स्मार्ट ड्राइभिङ : फोन खल्तीमा, ध्यान सडकमा

आजको डिजिटल युगमा मोबाइल फोन हाम्रो जीवनको अभिन्न अङ्ग बनिसकेको छ । तर, के तपाईंलाई थाहा छ ? तपाईंको हत्केलामा अटाएको त्यही सानो उपकरण सडकमा गुडिरहेको बेला 'साक्षात काल' बनेर उभिन सक्छ । सवारी चलाउँदा मोबाइल प्रयोग गर्नु केवल ट्राफिक नियमको उल्लंघन मात्र होइन, यो त आफू र अरूको अमूल्य जीवनमाथि गरिने एउटा भयानक खेलवाड र गम्भीर कानुनी अपराध पनि हो ।

        विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार, सवारी चलाउँदै मोबाइल प्रयोग गर्ने चालकहरूमा दुर्घटनाको जोखिम ४ गुणा बढी रहन्छ । प्रविधिको नशा र सडकको गतिबीच सन्तुलन नमिल्दा पछिल्लो समय यो प्रवृत्ति सडक दुर्घटनाको प्रमुख कारक बन्दै गएको छ । याद राख्नुस्, तपाईंको एक क्षणको असावधानीले वर्षौँको खुसीलाई एकै पलमा सडकमा विलीन गराइदिन सक्छ ।

        त्यसैले, सम्भावित सडक दुर्घटना न्यूनीकरण गर्न र आफ्नो यात्रालाई सुरक्षित एवं सुनिश्चित बनाउन निम्न जीवनोपयोगी सुरक्षा उपायहरू अपनाउनु अनिवार्य छ :‍-

  • सवारी साधन स्टार्ट गर्नुभन्दा पहिले नै आफ्नो मोबाइललाई 'ड्राइभिङ मोड' वा 'डु नट डिस्टर्ब' (Do Not Disturb) मा राख्नुहोस् । यो एउटा सानो बानीले गर्दा बाटोमा जथाभाभी आउने फोन, मेसेज वा नोटिफिकेसनबाट तपाईंको ध्यान मोडिन दिँदैन, एकाग्रता सडकमै रहन्छ । जसले गर्दा तपाईं ढुक्कसँग सवारी चलाउन सक्नुहुन्छ ।
  • यदि बाटोमा कतैबाट असाध्यै जरुरी फोन आयो भने, गुडिरहेको गाडीमा फोन उठाउने जोखिम नलिऔँ । बरु, सवारीलाई सुरक्षित ठाउँमा किनारा लगाएर र इन्जिन बन्द गरेर मात्र ढुक्कसँग कुराकानी गर्नुहोस् । याद राख्नुस्, 'हतारको संवाद' भन्दा 'सुरक्षित गन्तव्य' सधैँ महत्वपूर्ण हुन्छ ।
  • धेरैलाई लाग्छ कि ह्यान्ड्स-फ्री, इयरफोन वा ब्लुटुथ लगाएर कुरा गर्दा दुर्घटना हुँदैन, यो एउटा भ्रम हो । वैज्ञानिक तथ्य यो हो कि हात स्टेयरिङमा भए पनि दिमाग कुराकानीमा अल्झिँदा मस्तिष्कले सडकको दृश्यलाई सही विश्लेषण गर्न सक्दैन अर्थात दिमागले सडकको खतरालाई ठम्याउन सक्दैन । हात खाली भए पनि दिमाग फोनमा हुनु दुर्घटनाको कारण बन्न सक्छ ।
  • यदि तपाईं चढेको गाडीको चालकले फोन चलाइरहेको छ भने चुपचाप नबस्नुस् । उनलाई तुरुन्तै फोन राख्न भन्नुस् । तपाईंको एउटा दृढ हस्तक्षेपले ठूलो मानवीय क्षति टर्न सक्छ । चालकलाई सचेत गराउनु तपाईंको अधिकार मात्र होइन, जीवन रक्षाका लागि कर्तव्य पनि हो ।
  • सवारी चलाउँदा चलाउँदै फेसबुक स्क्रोल गर्ने, भिडियो खिच्ने वा टिकटकमा व्यस्त हुने कार्य आधुनिकता होइन, यो घोर लापरवाही र आत्मघाती कदम हो । फेसबुक र टिकटकका लागि ज्यान दाउमा नराखौँ । सडकमा गरिएको एक सेकेन्डको लापरवाहीले आफ्नो र परिवारको खुसी सधैँका लागि खोसिन सक्छ ।
  • कानमा हेडफोन लगाएर बाटो नकाटौँ । यो नियम पैदल हिँड्नेहरूका लागि पनि उत्तिकै अनिवार्य छ । कानमा इयरफोन लगाएर गीत सुन्दै बाटो काट्दा सवारी चालकले अत्यावश्यक अवस्थामा बजाएको गाडीको हर्न समेत सुनिँदैन, जसले गर्दा दुर्घटना हुने डर धेरै हुन्छ । सडकमा हिँड्दा आफ्नो ध्यान सडकमै केन्द्रित गरौँ, संगीतका लागि सुरक्षित गन्तव्य पर्खौँ ।
  • सवारी चलाइरहेका व्यक्तिलाई पटक-पटक फोन गरेर विचलित नपारौँ । यदि सवारी चलाइरहेका छन् भन्ने थाहा छ भने "अहिले उहाँ ड्राइभिङमा हुनुहुन्छ, पछि कुरा गर्छु" भन्ने धैर्यता र संस्कारले मात्र हामी सडक दुर्घटनालाई न्यूनीकरण गर्न सक्छौँ ।

   सडक सुरक्षा कुनै सरकारी अभियान मात्र होइन, यो व्यक्तिगत सभ्यता र जिम्मेवारीको परिचय पनि हो । मोबाइल फोन मानिसको सुविधाका लागि बनाइएको हो, यसलाई मृत्युको पासो नबनाऔँ । ट्राफिक नियमको पालना जरिवानाबाट बच्नका लागि होइन, आफ्नो अमूल्य जीवन बचाउनका लागि गरौँ ।

ट्राफिक नियम जानौँ पनि, मानौँ पनि ।

– प्र.ब.ना.नि. बिष्णु थापा

 प्रमुख–जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धुपाल्चोक

सम्बन्धित समाचारहरू

काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा सीसीटीभी जडान हुने

काठमाडौं उपत्यकामा चल्ने सवारी साधनमा सीसीटीभी जडान हुने

काठमाडौं – काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारीसाधानहरूमा...

नयाँ वर्षमा घुमघामः कर्णालीमा कहाँ घुम्ने ?

नयाँ वर्षमा घुमघामः कर्णालीमा कहाँ घुम्ने ?

सुर्खेत । नयाँ वर्ष २०८२ भित्रिएको छ । नयाँ वर्षमा कतै नयाँ ठाउँमा घुम्ने...

काठमाडौँ उपत्यकामा कहाँको भाडादर कति छ ? (सूचीसहित)

काठमाडौँ उपत्यकामा कहाँको भाडादर कति छ ? (सूचीसहित)

प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले जेठ ८ गतेको मन्त्रीस्तरीय...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...