नक्कली ड्राइभिङ लाइसेन्स जारी गर्ने १२ कर्मचारीसहित १७ विरुद्ध मुद्दा
काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कर्मचारीले १४ महिनामा...
हाम्रो समाजमा एउटा निकै हितैषी तर घातक बानी छ "नाइँ" भन्न नसक्ने । छिमेकी, साथीभाइ वा नातेदारले काम विशेषले २-४ दिनका लागि मोटरसाइकल वा गाडी चाहियो भन्दै साँचो माग्दा हामी धेरैजसो सहजै दिन्छौँ । साधन माग्ने व्यक्तिले चलाउन त जान्दछ, तर उससँग सवारी चालक अनुमति पत्र (लाइसेन्स) छ कि छैन ? भन्नेतर्फ हामी विरलै ध्यान दिन्छौँ । "चलाउन जान्ने मान्छेले लगिहाल्छ नि !" भन्ने हाम्रो यही सानो असावधानी कुनै पनि दिन जीवनकै सबैभन्दा ठूलो कानुनी फन्दा र मानसिक तनावको कारण बन्न सक्छ ।
सवारी साधन चलाउन जान्नु र कानुनी रूपमा चलाउने अधिकार पाउनु फरक कुरा हुन् । त्यसैले, लाइसेन्स बिनाको ब्यक्ति कसैलाई सवारी साधन दिनु भनेको दुर्घटना र कानुनी झमेलालाई खुला निमन्त्रणा दिनु हो । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ ले बिना लाइसेन्स सवारी चलाउनेलाई मात्र होइन, त्यस्ता व्यक्तिलाई सवारी साधन दिने धनीलाई पनि कडा दायित्व र सजायको भागीदार बनाएको छ ।
ऐनको दफा १३१ बमोजिम सवारी चालक अनुमति पत्र नभएको व्यक्तिलाई सवारी साधन चलाउन दिनु पूर्ण रूपमा गैरकानुनी हो । यदि कसैले लाइसेन्स नभएको व्यक्तिलाई जानाजान आफ्नो साधन चलाउन दिन्छ भने सवारी धनीलाई समेत कानुन बमोजिम जरिवाना र कारबाही हुन्छ ।
यदि लाइसेन्स नभएको व्यक्तिले तपाईंको सवारी साधन चलाउँदा कुनै दुर्घटना भयो र कसैको अंगभंग वा मृत्यु भयो भने, त्यस्तो अवस्थामा चालकसँगै सवारी धनी पनि विभिन्न कानुनी प्रक्रिया तथा आर्थिक दायित्वको दायरामा पर्न सक्ने अवस्था सिर्जना हुन सक्छ । नेपालको विद्यमान सवारी बीमा नियम अनुसार, बिना लाइसेन्स सवारी चलाउँदा दुर्घटना भएमा बीमा दाबी प्रक्रियामा जटिलता आउन सक्छ र बीमाले क्षतिपूर्ति भुक्तानी गर्ने विषय सम्बन्धित बीमा सम्झौताका सर्त तथा प्रचलित कानुनी व्यवस्थामा निर्भर रहन्छ । यसले सवारी धनीलाई थप आर्थिक र कानुनी जोखिममा पार्न सक्छ ।
एउटा सानो हेलचेक्र्याइँले कसैको ज्यान जान सक्छ र तपाईंको जीवनभरको कमाइ कानुनी झमेला सुल्झाउँदैमा सकिन सक्छ । त्यसैले आफ्नो साधनको साँचो सुम्पनुअघि आत्मसात गर्नैपर्ने केही महत्त्वपूर्ण सुरक्षा सावधानीहरू यहाँ प्रस्तुत छन् :-
१) नाइँ भन्न सिक्नुहोस् :-
सम्बन्ध बिग्रने डरले कानुन मिच्न नदिनुहोस् । लाइसेन्स नभएका व्यक्तिलाई सवारीको साँचो नदिनु नै तपाईं र माग्ने व्यक्ति दुवैको हितमा हुन्छ । स्पष्ट र नम्र भाषामा भन्नुहोस् - लाइसेन्स बिना साधन दिनु कानुन र सुरक्षा दुवै हिसाबले मिल्दैन ।
२) पहिले लाइसेन्स चेक गर्नुहोस् :-
नजिककै साथी वा आफन्त भए पनि सवारी साधनको साँचो हातमा थमाउनु अघि तपाईको लाइसेन्स बैध छ नि ? भनी सोध्ने वा लाइसेन्स वैध छ कि छैन हेर्ने बानी बसाल्नुहोस् ।
३) भावना भन्दा कर्तव्य ठूलो हो भन्ने कुरा हेक्का राख्नुहोस् :-
केही हुन्न, म बिस्तारै लैजान्छु भन्ने आश्वासनमा कहिल्यै नपर्नुहोस् । सडकमा दुर्घटना अचानक हुन्छ र कानुनले भावना होइन, प्रमाण र नियम हेर्छ ।
४) बालबालिका र युवापुस्तामा विशेष निगरानी राख्नुहोस् :-
घरका नाबालक वा लाइसेन्स नभएका सदस्यहरूले "म यही नजिकसम्म पुगेर आउँछु" भन्दै सवारी चलाउन खोज्न सक्छन् । त्यसैले सवारीको साँचो उनीहरूको सहज पहुँचमा नराख्नुहोस् ।
सवारी साधन केवल एउटा विलासिता वा सुविधाको साधन मात्र होइन, यो सडकमा गुड्ने एउटा जिम्मेवारी र सम्भावित जोखिम पनि हो । लाइसेन्स नभएको व्यक्तिलाई सवारी साधन दिनु भनेको उसलाई मात्र होइन, सडकमा हिँड्ने अन्य निर्दोष नागरिकको जीवनलाई पनि जोखिममा पार्नु हो ।
सवारीको साँचो केवल फलामको एउटा टुक्रा होइन, त्यससँग सडक सुरक्षाको जिम्मेवारी पनि जोडिएको हुन्छ । त्यसैले अनावश्यक कानुनी झमेला, आर्थिक क्षति र अपूरणीय मानवीय क्षतिबाट बच्न आजैबाट संकल्प गरौँ - लाइसेन्स नभएकालाई सवारी साधनको साँचो कदापि नदिऔँ । तपाईंको यही एउटा जिम्मेवार निर्णयले दुर्घटना रोक्न, जीवन बचाउन र सुरक्षित सडक संस्कृतिको निर्माण गर्न महत्वपूर्ण योगदान पुर्याउन सक्छ । याद गरौँ - "लाइसेन्स छैन भने साँचो छैन" भन्ने संस्कार नै सुरक्षित सडकको आधार हो ।
ट्राफिक नियम जानौं पनि, मानौं पनि ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवन
काठमाडौं । यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कर्मचारीले १४ महिनामा...
काठमाडौं– उपप्रधानमन्त्री एबं गृहमन्त्री रवि लामिछानेले रोड टेष्ट गरेर...
यातायात व्यवस्था विभागले हाल अनलाइन रुपमै ड्राइभिङ लाइसेन्सका लागि आवेदन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...