चर्चामा पोडवे : नेपालमा समेत सञ्चालन तयारी, तर विभिन्न कारणले अन्यौल कायम

मास ट्रान्सपोर्टेसनको जगतमा नयाँ आयाम थप्ने प्रविधिको रूपमा हेरिएको ‘पोडवे’ सञ्चालन योजना अन्योलमा परेको छ । लामो समयदेखि चर्चामा आएको तर, निर्माणको लागि स्वीकृति नपाउँदा यो आयोजना अगाडि बढाउन हम्मेहम्मे परेको हो । 

युनिटस्की स्ट्रिङ टेक्नोलोजीको यो प्रविधि नेपालमा पोडवे नेपाल कम्पनीले सन् २०२२ देखि बनाउन दौडधूप गरिरहेको छ । यद्यपि नेपालमा यस्तो किसिमको नयाँ प्रविधि बनाउने नीति नियम नहुँदा यो योजनाले स्थान पाउन सकेको छैन ।

तर, चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत तत्कालीन अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्यमा स्थानीय तहसँगको सहकार्यमा काठमाडौं उपत्यकाको धोबिखोला, बागमती र बिष्णुमती कोरिडोरमा स्काई–वे तथा पोडवे यातायात प्रणालीको सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढाइने उल्लेख गरेका थिए । 

यस्तै, सोही बजेमा पृथ्वी राजमार्गको विमलनगरदेखि गोर्खाको लिगलिगकोट–भच्चेक– बारपाक–बुङकोट–गोरखाबजार–मनकामना–बेनीघाटसम्म पोडवे यातायात प्रणालीको सम्भाव्यता अध्ययन र लगानी ढाँचा तय गरी निर्माण कार्य अगाडि बढाइने विषय समावेश छ । 

तथापि अहिले यो आयोजना कार्यान्वयन लाग्ने प्रक्रियामा कुनै मन्त्रालयले चासो नदेखाएको पोडवे नेपालका उपाध्यक्ष निल भट्टराईले बताए । विशेषगरी भिडभाड भएका शहरी क्षेत्रमा यसको प्रयोग उपयोगी र सडकमा ट्राफिक कम गर्न, प्रदूषण घटाउने उद्देश्य राखेर पोडवे बनाउने लक्ष्यमा कम्पनी लागेको हो ।  

सरकारी तवरबाट अनुमति प्राप्त गर्न नसक्दा निर्माण कार्यमा पोडवे पुग्न सिकेको छैन ।  ‘लोकप्रिय हुनको लागि बजेटमा कार्यक्रम राख्ने र कार्यान्वयन नगर्ने पुरानै परम्परा हो,  तर देशलाई मास ट्रान्सपोर्टेसन आवश्यकता पर्दा पोडवेको मनन गरिएन, सरकारी कर्मचारी पनि यो काम किन गर्ने भन्ने पक्षमा गए,’ उपाध्यक्ष भट्टराईले भने ।

भट्टराईका अनुसार सरकारी कर्मचारीहरूबाट साथ नपाउँदा पोडवे बनाउने विषय पछाडि धकेलिएको हो । पोडवे बनाउन कानुनी बाटो खुलाउनु पर्ने र फिजिबल हुँदैन भने कारण पनि देखाउनु पर्ने भट्टराईको तर्क छ । 

‘हामी अब चाडै एक ठाउँमा त्यहाँका सम्बन्धित निकायबाट स्वकृति लिएर पोडवे बनाउँछौं, सरकारले आवश्यकता ठानेर पोडवे बनाउने भएपनि हामी तयार छौं,  तर बाटो नै नखुल्दा समस्या भयो,’ उनले भने ।  योजना स्तरमा बसेका मान्छेले यसको कानुनी बाटो खुलाउन नचाएको उनको भनाई छ । 

कामै नभएपछि आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा पोडवेको विषय राखेर अर्थ नरहेको भट्टराईले बताए । उनका अनुसार यसका लागि कार्यविधि बनाउने र अध्ययनको प्रक्रिया अगाडि बढाउन नसक्दा अहिलेसम्म आयोजना नबनेको हो । 

सरकारद्वारा शीघ्र नीति निर्माण र प्रक्रिया पूरा गरिएमा पोडवे प्रविधिले नेपालको सार्वजनिक यातायात क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने भट्टराईको दाबी छ । नयाँ छुट्टै नीति बनाउन नसके भएकै कानुनबाट अनुमति दिई निर्माणको प्रक्रिया अगाडि बढाउने अनुमति दिनुपर्ने भट्टराईको दाबी छ । 

नेपालमा यो कति आवश्यक ?  

कम्पनीले काठमाडौं उपत्यका लगायत विभिन्न जिल्लाका धेरै ठाउँमा पोडवे नेटवर्कको सम्भाव्यता अध्ययन सम्पन्न गरिसकेको छ । यसको लागि केवल अनुमति प्राप्त भएपछि निर्माणको प्रक्रिया तत्काल सुरु गर्ने अवस्थामा कम्पनी छ । अहिले कोशी, लुम्बिनी, बागमती प्रदेशमा अध्ययन गरी निर्माणको लागि अनुमति मागी रहेको भट्टराईको भनाई छ ।

लुम्बिनी प्रदेशमा ६ किलोमिटर र कर्णाली प्रदेशमा ८३ किलोमिटर लामो परियोजनाको प्रक्रिया अघि बढाइ पोडवे नेटवर्कको प्रस्ताव प्रस्तुत गरिएको छ । पोडवे प्रविधिको कार्यान्वयनका लागि विभिन्न स्थानहरूमा प्रस्तावहरू तयार भएका छन् । 

विद्युतीय प्रविधिमा आधारित वातावरणमैत्री पोडवे सडक वा रेलको तुलनामा निर्माण सस्तो र छिटो हुने भट्टराईले जानकारी दिए । यस्तै, सहरी पूर्वाधार विज्ञ आशिष गजुरेलले नीति निर्माण गरी प्राविधिक मान्यता दिएर सार्वजनिक–निजी साझेदारी मार्फत पोडवे प्रणाली कार्यान्वयन सम्भव रहको बताए ।   

‘प्रविधिमा खराब छ वा छैन भनेर अध्ययन नगरी थाहा हुँदैन, म यसको इन्जिनियरिङ मिलेको देख्छु, उक्त प्रविधिमा जति जनाले चढेका छन्, उनीहरु सन्तुष्ट छन्, राज्यले अध्ययन नगर्दा प्रस्थान बिन्दु पहिचान नभएको अवस्था हो,’ उनले भने ।  

यसको अध्ययन गरे प्राविधिक, आर्थिक, सुरक्षा र अन्य अवस्थाको पनि थाहा हुने गजुरेलले बताए । नेपालका कर्मचारीहरू पनि नयाँ काम गर्नको लागि उत्सुक नदेखिँदा नयाँ प्रविधिले स्थान नपाएको उनको भनाई छ । 

‘नेपालका कर्मचारी नयाँ काममा काम गर्न चाहनु हुन्न, किन झन्झट लिने तवरले उहाँहरू सोच्नु हुन्छ, उहाँहरू सबै आ-आफ्नो गाडी चढी हाल्नु हुन्छ, अनि सार्वजनिक यातायात तथा जनता सहजताका विषय सोच्नु हुन्न जस्तो मलाई लाग्छ,’ उनले भने । 

भौतिक पूर्वाधार मन्त्रालयको पनि सडक बनाउनमा वाहेक अन्य विषयमा ध्यान नगएको गजुरेले जानकारी दिए । बनाएका सडक पनि सुरक्षित र व्यवस्थित नभएको उनेको भनाई छ । ‘पोडवेको सबै स्थिति ठिक भएकाले अध्ययन गरेर अगाडि बढ्दा फरक पर्दैन, यो बन्नु पर्छ, बन्नको लागि पहिला अध्ययन हुनुपर्छ, अध्ययनले ठिक छ भने बनाउने, बेठिक छ भन्यो भने नबनाउने,’ उनले भने । 

के भन्छ मन्त्रालय ? 

पोड–वे बनाउन संघ, प्रदेश र स्थानीय तहको भूमिका निकै महत्वपूर्ण छ । यसको ठोस नीति र सरकारी पक्षबाट सम्भावनाको अध्ययन नहुँदा आवश्यक काम अगाडि नबढेको हो । तर, बजेटमा उल्लेख भएर पनि कार्यान्वयन आउँन नसक्नु दुखद विषयको हो । 

कम्पनीले अहिले प्रदेश वा स्थानीय स्तरमा गएर पोडवे बनाउने विषयको प्रस्ताव गरिरहेको छ । तर, अहिलेसम्म पोडवे नबन्दा अर्का तिर यो प्रविधिलाई लिएर टीकाटिप्पणी पनि भइरहेका छन् । 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भिमार्जुन अधिकारीले मन्त्रालयको तर्फबाट पोडवेका लागि कुनै काम नभएको बताए । ‘यसको लागि मन्त्रालयको तर्फबाट ठोस योजना र अध्ययनको काम केही भएको छैन, अध्ययनको विषय सुनेको थिए, तर आधिकारिक काम यहाँबाट केही भएको थाहा पाएको छैन,’ उनले भने । 

पर्सनल र्यापीट ट्रान्जिट (पीआरटी) यो प्रणाली एरियल ट्र्याक वा केबुल–निर्भर सस्पेन्डेड ट्र्याकमा आधारित हुन्छ । यसको पोडले १४ जना यात्रु बोकेर एक घण्टामा करिव ५० हजार यात्रुलाई सेवा दिन सक्ने क्षमता राख्छ । पोडवे एक प्रकारको स्वचालित, केबुल–सञ्चालित सार्वजनिक यातायात प्रणाली हो ।

सम्बन्धित समाचारहरू

उत्कृष्ट लक्जरी फिचरले भरिपूर्ण ७०० किमी रेन्ज दिने औडीको इलेक्ट्रिक कार आउँदै

उत्कृष्ट लक्जरी फिचरले भरिपूर्ण ७०० किमी रेन्ज दिने औडीको इलेक्ट्रिक कार आउँदै

लक्जरी कार निर्माता कम्पनी औडीले कन्सेप्ट इलेक्ट्रिक कार औडी ए६ एभेन्ट...

टोइङ नेपालद्वारा आन्दोलनमा जलेका सवारी साधन सुरक्षित स्थानमा सार्न सुरु

टोइङ नेपालद्वारा आन्दोलनमा जलेका सवारी साधन सुरक्षित स्थानमा सार्न सुरु

काठमाडौं–जेन–जी आन्दोलनका क्रममा जलेका गाडी तथा बिग्रिएका सवारी सडकमा...

इलेक्ट्रिक माइक्रोमा बढ्यो क्रेज, गरुड सेक्युरिटिजले किन्यो एकैपटक ४ इलेक्ट्रिक माइक्रो बस

इलेक्ट्रिक माइक्रोमा बढ्यो क्रेज, गरुड सेक्युरिटिजले किन्यो एकैपटक ४ इलेक्ट्रिक माइक्रो बस

नेपाली बजारमा इलेक्ट्रिक भेइकलको माग दिनप्रतिदिन बढ्दै गएको छ । माग...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...