विद्युतिय सवारी साधनको आयातमा कडाई गरिँदै, यी मापदण्ड पुरा गर्नुपर्ने
यातायात व्यवस्था विभागले सवारी साधन आयात, उत्पादन तथा जडानसम्बन्धी...
विद्युतीय सवारी खरिद गर्दा गाडीको शोरूम प्रतिनिधिसँग प्रायः सबै खरिदकर्ताले सोध्ने प्रश्न मध्ये मुख्य दुई वटा प्रश्न यी हुन् :
१. ब्याट्री फुल चार्ज हुँदा यसको माइलेज अर्थात रेन्ज कति हुन्छ ?
२. ब्याट्री कुन साइज वा क्षमताको हो ?
शोरूमका कर्मचारी प्राय सबैले माथिका प्रश्नहरूको उचित उत्तर कण्ठस्थ पारेर बसेका हुन्छन । माथिका प्रश्नहरूमा दोस्रो प्रश्नको सही उत्तर दिन्छन् भने पहिलो प्रश्नको उत्तर चाहिं नेपालको बाटोघाटोको दुरावस्था र अव्यवस्थित ट्राफिक जामको अवस्था अनुसार ठ्याक्कै भन्न अप्ठ्यारो मान्छन् । उत्पादक कम्पनीले तोकिदिएको अधिकतम रेन्जको संख्या भनिदिएर कर्मचारीको रूपमा आफ्नो कर्तव्य पुरा गर्छन् ।
रेन्जको सवालमा पेट्रोल वा डिजेल गाडीको प्रश्नोत्तर उस्तै हुन्छ । विद्युतीय गाडीमा हुने रेन्ज सम्बन्धी प्रश्नको उत्तरमा धेरै रेन्ज दिने उत्तर आएमा ग्राहक मख्ख हुन्छन् र गाडी खरिदमा सकारात्मक हुन्छन् भने कम रेन्जको उत्तर सुन्दा अर्को शोरूम ताक्न बेर लगाउदैनन् ।
विद्युतीय सवारीलाई गुडाउन ब्याट्रीको पावर चाहिन्छ र त्यसको लागि ब्याट्री चार्ज गर्नु पर्ने हुन्छ । बाटोमा गुड्दै जाँदा गन्तब्य स्थान नपुग्दै ब्याट्रीको पावर सकिएमा ब्याट्री चार्ज गर्ने उपयुक्त व्यवस्थित स्थान वा चार्जिङ स्टेसन उपलब्ध नहुन सक्छ ।
जसरी हामीले प्रयोग गर्ने मोबाइलको ब्याट्री पावर लगभग यति समयसम्म, यसरी प्रयोग गर्दा चल्छ भन्ने अनुमान लगाउछौ, त्यसरी नै विद्युतीय सवारीको अधिकतम रेन्जको संख्या चाहिं शोरूम वा कम्पनीले वास्तविक रुपमा तोकेको जुनसूकै भए तापनि उपभोक्ताले कसरी अधिकतम रेन्ज लिन सकिन्छ भन्ने सामान्य कुराहरू बुझ्न जरूरी हुन्छ ।
त्यसको लागि तल उल्लेखित बुँदाहरुलाई ध्यान दिनु आवश्यक छ :
(क) एक्सिलरेटर पेडलको प्रयोग
विद्युतीय सवारी चलाउदा एक्सिलरेटर पेडलको प्रयोगलाई एकदमै ध्यान दिनु जरूरी हुन्छ र सकेसम्म स्मुथ तरिकाले प्रयोग गर्नु पर्छ । गाडीमा भएको ड्राइभ मोटरको पावर धेरै हुने भएकोले रोकिएको स्थानबाट गाडी पिकअप लिदा वा गुडाइरहेको अवस्थामा एक्कासी एक्सिलरेटर पेडल धेरैमात्रा नथिच्ने र विस्तारै प्रयोग गर्नु पर्छ ।
एक्कासी एक्सिलरेटर पेडल थिच्दा ड्राइभ मोटरमा बढी लोड पर्ने हुँदा ब्याट्रीको पावर खपत बढी हुन्छ । एक्सिलरेटर पेडल थिच्दा पावर खपतको डिजिटल इन्डिकेटर प्रायः सबैजसो गाडीमा दिएको हुन्छ र ड्राइभ गर्दा सो इन्डिकेटरलाई बेलाबेलामा ध्यान दिदा चालकलाई सचेत हुन मद्दत गर्छ । हतार–हतारको एक्सिलरेटर पेडल प्रयोगले ब्याट्रीको चार्ज छिटो–छिटो खपत हुन्छ र रेन्ज कम पाइन्छ ।
(ख) गाडीको गति
विद्युतीय गाडी चलाउदा गाडीको गतिलाई एकनास गर्नु पर्छ । कुनै समय एकदमै हुत्यायर स्पिड बढाउने तथा झ्याप्प ब्रेक लगाएर स्पिड ह्वात्तै घटाउने खालको चालकको स्वभावले ब्याट्रीको चार्ज छिटो खपत हुन्छ । त्यसैले हाइवे वा सिटी राइडमा बाटोको अवस्था हेरी गाडी सकेसम्म एकनासको स्पिडमा चलाउनु पर्छ । यसले दुर्घटना हुनबाट जोगिन पनि मद्दत गर्छ । राजमार्गमा ६०–८० किमी प्रतिघण्टाको गतिले चलाउदा ब्याट्री चार्ज जोगाउन मद्दत गर्छ ।
(ग) एयर कन्डिसन (एसी)
एयर कन्डिसनलाई आवश्यकता अनुसार चिसो वा तातो गराउनका लागि विद्युतीय गाडीमा ब्याट्रीको पावर प्रयोग हुन्छ । यसले करिब १० प्रतिशत ब्याट्रीको थप पावर खपत गर्छ । त्यसैले आवश्यकता हेरेर यसको प्रयोग गर्नु पर्छ । लामो दुरीमा यात्रा गर्दा वा प्रदूषण नभएको क्षेत्रमा ढोकाको सिसाहरू खोलेर चलाउदा राम्रो हुन्छ ।
(घ) रिजेनेरेटिभ ब्रेकिङ
यो प्रणाली अत्यन्तै लाभदायक हुन्छ र सबैजसो विद्युतीय गाडीमा रहेको हुन्छ । यसले ब्रेकिङको समयमा गाडीको काइनेटिक इनर्जीलाई विद्युतीय इनर्जीमा परिणत गरी ब्याट्रीलाई रिचार्ज गर्छ । गाडीमा भएका विभिन्न ड्राइभ गर्ने तरिका (जस्तो : डी, बी, इको आदि) अनुसार र ब्रेक प्रयोगको आधारमा बढी वा कम मात्रामा ब्याट्री रिचार्ज गर्छ । सो मात्रा संकेत गर्ने डिजिटल मिटर ड्यासबोर्डमा दिएको हुन्छ । ओरालो बाटोमा बढी मात्रामा रिजेनेरेटिभ हुने भएकोले झ्याप्प–झ्याप्प ब्रेक नलिई सुरक्षित रही विस्तारै ब्रेक लिदै चलाउदा राम्रो हुन्छ ।
(ङ) ई–पेडल
ई–पेडल सबै विद्युतीय गाडीमा उपलब्ध नहुन सक्छ । तर यो अप्सन भएको गाडी राम्रो रेन्जको लागि अत्यन्तै उपयोगी छ । यो अप्सनमा गाडी चलाउदा एक्सिलरेटर पेडल मात्रले गाडी गुडाउन र रोक्न (ब्रेकको लागि करिब ९० प्रतिशत काम गर्ने) सकिन्छ । यसले रिजेनेरेटिभ कार्य बढी हुने हुँदा ब्याट्री रिचार्ज सबैभन्दा बढी प्रभावकारी हुन्छ । सकेसम्म ई–पेडल र इको अप्सन सगै गरेर गाडी चलाउदा ब्याट्रीको रेन्ज बढ्छ ।
(च) लोड कम गर्ने
विद्युतीय गाडीमा अनावश्यक सामान राख्ने गर्नु हुँदैन । तौल बढ्दा, गाडी गुडाउन ड्राइभ मोटरलाई बढी लोड पर्ने र ब्याट्रीको पावर बढी खपत गर्छ । त्यसैले जरूरी नभएको सामान गाडीमा राखेर यात्रा नगर्नु राम्रो हुन्छ ।
अन्तमा
यी सबै कुरा बाहेक अत्यन्त जरूरी नपर्दा सम्म फास्ट चार्ज प्रयोग नगर्नु राम्रो हुन्छ । यसले ब्याट्रीको क्षमता लामो समय सम्म जोगाउन मद्दत गर्छ । एउटै मोडलको विद्युतीय गाडी एउटै सडकमा फरक फरक प्रयोगकर्ताले चलाउदा फरक–फरक रेन्ज पाइएको भेटिन्छ । त्यसैले प्रयोगकर्ताले विद्युतीय गाडीमा सवारी गर्दा अधिकतम रेन्ज पाउन आफै सचेत हुन र सामान्य जानकारी लिनु जरूरी हुन्छ ।
यातायात व्यवस्था विभागले सवारी साधन आयात, उत्पादन तथा जडानसम्बन्धी...
चीनमा इलेक्ट्रिक सवारी साधनको तीव्र वृद्धि भएपछि पेट्रोल कारको मागमा...
सामाजिक सञ्जालमा हाल यात्री मोटरसाइकलको एउटा बाइकको च्यासिस भाँचिएको र...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...