चांगानले सार्वजनिक गर्‍यो आफ्नै ड्राइभर असिस्टेन्स सिस्टम ‘एसडीए पाइलट’

चिनियाँ अटोमोबाइल निर्माता कम्पनी चांगान अटोमोबाइलले आफ्नै इन्जिनियरिङ टोलीद्वारा विकास गरेको अत्याधुनिक ड्राइभर असिस्टेन्स सिस्टम (डीएएस) ‘एसडीए पाइलट’ सार्वजनिक गरेको छ। ड्राइभिङलाई सुरक्षित, सहज र तनावमुक्त बनाउने लक्ष्यसहित विकास गरिएको यो प्रणाली इन्टेलिजेन्ट ड्राइभिङ प्रविधिमा कम्पनीले गरेको दीर्घकालीन अनुसन्धान तथा विकासको परिणाम भएको कम्पनीले जनाएको छ।

नोभेम्बर १७ मा आयोजित कार्यक्रममा चांगान ग्रुपका अध्यक्ष झु हुआरोङले इन्टेलिजेन्ट ड्राइभिङ प्रविधिको विकासमा कम्पनीले ठूलो लगानी गरेको बताए। उनका अनुसार चांगानको इन्टेलिजेन्ट ड्राइभिङ टोली सुरुमा केही इन्जिनियरबाट सुरु भएकोमा अहिले ७ हजार ५०० भन्दा बढी विशेषज्ञको टोलीमा विस्तार भएको छ। यस क्षेत्रमा कम्पनीले हालसम्म ७ अर्ब ७० करोड युरोभन्दा बढी अनुसन्धान तथा विकास (आर एन्ड डी) मा लगानी गरिसकेको उनले जानकारी दिए। कम्पनीले इन्टेलिजेन्ट रूपान्तरणको रणनीतिलाई निरन्तर अघि बढाउँदै आफ्नै अत्याधुनिक प्रविधि विकासमा जोड दिइरहेको उनको भनाइ थियो।

चांगानले सन् २००९ देखि इन्टेलिजेन्ट ड्राइभिङ प्रविधिको विकास सुरु गरेको थियो। सन् २०११ मा फर्वार्ड कोलिजन वार्निङ र लेन डिपार्चर वार्निङ प्रणालीका प्रारम्भिक नमुना विकास गरेको कम्पनीले सन् २०१८ मा लेभल २ आईएसीसी (इन्टिग्रेटेड एडप्टिभ क्रुज कन्ट्रोल) प्रणालीको व्यावसायिक उत्पादन सुरु गरेको थियो। त्यसैगरी, डिसेम्बर २०, २०२५ मा चीनमा लेभल ३ कन्डिसनल अटोनोमस ड्राइभिङका लागि पहिलो आधिकारिक लाइसेन्स प्लेट प्राप्त गरेको कम्पनीले जनाएको छ।

चांगान ग्रुपका अध्यक्ष झाओ फेईले एसडीए पाइलट कम्पनीले लामो समयदेखि गर्दै आएको अनुसन्धान, परीक्षण र प्रविधि विकासको उपलब्धि भएको बताए। चांगानले सन् २००९ मा इन्टेलिजेन्ट ड्राइभिङ प्रविधिको विकास सुरु गर्दा चीनमा यो विषय प्रयोगशालाको अध्ययनकै चरणमा रहेको उनको भनाइ थियो।

कम्पनीले एसडीए पाइलटका प्रो, म्याक्स र अल्ट्रा गरी तीन संस्करण सार्वजनिक गरेको छ। यसभन्दा अझ उन्नत संस्करण पनि आगामी दिनमा सार्वजनिक गर्ने योजना रहेको जनाएको छ।

तीनमध्ये सबैभन्दा उन्नत एसडीए पाइलट अल्ट्रामा हाइवे एनसीए, अर्बन एनसीए, ४०० भन्दा बढी परिस्थितिमा काम गर्ने इन्टेलिजेन्ट पार्किङ असिस्ट तथा ३१ वटा एक्टिभ सेफ्टी फिचर समावेश छन्। ५६० टीओपीएस क्षमताको कम्प्युटिङ चिप र २५६ लाइन लाइडार प्रविधिमा आधारित यस प्रणालीले मिलिसेकेन्डमै प्रतिक्रिया दिन सक्ने कम्पनीको दाबी छ।

कम्पनीका अनुसार एसडीए पाइलटले सुरक्षित, सहज र तनावमुक्त ड्राइभिङ अनुभवका तीन पक्षलाई प्राथमिकता दिएको छ। सुरक्षाका लागि यसमा एक्टिभ लाइडार डिटेक्सन र १० हर्ज हाई फ्रिक्वेन्सी रिजनिङ प्रविधि प्रयोग गरिएको छ। यसले कम प्रकाश, तीव्र चमक, वर्षा र कुहिरोजस्ता प्रतिकूल मौसम तथा दृश्य अवस्थामा पनि सम्भावित जोखिम पहिचान गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ।

त्यस्तै, ड्राइभिङलाई सहज बनाउन प्रणालीमा प्रयोग गरिएको एन्ड-टु-एन्ड लार्ज मोडललाई वास्तविक सडकबाट संकलित २ करोडभन्दा बढी उच्च गुणस्तरका ड्राइभिङ डेटा सेग्मेन्ट प्रयोग गरी तालिम दिइएको छ। यसले मानवीय ड्राइभिङ शैलीसँग मिल्दोजुल्दो र स्वाभाविक व्यवहार प्रस्तुत गर्ने कम्पनीको दाबी छ।

चालकलाई तनावमुक्त अनुभव प्रदान गर्न भिजन र भ्वाइस प्रविधि एकीकृत गरिएको मल्टिमोडल लार्ज मोडल प्रयोग गरिएको छ। यसमा प्राकृतिक भाषामा दिइने भ्वाइस कमान्डमार्फत नेभिगेसनसँग अन्तरक्रिया गर्न सकिने तथा चालकको ड्राइभिङ व्यवहार सम्झन सक्ने सुविधा रहेको कम्पनीले जनाएको छ।

एसडीए पाइलटको विकास र परीक्षणका लागि चांगानले आफ्नै एसडीए ल्याब स्थापना गरेको छ। उक्त प्रयोगशालामा २४ सै घण्टा अनुसन्धान तथा परीक्षण गर्न सकिने कम्पनीले जनाएको छ। यहाँ ४ लाखभन्दा बढी भर्चुअल सिमुलेसन अवस्था तयार गरी विश्वका २२४ क्षेत्रका विभिन्न जलवायु अवस्थालाई समेटेर दैनिक ३३ लाख किलोमिटर बराबरको सिमुलेटेड ड्राइभिङ परीक्षण गरिन्छ। प्रयोगशालादेखि वास्तविक सडकसम्मको परीक्षण प्रक्रियाले जोखिमपूर्ण अवस्था पहिचान गरी समाधान गर्न सहयोग पुग्ने कम्पनीको भनाइ छ।

कार्यक्रमकै अवसरमा एसडीए पाइलट अल्ट्रा प्रविधि जडान गरिएको पहिलो उत्पादन मोडल चांगान नेभो क्यू०६ को प्रि-अर्डरसमेत खुला गरिएको छ। यसले उन्नत ड्राइभर असिस्टेन्स प्रविधिलाई उत्पादन मोडलमार्फत आम ग्राहकसम्म पुर्‍याउने चांगानको योजनालाई अघि बढाएको छ।

नेपालमा चांगानका दिपल, नेभो र अवतार सब-ब्रान्डका सवारीसाधन उपलब्ध छन्। एमएडब्लू वृद्धि अटोकर्पमार्फत बिक्री हुँदै आएका यी ब्रान्डअन्तर्गत दिपलका एस०७, एस०७ एल, एस०७ आईसीए, एस०५, ई०७ र एल०७, नेभोको क्यू०५ तथा अवतार ११ र अवतार ७ मोडल नेपाली बजारमा रहेका छन्। कम्पनीले नेपालमा आफ्नो डिलरशिप, सर्भिस तथा चार्जिङ नेटवर्क विस्तारलाई पनि निरन्तरता दिँदै आएको जनाएको छ।

चांगान अटोमोबाइल चीनका प्रमुख सरकारी स्वामित्वका अटोमोबाइल उत्पादकमध्ये एक हो। १६० वर्षभन्दा बढीको औद्योगिक विरासत रहेको कम्पनीको विश्वका १०० भन्दा बढी देशमा उपस्थिति छ। कम्पनीसँग १८ हजारभन्दा बढी इन्जिनियरको विश्वव्यापी टोली रहेको जनाइएको छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...