नेपाली बजारमा हालसालै ४ नयाँ ब्रान्डका सवारीसाधन भित्रिएका छन् । ती मध्ये २ वटा बाइक र २ वटा कार ब्रान्ड हुन् । विषम परिस्थितका बावजुद नेपाल भित्रिन सफल यी ४ नयाँ ब्रान्डको उपस्थितिले कोरोना महामारीबाट शिथिल बनेको अटो बजारमा केही आशा जगाएको छ ।
यी ४ नयाँ ब्रान्ड मध्ये हस्कभर्ना बाइक औपचारिक रुपमा भित्रिसकेको छ भने जावा, बीएमडब्लु र बगबार्डका सवारीसाधन नेपाल आइसके पनि औपचारिक घोषणा भने हुन बाँकी नै छ ।
असोज ५ गते एक कार्यक्रमको आयोजना गरी हंसराज हुलासचन्द एन्ड कम्पनीले अनलाइनमार्फत स्विडिस ब्रान्ड हस्कभर्नाको २ नयाँ मोडल सार्बजनिक ग-यो । हस्कभर्ना ट्विन्स अर्थात भिटपिलेन २५० र स्भार्टपिलेन २५० लन्च गरिएको हो ।
बजाज र केटीएम ब्रान्डको समेत कारोबार गर्दै आइरहेको यो कम्पनीले हाल सञ्चालनमा रहेको केटीएम शोरुमबाट नै हस्कभर्नाको समेत बिक्री गर्ने बताएको छ । केटीएम र हस्कभर्ना बजाज अटो अन्तर्गतकै ब्रान्ड हुन् । भारतमा यी दुई ब्रान्डको उत्पादन समेत बजाजको प्लान्टबाटै भइरहेको छ ।
हस्कभर्ना पछि अर्को लिजेन्ड ब्रान्ड जावाको समेत २ नयाँ मोडल नेपाल आइपुगेको छ । भलै यो ब्रान्डको औपचारिक बिक्री भने हुन बाँकी नै छ । अहिले टेकु र उत्तरढोकामा शोरुम निर्माणको काम धमाधम भइरहेको छ । भारतीय अटो कम्पनी महिन्द्राले चेक ब्रान्ड जावाको स्वामित्व किनेर भारतमा यसको उत्पादन गर्दै आएको छ । नेपालमा महिन्द्राको प्यासेन्जर कार बिक्री गर्दै आएको अग्नि ग्रुप अन्तर्गतको अग्नि मोटो इंक प्रालिले यसको कारोबार गर्नेछ ।
त्यसैगरी विश्व चर्चित फोर ह्विलर बीएमडब्लु ब्रान्डका नयाँ एसयूभी समेत नेपाल भित्रिएका छन् । हुन्डाई गाडीको आधिकारिक बिक्रेता समेत रहेको लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी प्रिमियमले तीनकुने स्थित शोरुममा नयाँ गाडी प्रदर्शन गरिएको छ । यो ब्रान्डको पनि नेपालमा औपचारिक बिक्री हुन बाँकी नै छ ।
पछिल्लो समय भित्रिएको अर्को नयाँ ब्रान्ड हो बगवार्ड । जर्मन ब्रान्ड बगवार्डको स्वमित्व चिनियाँ कम्पनीले खरिद गरेपछि हाल यसको उत्पादन मलेसियास्थित प्लान्टबाट हुँदै आएको छ । नेपाली बजारमा भित्रिएको बगवार्ड बीएक्स ५ एसयूभी समेत मलेसियाबाटै आयात गरिएको हो । यसलाई नेपालका पुराना अटोमोबाइल व्यवसायी देवस्वरुप महर्जनको पहलमा डीएसएम ग्लोबल नेपालले पहिलोपटक भित्र्याएको हो ।
कस्तो रहला यी ब्रान्डको भविष्य
नेपाल भित्रिएका यी ४ नयाँ ब्रान्ड विश्व बजारमा समेत कहलिएका नाम हुन् । विश्व बजारमा नै प्रिमियम र महंगो सवारीसाधन उत्पादन गर्ने भनी चिनिदै आएको बीएमडब्लु नेपालका लागि हालसम्मकै प्रिमियम ब्रान्ड हो । नेपालमा यो गाडीको लक्षित ग्राहक कम भए पनि स्ट्याटस सिम्बोललाई प्राथमिकता दिने व्यवसायी, उद्योगपति र विदेशी कुटनीतिक नियोगमा कार्यरत उच्च तहका कर्मचारीले यसलाई प्रयोग गर्ने सम्भावना उच्च छ ।
त्यसैगरी पुरानो इतिहास बोकेको जर्मन ब्रान्ड बगवार्डका एसयूभीका बारेमा उपभोक्ताहरु खासै जानकार नभए पनि यो ब्रान्डको महत्व र बिशेषता बुझेकाहरुले यसलाई खरिद गर्न सक्नेछन् । गाडीको पावर, पर्फमेन्स र फिचर्सको तुलनामा केही सस्तो मूल्यमा भित्रिएको यो ब्रान्डलाई प्रवद्र्धन गर्न आयातकर्ता कम्पनीले शुरुको १/२ वर्ष निकै ठूलो कसरत गर्नुपर्ने देखिन्छ ।
नेपाल भित्रिएका २ नयाँ टु ह्विलर ब्रान्डका विषयमा कुरा गर्नुपर्दा जावा निकै नै पुरानो र एक समय सर्बाधिक चर्चामा रहन सफल एक लिजेन्ड ब्रान्ड हो । क्रुजर सेग्मेन्ट अन्तर्गत २ नयाँ मोडललाई एकसाथ बजारमा उतारेर रोयल इन्फिल्ड जस्तो स्थापित ब्रान्डलाई टक्कर दिन अन्य देशमा यो ब्रान्ड सफल भइरहेको छ । यो सेग्मेन्टमा इन्डस्ट्रिकै बजारहिस्सा बढ्दै गएका कारण जावाको नेपाली बजार सुरक्षित नै रहने अनुमान लगाउन सकिन्छ ।
अर्को नयाँ टु ह्विलर हस्कभर्ना प्रिमियम ब्रान्डको पहिचान बनाउन सफल स्विडिस ब्रान्ड हो ।
भारतमा यसको उत्पादन बजाज अटो मातहतमा भइरहेको छ । भारत र यस आसपास क्षेत्रलाई मध्यनजर गर्दै २ नयाँ मोडलका भिन्टेज क्लासिक लुक्सका बाइक उत्पादन गर्दै आएको छ । यी दुई बाइकको नेपाली बजार कस्तो रहला भन्ने विषयमा कम्पनीले तय गर्ने आगामी रणनीतिमा निर्भर पर्ने देखिन्छ । यो ब्रान्ड आम नेपाली उपभोक्ता माझ खासै परिचित नभएको हुँदा बजार लिन समेत कम्पनीले केही समय कुर्नुपर्ने हुनसक्छ ।