रिभर्स गर्दा एक सेकेन्डको असावधानी, जीवनभरको पश्चात्ताप : यस्ता छन् रिभर्स गर्दा अपनाउनुपर्ने सुरक्षा उपाय

सवारी चलाउँदा अगाडिको बाटो जति स्पष्ट देखिन्छ, पछाडिको अवस्था त्यति नै सहज रूपमा देखिँदैन । विशेषगरी सवारी साधन रिभर्स गर्दा चालकको दृश्य क्षेत्र सीमित हुन्छ । यही कारण रिभर्स गर्ने क्रममा बालबालिका, पैदलयात्री, साइकल, मोटरसाइकल वा साना सवारी साधन नदेखिँदा दुर्घटना हुने जोखिम बढी हुन्छ । केही सेकेन्डको हतार र असावधानीले गम्भीर चोटपटक देखि अमूल्य जीवन गुम्नेसम्मको अवस्था निम्त्याउन सक्छ ।

त्यसैले रिभर्स गर्दा चालकले थप सावधानी अपनाउनु आवश्यक हुन्छ । रिभर्स गर्दा अनिवार्य रूपमा अपनाउनुपर्ने केही महत्वपूर्ण सुरक्षा उपाय यस्ता छन् :

१. रिभर्स गर्नुअघि एकपटक रोकिनुहोस्

रिभर्स गियर लगाउनुअघि सवारी पूर्ण रूपमा रोक्नुहोस् । अगाडि, पछाडि र दुवैतर्फको अवस्था हेर्नुहोस् । सवारी वरिपरि बालबालिका, पैदलयात्री, साइकल वा अन्य अवरोध छ कि छैन भन्ने सुनिश्चित गर्नुहोस् । पार्किङमा रहेका अन्य सवारीसाधन, भित्ता वा अन्य संरचनाले दृश्य छेकिरहेको अवस्थामा झनै सावधानी अपनाउनुहोस् ।

२. मिरर (ऐना) मा मात्र भर नपर्नुहोस्

साइड मिरर र रियर–भ्यु मिरर उपयोगी भए पनि तिनले सवारीको पछाडिको सम्पूर्ण क्षेत्र देखाउन सक्दैनन् । विशेषगरी सवारीको ठीक पछाडिको दृश्यविहीन क्षेत्र (Blind Spot) मा रहेको व्यक्ति वा वस्तु मिररमा नदेखिन सक्छ । त्यसैले आवश्यक परे शरीरको स्थिति मिलाएर प्रत्यक्ष पछाडिको अवस्था पनि हेर्नुहोस् ।

३. रिभर्स क्यामेरा छ भने पनि सावधानी नछोड्नुहोस्

रिभर्स क्यामेरा चालकका लागि महत्वपूर्ण सहयोगी प्रविधि हो । तर क्यामेराको दृश्य क्षेत्र सीमित हुन सक्छ र सानो बालबालिका वा अचानक पछाडि आएको व्यक्ति सधैँ स्पष्ट रूपमा नदेखिन सक्छ । त्यसैले क्यामेरा सहायक हो, चालकको सावधानीको विकल्प होइन ।

४. दृश्य स्पष्ट छैन भने सहयोग लिनुहोस्

ठूलो सवारी, साँघुरो ठाउँ, भीडभाड वा अँध्यारो स्थानमा रिभर्स गर्नुपरेमा सम्भव भएसम्म सहयोगी व्यक्तिको मद्दत लिनुहोस् । सहयोगी व्यक्ति चालकले स्पष्ट देख्ने स्थानमा उभिएर सुरक्षित संकेत दिनुपर्छ । संकेत दिने व्यक्ति पनि सवारीको सम्भावित बाटोमा नपर्ने गरी सुरक्षित स्थानमा रहनुपर्छ ।

५. बिस्तारै रिभर्स गर्नुहोस्

रिभर्स गर्दा गति जति कम हुन्छ, चालकलाई अवस्था बुझेर आवश्यक परे तुरुन्त सवारी रोक्न त्यति नै सहज हुन्छ । त्यसैले ‘हतारमा रिभर्स’ होइन, ‘हेरेर–बुझेर–बिस्तारै रिभर्स’ गर्ने बानी बसालौँ । एक्सिलेटर अनावश्यक रूपमा दबाउने, अचानक स्टेयरिङ घुमाउने वा तीव्र गतिमा पछाडि जाने गल्ती नगरौँ ।

६. रिभर्स गर्दा फोन र ध्यान भंग गर्ने कुरा बन्द गर्नुहोस्

मोबाइल फोन चलाउने, यात्रुसँग अनावश्यक कुराकानी गर्ने वा अन्य गतिविधिमा ध्यान दिने बेला रिभर्स गर्नु झनै जोखिमपूर्ण हुन्छ । रिभर्स गर्दाको अवस्थामा चालकको सम्पूर्ण ध्यान सवारीको वरिपरिको अवस्थामै केन्द्रित हुनुपर्छ ।

७. बालबालिका भएको स्थानमा विशेष सावधानी अपनाउनुहोस्

घर, विद्यालय, खेलमैदान, पार्किङ वा बस्ती क्षेत्रमा रिभर्स गर्दा अतिरिक्त सावधानी अपनाउनुहोस् । बालबालिका सवारीको पछाडि अचानक आउन सक्छन् र उनीहरूको उचाइका कारण चालकको सामान्य दृश्य वा मिररमा नदेखिन सक्छन् । त्यसैले बालबालिका नदेखिए पनि त्यहाँ छैनन् भन्ने निष्कर्ष कहिल्यै ननिकालौँ ।

सडक सुरक्षा ठूला नियमको पालना मात्र होइन, साना–साना सावधानीको निरन्तर अभ्यास पनि हो । रिभर्स गर्दा केही सेकेन्ड ढिला हुनु कुनै ठूलो कुरा होइन; तर एक सेकेन्डको असावधानीले कसैको जीवनमा अपूरणीय क्षति पुर्‍याउन सक्छ । "हतार भन्दा सुरक्षा पहिलो" भन्ने सिद्धान्तलाई आत्मसात् गर्दै ऐना, प्रविधि, र सहयोगीको सही प्रयोगका साथ बिस्तारै र ध्यानपूर्वक गाडी रिभर्स गर्ने बानी नै एक जिम्मेवार र कुशल चालकको पहिचान हो । सचेत बनौं, सुरक्षित रहौं ।

ट्राफिक नियम जानौ पनि, मानौ पनि ।

  • विष्णु थापा

प्रहरी वरिष्ठ नायव निरीक्षक

जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवन   

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...