सिट बेल्टको प्रयोग : यसरी बन्छ जीवन बचाउने प्राथमिक सुरक्षा कवच

सवारी साधन आधुनिक जीवनको अभिन्न हिस्सा बनिसकेको छ । तर, सडक यात्रा जति सहज छ, त्यति नै जोखिमपूर्ण पनि हुन सक्छ। नेपालका सडकहरूमा गुड्ने धेरैजसो चालकहरूले सिट बेल्टको प्रयोगलाई अझै पनि गम्भीर रूपमा लिने गरेका छैनन् । सिट बेल्टलाई केवल ट्राफिक प्रहरीको जरिवानाबाट बच्ने माध्यमको रूपमा मात्र लिने गरेको पाइन्छ । तर वास्तविकता यो हो कि सिट बेल्ट कुनै कानुनी बोझ नभई दुर्घटनाको समयमा मृत्युको मुखबाट जोगाउने जीवन रेखा हो ।

        जब एउटा सवारी साधन गुडिरहेको हुन्छ, त्यसमा सवार यात्रीको शरीर पनि सोही गतिमा गतिशील हुन्छ । भौतिक विज्ञानको नियम अनुसार, यदि गुडिरहेको गाडी अचानक रोकिन्छ वा कतै ठोकिन्छ भने, भित्र बस्ने मानिसको शरीर पुरानै गतिमा अगाडि हुत्तिएर जान्छ । यस्तो अवस्थामा सिट बेल्ट नलगाएका चालक वा यात्रीको छाती सिधै स्टेयरिङमा बजारिन पुग्छ । यसले गर्दा फोक्सो र मुटुमा गम्भीर चोट लाग्ने मात्र होइन, करङहरू भाँचिएर भित्री अङ्गहरूमा ठुलो क्षति पुर्‍याउँछ । त्यस्तै, टाउको अगाडिको सिसामा ठोकिँदा मस्तिष्कमा गम्भीर चोट लाग्ने उच्च जोखिम रहन्छ ।

        सिट बेल्टको अभावमा हुने अर्को भयानक क्षति भनेको मेरुदण्ड (Spinal Cord) भाँचिनु हो । अचानक ब्रेक लगाउँदा वा ठक्कर लाग्दा शरीर अनियन्त्रित तरिकाले खुम्चिँदा वा तन्किँदा मेरुदण्डमा अपूरणीय क्षति पुग्छ । मेरुदण्डको चोटले मानिसलाई जीवनभरका लागि पक्षघात गराउन सक्छ, जसले गर्दा व्यक्ति ओछ्यानमै थलिनुपर्ने अवस्था आउँछ ।

        यसको उपचार प्रक्रिया अत्यन्त जटिल र महँगो हुन्छ । नेपाल जस्तो मुलुकमा मेरुदण्डको शल्यक्रिया, लामो समयको अस्पताल बसाइ र त्यसपछिको फिजियोथेरापीमा लाखौँ रुपैयाँ खर्च हुन्छ । एउटा सामान्य सावधानी (सिट बेल्ट) नअपनाउँदा एउटा परिवार आर्थिक र मानसिक रूपमा तहसनहस हुन सक्छ ।

        यति महत्वपूर्ण सुरक्षा उपाय हुँदाहुँदै पनि कतिपय चालकहरूले “नजिकै मात्र जानु छ”, “बिस्तारै चलाएको छु” वा “यहाँ ट्राफिक जाँच हुँदैन” भन्ने सोच राखेर सिट बेल्ट नलगाउने गल्ती गर्छन् । तर दुर्घटना कहाँ र कहिले हुन्छ भन्ने कसैले पनि अनुमान गर्न सक्दैन । त्यसैले छोटो दूरी होस् वा लामो यात्रा, सिट बेल्ट लगाउने बानीलाई अनिवार्य बनाउनु अत्यन्त आवश्यक छ ।

         सिट बेल्टको सही प्रयोग र सवारी सुरक्षाका लागि निम्न बुँदाहरूमा ध्यान दिनु आवश्यक छ :

१)  शून्य सहनशीलता :

        गाडी स्टार्ट गर्नुभन्दा पहिले सिट बेल्ट बाँध्ने बानी बसाल्नुहोस् । "थोरै दुरी त हो नि" वा "बिस्तारै त गुडाएको छु नि" भन्ने सोच कहिल्यै नराख्नुहोस् ।

२) सटीक तरिकाले बाँध्ने :

        सिट बेल्टको माथिल्लो फित्ता काँधको बीच भागबाट जानुपर्छ, घाँटीबाट होइन । तल्लो फित्ताले पेटलाई नभई कम्मरको हड्डीलाई थिच्नुपर्छ ।

३) पछाडि बस्ने यात्रीको सुरक्षा :

        धेरैलाई लाग्छ कि सिट बेल्ट चालकका लागि मात्र हो । तर, पछाडि बस्ने यात्रीले पनि बेल्ट बाँध्नु उत्तिकै जरुरी छ । दुर्घटना हुँदा पछाडिको मानिस हुत्तिएर अगाडिको सिट वा विन्डसिल्डमा ठोकिने जोखिम उत्तिकै हुन्छ ।

४) बालबालिकाको विशेष ख्याल :

        साना बालबालिकालाई सिट बेल्टले मात्र पुग्दैन, उनीहरूका लागि 'चाइल्ड सेफ्टी सिट' को प्रयोग गर्नु उत्तम हुन्छ ।

५) नियमित जाँच :

        सिट बेल्टको लक र फित्ता राम्रो अवस्थामा छ कि छैन भनेर समय-समयमा जाँच गर्नुहोस् । यदि बेल्ट खुकुलो छ वा लक हुँदैन भने तुरुन्त मर्मत गर्नुहोस् ।

        सिट बेल्टले दुर्घटना नै रोक्ने त होइन, तर दुर्घटना पछिको क्षतिलाई भने ४५% देखि ५०% सम्म कम गर्न सक्छ । सिट बेल्ट कुनै कानुनी बाध्यता मात्र होइन, यो जीवनको सुरक्षा कवच हो । आफ्नो परिवारको खुसी र आफ्नै अमूल्य जीवनको रक्षाका लागि सिट बेल्ट लगाउने प्रण आजैवाट गरौँ ।

ट्राफिक नियम जानौँ पनि, मानौँ पनि ।

– प्र .ब.ना.नि. बिष्णु थापा       

प्रमुख - जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धपाल्चोक

सम्बन्धित समाचारहरू

देशभर ३९ लाख ८७ हजार २६७ सवारी साधन दर्ता, २० लाख ८७ हजार स्मार्ट लाइसेन्स

देशभर ३९ लाख ८७ हजार २६७ सवारी साधन दर्ता, २० लाख ८७ हजार स्मार्ट लाइसेन्स

काठमाडौं – देशभर दर्ता भएको सवारी साधनको सङ्ख्या ३९ लाख ८७ हजार २६७...

पठाओ एपमा अब फुड डेलिभरी सित्तैमा: ‘रेस्टुरेन्टको दाममा घरमै खाम’

पठाओ एपमा अब फुड डेलिभरी सित्तैमा: ‘रेस्टुरेन्टको दाममा घरमै खाम’

काठमाडौँ – नेपालको अग्रणी राइड शेयरिङ सेवा प्रदायक पठाओ नेपालले अब देखि...

यात्रुलाई बीमा सुविधा सहित इन्ड्राइभले नेपालमा आधिकारिक रुपमा सुरु गर्‍यो सेवा

यात्रुलाई बीमा सुविधा सहित इन्ड्राइभले नेपालमा आधिकारिक रुपमा सुरु गर्‍यो सेवा

राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले हिजोदेखि औपचारिक रूपमा नेपालमा सेवा सुरू...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...