक अनुशासन कायम गराउनु र सर्वसाधारणको जीवन रक्षा गर्नु रहेको एसएसपी काफ्लेले स्पष्ट पारे । ट्राफिक प्रहरी नदेखिनेबित्तिकै नियम मिच्ने प्रवृत्तिका कारण दुर्घटना बढेको भन्दै उनले प्रहरीको उपस्थितिभन्दा पनि नागरिक स्वयंमा नियम पालना गर्ने संस्कारको विकास हुनुपर्नेमा जोड दिए ।
बढ्दो सवारी चाप र सीमित जनशक्तिका बीच ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएकाले सरकारले ट्राफिक प्रहरीको जिम्मेवारी र कानुनी अधिकार स्पष्ट रूपमा तोक्नुपर्ने उनको माग छ । दुर्घटना न्यूनीकरणका लागि दीर्घकालीन नीति आवश्यक रहेको र चालक, यात्रु तथा सम्पूर्ण सडक प्रयोगकर्ताले जिम्मेवार बनेर ट्राफिक नियमको अनिवार्य पालना गरेमा दैनिक अकालमा जाने नागरिकको ज्यान बचाउन सकिने उनले बताए ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...