३२ लिटर बुट स्पेसयुक्त इलेक्ट्रिक प्रिमियम स्कुटर याडिया ई८एस प्रो नेपालमा, १० हजारमा बुकिङ गर्न सकिने
काठमाडौं – याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु...
विद्युतीय सवारी (ईभी) अहिले नेपाली अटो बजारमा मेनस्ट्रिम वनिसकेकोे छ । विगत तीन वर्षयता ईभीकोे बिक्री उकालो लाग्दै गएको छ र यसमा नयाँ नयाँ सेग्मेन्ट समेत थपिँदै गएको छ ।
प्यासेन्जर कारबाट यात्रा सुरु गरेको ईभीको दायरा अहिले कमर्सियल र कार्गोमा समेत विस्तार भैसकेको छ । कमर्सियल प्रयोजनमा प्रयोग हुने भ्यान तथा माइक्रो बसहरु त झन् पछिल्लो समय सार्बजनिक यातायातको पर्याय नै बन्न थालिसकेका छन् ।
ईभीको बजार विस्तारसगै बजारमा अहिले नयाँनयाँ ब्रान्ड भित्रिने क्रममा समेत तीव्रता आएको छ । यसरी भित्रिएका सवारीसाधनले नेपाली सडकमा कस्तो पर्फमेन्स देला भन्ने अन्योलताका बिच चार्जिङ स्टेशन र बिक्री पछिको सेवाजस्ता विषयलाई लिएर समेत विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । ईभी बजारमा देखिएका यस्ता अन्योलता र जिज्ञासालाई लिएर हामीले दिगो ग्रुप अफ कम्पनिजका संस्थापक राजन रायमाझीसँग कुरा गरेका छौ । रायमाझी नेपालमा विगत ८ वर्षयता ईभीको इकोसिस्टम तयार पार्न जोडवलले लागिपरेको एक सफल व्यवसायी र ईभी अभियन्ता समेत हुन् ।
ईभी प्रबद्र्धनमा दिगो ग्रुप अफ कम्पनिजले कसरी काम गरिरहेको छ ?
नेपालको भविष्य ईभीकै विकासमा छ भन्ने बुझेर म विगत ८ वर्षयता यो क्षेत्रमा क्रियाशिल रहँदै आएको छु । नेपालको सबैभन्दा ठूलो समस्या ट्रेड डेफिसिट र बातावरणसँग सम्बन्धित भएका कारण पनि ईभी निकै महत्वपूर्ण छ । रोड ट्रान्सपोर्टको अर्को विकल्प नभएका कारण हाम्रा सडकमा गुड्ने सवारीसाधनको छनोटमा हामी एकदमै सचेत बन्नु जरुरी छ । यस्तो अबस्थामा अहिले विश्व बजारले नै प्राथमिकता दिएको ईभी हाम्रा लागि सबैभन्दा उत्तम विकल्प बन्न सक्छ भन्ने मेरो निष्कर्ष छ ।
सोही विषयलाई मध्यजनर गर्दै हामीले नेपाली सडक सुहाउँदो कमर्सियल ईभी आयात गर्दै आएका छौ । हामीसँग अहिले कार्गो र प्यासेन्जर सेग्मेन्टमा बिभिन्न ब्रान्ड उपलब्ध छ । यी गाडीलाई राम्रोसँग संचालन गर्न ईभीको छुट्टै इकोसिस्टम तयार पार्न जोडवलले लागिपरेका छौ ।
पछिल्लो समय गाडी बिक्री गर्न भन्दा पनि चार्जिङ स्टेशनजस्ता पूर्वाधारको निर्माणका बढी केन्द्रित हुन थाल्नु भएको हो ?
पूर्बाधारको विकास नगरी गाडीमात्र ल्याएर हुँदैन भन्ने हाम्रो मान्यता हो । त्यसमाथी ईभी नयाँ प्रविधि भएकाले पनि हामीले पहिले यसको पूर्बाधार निर्माणमा जोड दिएका हौँ । हाम्रो प्राथमिकता सेल्समा भन्दा पनि चार्जिङ स्टेशन जस्ता पूर्बाधार निर्माणमा बढी छ भन्ने कुरा ८ वर्षअघि पहिलोपटक डिसी चार्जर ल्याएर काम थालेदेखि नै प्रष्ट हुन्छ । चार्जिङ मात्र नभएर सप्लाई चेन, स्पेयर पार्ट्सको उपलब्धता र जनशक्ति उत्पादनमा पनि उत्तिकै जोड दिएका छौ । गाडी बिक्री गर्नुअघि यी विषयमा ध्यान दिनुपर्छ भनेर नै हामी पहिले इकोसिस्टम निर्माणमा जुटेका हाँै । ईभीको इकोसिस्टम तयार पार्ने काम खर्चिलो भएपनि यसमा लगानी बढाउँदै निरन्तर काम गरिरहेका छौ । पूर्बाधार निर्माणमा जोड दिएकै कारण पछिल्लो समय हामीले बिक्री गर्ने ईभीको माग समेत बढ्न थालेको छ ।
ईभी प्रवद्र्धन गर्न अन्तराष्ट्रिय बजार र नेपाल सरकारको अभ्यासमा कस्तो अन्तर पाउनुहुन्छ ?
बाहिर सरकारले नै सपोर्ट गर्छ । चार्जिङ नेटवर्क आँफैले बनाईदिन्छ भने विभिन्न सहुलियत समेत दिन्छ । लागनीका लागि राम्रो नीति बनाइदिन्छ । थाइल्यान्डको कुरा गर्नुहुन्छ भने त्यहाँ ईभी उत्पादन र चार्जिङ पूर्वाधार निर्माण गर्न सरकारले कर नलिने नीति लिएको छ । भुटानको कुरा गर्दा सानो देश भएपनि ईभीमा इम्पोर्ट ट्याक्स र चार्जिङमा शुल्क लाग्दैन । कुनैपनि देशमा पहिले ईभीका लागि अम्ब्रेला पोलिसी बनाएपछि मात्रै गाडी बिक्री गर्न थालिन्छ । तर हाम्रोमा त्यसको ठिक उल्टो छ पहिले गाडी ल्याउन दिने अनि विस्तारै नीतिगत विषमा अध्यायन गर्न थाल्ने ।
नीतिकै कुरा गर्नुपर्दा २/४ वर्षमै धेरैपटक कर चलाइएको छ । यसले पनि यो क्षेत्रलाई अस्थिर बनाएको छ । सरकालाई राजस्व पनि चाहिन्छ तर यसो भन्दैमा अस्थिर नीतिको भुमरीमा पार्नु हुँदैन । ईभीलाई अघि बढाउने सन्दर्भमा राज्यले विज्ञ समुहसँग वसेर एउटा दिगो अम्ब्रेला पोलिसी बनाउनु आवश्यक छ । जसले उपभोक्ता, व्यवसायी र सरकार तीनवटै पक्षलाई ढुक्क भएर ईभीमा अघि बढ्ना प्रेरणा मिलोस् ।
आयातमा कर छुट दिएर ईभी प्रमोसनमा राज्यले काम गरिरहेकै छ । यो पर्याप्त भएन भन्न खोज्नु भएको हो ?
आयातमा कर छुट दिएर ईभीलाई सपोर्ट गर्ने नीति सरकारले लिएपनि यो पर्याप्त छैन । अहिलेको नीतिले सबैभन्दा ठूलो लाभ प्यासेन्जर कारमा भैरहेको छ । जबकी, राज्यको प्राथमिकतामा कमर्सियल र कार्गो ईभी पर्नुपथ्र्यो । नेपालमा आयात हुने गाडीमा ८० प्रतिशत हिस्सा कारको र वाँकी कमर्सियलको भएबाट नै यसमा राज्यले जोड दिन नसकेको प्रष्ट हुन्छ ।
नेपालमा कमर्सियल ईभीले बजार लिन नसक्नुका पछाडि भन्सार महशुलमा गरिएको बिभेदकारी नियमलाई प्रमुख मान्न सकिन्छ । पेट्रोलियम कार र इलेक्ट्रिक कार आयात गर्दा लाग्ने भन्सारमा ठूलो अन्तर भएपनि कमर्सियलको हकमा यस्तो अन्तर एकदमै न्यून छ । जसका कारण प्यासेन्जर कारको तुलनामा कमर्सियल ईभी निकै महंगो छ । पेट्रोलियम र ईभी कारमा करको अन्तर निकै ठूलो भएका कारण यो सेग्मेन्टमा ईभीले बजार लिन सकेको हो ।
अर्को समस्या जव कमर्सियल सेग्मेन्टमा ईभीले बजार लिन थाल्यो, त्यसपछि सरकारले १ प्रतिशत मात्र लाग्दै आएको भन्सारलाई बढाएर एकैपटक १५ प्रतिशत पु-याई दियो । भन्सारको अतिरिक्त ५ प्रतिशत अन्तःशुल्क, ५ प्रतिशत रोड डेभ्लपमेन्ट ट्याक्स र १३ प्रतिशत भ्याट गरेर ४० प्रतिशत भन्दा बढी कर तिर्नपर्छ । कर बढी भएका कारण कमर्सियल ईभीको मूल्य प्यासेन्जर कारको तुलनमा निकै उच्च छ ।
वसको कुरा गर्नुपर्दा ईभी वस आयात गर्दा जम्मा १ प्रतिशतमात्रै भन्सार लागेपनि त्यसको ब्याट्री मगाउँदा भने ४० प्रतिशतभन्दा बढी कर तिर्नुपर्छ । जसले गर्दा ब्याट्रीको लागतलाई महंगो बनाएको छ । पार्ट्स मगाउँदा छुट छैन । जसका कारण पनि ईभी प्रयोगकर्तामा अझैपनि कन्फिडेन्स बढ्न सकेको छैन ।
ईभीको दीर्घकालीन विकासमा सरकार कत्तिको संवेदनशील पाउनुहुन्छ ?
राजस्वले नै देशको अर्थतन्त्र चल्ने हुँदा उनीहरु कसरी हुन्छ राजस्व उठाउनु पर्छ भन्नेमै बढी केन्द्रित छन् । ईभीलाई प्रमोट गर्दा यसबाट आउने राजस्व भन्दा पनि पेट्रोलियम पदार्थमार्फत उठ्दै आएको ठूलो राजस्व गुम्ने पो हो कि भन्ने चिन्ता सरकारी निकायमा देखिन्छ । यस्तै भयका कारण पनि कमर्सियल ईभीमा सरकार उदार बन्न नसकेको हो कि भन्ने शंका उब्जिएको छ । पेट्रोलियम पदार्थको खपत प्यासेन्जर कारको तुलनामा कमर्सियल र कार्गो गाडीले धेरै गर्ने हुँदा यसको आयात नघटाउन पनि सरकारले कतै ईभीमा कमर्सियललाई प्रमोट गर्न नचाहेको हो की भनेर शंका समेत गर्न सकिन्छ ।
बातावरण र अर्थतन्त्रको विकासलाई दिगो रुपमा हेर्ने हो भने सरकारले तत्कालै कमर्सियल र कार्गो ईभीको प्रबद्र्धनमा दिल खोलेर सहयोग गर्नु आवश्यक छ । यसो गर्दा हाम्रो आफ्नै स्रोत विद्युतको खपत समेत बढ्छ भने पेट्रोलियम पदार्थको आयातमा खर्च हुने ठूलो धनराशी समेत जोगिन्छ । तर यसतर्फ सरकारले खासै ध्यान दिन सकेको छैन ।
नेपालको भू–बनोट र सडक पूर्बाधारलाई हेर्दा तत्कालै कमर्सियल तथा कार्गो ईभीमा गईहाल्न सकिने अवस्था देखिन्छ र ?
तत्कालै नेपालभरी ईभी बनाउँछु भनेर सम्भब नभएपनि यो सेग्मेन्टमा हामी जानसक्ने सम्भावनाहरु धेरै छन् । सबैभन्दा बढी सवारीसाधन चल्ने प्रमुख सहर र प्रमुख भन्सार नाका तथा व्यस्त राजमार्गमा चलाउन सकिन्छ । सवारी साधनको ८० प्रतिशत मुभमेन्ट यही भेगमा हुने कारण पूर्बाधार बनाउँदै योजनाबद्ध रुपमा कमर्सियल र कार्गो ईभी चलाउन सकिन्छ ।
ईभीको प्रयोग बढ्दै जाँदा यसको मर्मतसम्भार गर्ने टेक्निसियन र जनशक्ति उत्पादनका विषयमा तपाईकोे बुझाई के छ ?
हामीले ब्यवसाय थाल्दा नेपालमा ईभीका इन्जिनियर नै थिएनन् । हामीले चीनबाटै इन्जिनियर ल्याएर पनि काम ग-यौ । तर अहिले नेपालमै जनशक्ति उत्पादन हुन थालिसकेको छ । ईभी मर्मतमा आवश्यक जनशक्ति उत्पादनमा हामीले ठूलो योगदान गरेका छौ । आजका दिनमा धेरैजसो गाडी आयातकर्ता कम्पनीमा हामीले उत्पादन गरेका टेक्निसियनले काम गरिरहेका छन् । यसमा हामीलाई धेरै खुसी पनि लाग्छ । अर्को कुरा पेट्रोलियम गाडीमा जस्तो ईभीमा धेरै समस्या नआउने हुँदा पनि यसमा खासै धेरै इन्जिनियर र टेक्निसियनको टिम आवश्यक पर्दैन ।
हामीले चीनबाटै इन्जिनियर ल्याएर पनि काम ग-यौ । तर अहिले नेपालमै जनशक्ति उत्पादन हुन थालिसकेको छ । ईभी मर्मतमा आवश्यक जनशक्ति उत्पादनमा हामीले ठूलो योगदान गरेका छौ । आजका दिनमा धेरैजसो गाडी आयातकर्ता कम्पनीमा हामीले उत्पादन गरेका टेक्निसियनले काम गरिरहेका छन् । यसमा हामीलाई धेरै खुसी पनि लाग्छ ।
युनिभर्सिटीहरुसँग सहकार्य गरेर जनशक्ति उत्पादन गरी स्वदेशमै खपत गर्ने र विदेश पठाउने सम्मका तयारीहरु गर्न सकिन्छ । अहिले ईभीमा काम गर्ने जनशक्तिको अभाव विश्वभरी नै देखिएका कारण यसमा हामीले ठूलो लाभ उठाउन सक्छौ । चीनबाट अंग्रेजी बोल्नसक्ने ईभी इन्जिनियरको माग हुँदै आएको छ । हामीले केही इन्जिनियरलाई पठाएका समेत छौ । यसमा पनि सरकारले स्पष्ट नीति बनाउनुपर्छ ।
चार्जिङ पूर्बाधारमा नयाँ अभ्यास स्वरुप ई–स्टपको अवधारणा ल्याउनु भएको छ, यसबारे पनि बताइदिनुस् न ?
दीगो सस्टेनेबिलिटीमा आधारित भएर काम गर्ने कम्पनी हो । हाम्रो मुल मन्त्र नै सस्टेनेबिलिटी र इनोभेसन भएका कारण पनि केही न केही नयाँ गर्नुपर्छ भन्नेमै केन्द्रित हुन्छौ ।
ईभीको प्रयोग बढ्दै गएपछि चर्जिङ पूर्बाधारलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भनेर अध्ययन गर्दै जाँदा ई–स्टपको अवधारणा आएको हो । कमर्सियल ईभीको व्यापारमा केन्द्रित हुन थालेपछि हामीले यसको चार्जिङ पूर्बाधारमा नयाँ इनोभेसन गर्नुपर्छ भनेर ई–स्टपको अवधारणामा अघि बढेका हौं । । यो हाम्रो पहिलेकै योजना भएपनि विबिध कारणले अझै ढिलो भयो ।
चर्जिङलाई व्यवस्थित बनाउन र सबै ब्रान्डको पहुँच पु-याउन हामीले यो अवधारणा अघि बढाएका हौं । अहिले बजारमा अधिकांश कम्पनीले आफ्नो चार्जिङ पूर्बाधारलाई अन्य ब्रान्डमा पहुँच दिँदैनन् । तर हाम्रोमात्र यस्तो कम्पनी हो, जसले सबै ब्रान्डका गाडीलाई चार्ज गर्ने सुबिधा दिन्छ । ब्रान्ड पिच्छे चार्जिङ स्टेशन बनाउँदा यसले यो क्षेत्रलाई भद्रगोल त बनाउँछ नै अनाबश्यक बढी लगानी समेत बृद्धि गर्छ । यिनै विषयलाई मध्यजनर गरी हामीले हाइवेमा फराकिलो पूर्बाधार सहित एकैपटक धेरै गाडीले चार्जिङ गर्न मिल्ने स्टेशन बनाएका हौँ । हाम्रो ई–स्टपमा ग्राहकले गाडी चार्जिङको सुबिधासँगै खाना र नास्ताको सुबिधा समेत पाउँछन् । ई–स्टप सहित देशभर हाम्रो ४० वटा चार्जिङ स्टेशन छ । ती सबै स्टेशनबाट अन्य ब्रान्डका गाडीले समेत चार्जिङ सुबिधा लिन सक्छन् ।
ईभी बजारमा पछिल्लो समय स्थापित घरानाको प्रवेश निकै बढेको छ, यसले तपाई जस्ता स्टार्टअप कम्पनीलाई काम गर्न कत्तिको सहज देखिन्छ ?
स्वस्थ प्रतिस्पर्धा गर्नेगरी जोकोही आएपनि खासै फरक पर्दैन । तर, जसरी भएपनि आफ्नो मात्रै बर्चस्व बढाउनुपर्छ भन्ने मान्यता बोकेर यदि कुनै घराना अर्थात व्यावसायी आउँछन् भने यसले इन्डस्ट्रिलाई राम्रो गर्दैन । राज्य संयन्त्रदेखि सबै क्षेत्रलाई प्रभावमा पारेर यदि कसैको गति रोक्ने कोशिस हुन्छ भने यसले राम्रो सन्देश जाँदैन । ईभीको बजार निकै ठूलो र यसको दायरा समेत फराकिलो भएका कारण कोही नयाँ आउँदैमा आत्तिहाल्नु पर्छ जस्तो मलाई लाग्दैन । तर, जो आएपनि यो क्षेत्रको विस्तार र विकासमा चिन्तित भएर काम गर्नुपर्छ ।
दिगोले सुरुमा ल्याएको साना कारको आयात अहिले बन्दा अवस्थामा छ, ती गाडीमा बिक्री पछिको सेवा कसरी दिइरहनु भएको छ ?
बाइक आयात चढ्ने नेपालीलाई गाडीमा स्थानान्तरण गर्नुपर्छ भन्ने उद्देश्य राखेर हामीले सानो र सस्तो मूल्यका कार आयात थालेका थियौँ । तर पछि चीन सरकारको नीतिमै परिवर्तन आएपछि यस्ता गाडी उत्पादन हुन नै बन्द भयो । जसले गर्दा हामीपनि पछि हट्न बाध्य भयौं ।
अर्कोतर्फ, जव हाम्रो फोकस कमर्सियल ईभीमा बढ्न थाल्यो त्यसपछि प्यासेन्जर कारको आयात बन्द गरेका हौँ । कमर्सियल ईभीमा एकप्रकारको क्रान्ति नै ल्याउन सकिन्छ भनेर हामीले प्यासेन्जर कारको व्यापारमा रुचि नदेखाएका हौँ । यदि यो सेग्मेन्टमा हाम्रो रुचि हुँदो हो त, हामीले चीनबाट चाहेको ब्रान्डलाई छानीछानी आयात गर्न पनि सक्थ्यौ । तर हाम्रो प्राथमिकता नै फेरिएका कारण कमर्सियल ईभीमा केन्द्रित भयौँ ।
जहाँसम्म यसअघि बिक्री भएका कारमा बिक्रीपछिको सेवा कसरी दिंदै आउनुभएको छ भन्ने सवाल छ, यसमा हामीलाई कुनै समस्या छैन । हामीले अहिले कारको आयात मात्रै बन्द गरेका हौँ । त्यसबाहेक हामीसँग सर्भिस सेन्टर र स्पेयर पार्ट्सको स्टक पर्याप्त छ । जसले गर्दा ग्राहकलाई कुनै समस्या परेको छैन ।
ईभी प्रयोगकर्तामा अझैपनि ब्याट्री रिप्लेसमेन्ट र रिसेल भ्यालुलाई लिएर एकप्रकारको अन्योलता देखिन्छ , यस विषयमा के भन्नुहुन्छ ?
यस विषयमा धेरै अन्योलता म कार किन्नेहरुमा देख्छु । कमर्सियल चलाउनेमा एकप्रकारको बुझाई बनिसकेको छ । कार चलाउने उपभोक्ताले त झन यस विषयमा चिन्ता नै लिनुपर्दैन भन्छु ।
हामीकहाँ वारेन्टी सकिएपछि ब्याट्रीको आयु नै सकिन्छ भन्ने बुझाई छ । तर यो गलत हो । एउटा सामान्य मोबाइलमा प्रयोग हुने ब्याट्रीको त वारेन्टी अवधि सकिएपछि पनि वर्षौसम्म चलाउन सकिन्छ भने ईभीमा प्रयोग हुने ब्याट्रीको वारेन्टी सकिने वित्तिकै यो काम नलाग्ने हुन्छ भन्नु गलत बुझाई हो । ब्याट्रीको आफ्नै लाइफ साइकल हुन्छ र उक्त लाइफ साइकल सकिएपछि पनि यसले काम गर्छ, तर रेन्ज भने केही कम हुनसक्छ । तर लाइफ साइकल सकिने वित्तिकै ब्याट्री फेरिहाल्नुपर्छ भन्ने होइन । अर्कोतर्फ ब्याट्रीको पनि ढिक्कै नफेरेर कमजोर सेललाई मात्रै पनि परिवर्तन गर्न सकिन्छ । जुन सेवा हामीले नेपालमा सुरु समेत गरिसकेका छौ ।
काठमाडौं – याडिया इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक कुजु...
काठमाडौं – एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...
वर्ष २०८० अब हामीबाट विदा हुँदैछ । यो वर्ष नेपाली अटोमोबाइल बजारमा विभिन्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...