चीनसँगको नाकामा अवरोधले २४ प्रतिशत घट्यो ईभी आयात, अटो शोहरूमा प्रदर्शन र डेलिभरीमा समस्या हुने संकेत

चीनसँगको तातोपानी र रसुवागढी नाका महिनौंदेखि अवरुद्ध हुँदा नेपालमा विद्युतीय सवारीसाधन (ईभी)को आयातमा उल्लेख्य गिरावट आएको छ। सीमावर्ती अवरोधका कारण नयाँ मोडल सार्वजनिक गर्ने व्यवसायीहरूको योजना प्रभावित भएको छ भने अटो शोहरूमा समेत सवारी साधन प्रदर्शन र डेलिभरीमा समस्या देखिएको छ।

आयातमा गिरावट आएसँगै यसै महिना हुने दुई ठूला अटोमोबाइल प्रदर्शनीअघि नयाँ मोडलहरू सार्वजनिक गर्ने व्यावसायीहरूको योजना समेत चुनौतीपूर्ण बनेको छ । नेपालमा गत आर्थिक वर्षमा ईभी आयात २४.०३ प्रतिशतले घटेको भन्सार विभागको तथ्यांक छ । गत आर्थिक वर्षभर यात्री बस, माइक्रोबस र निजी सवारी साधनसहित चारपांग्रे सवारी साधनको समग्र आयात १९.०७ प्रतिशतले घटेको विभागले जनाएको छ ।

नेपालले गत आर्थिक वर्षमा ४० अर्ब ४४ करोड रुपैयाँ बराबरका १७ हजार ६८८ युनिट चारपांग्रे सवारी आयात गरेको थियो । त्यसमध्ये ३१ अर्ब ३२ करोड रुपैयाँ मूल्यका १३ हजार ४ युनिट ईभी थिए । चीन सीमामा अवरोध जारी रहेकै बेला आपूर्तिमा समस्या हुँदा २५ साउनदेखि सुरु हुने नाइमा मोबिलिटी एक्स्पो र ९ भदौदेखि सुरु हुने नाडा अटो शो २०२६ मा आयातकर्ताहरूले तोकिएको समयमा नयाँ मोडलहरू सार्वजनिक गर्न नसक्ने चिन्ता बढाएको छ ।

चीन सीमाको अवरोधका कारण इभी आयात गर्न नसकेको नेपालमा बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले बताइन् । ‘गत आर्थिक वर्ष हामीले ४ सयदेखि ५ सय युनिट ईभी आयात गर्ने योजना बनाएका थियौं,’ उनले भनिन्, ‘चीन सीमामा आएको अवरोधका कारण आयात गर्न सकेनौं ।’

पछिल्ला वर्षहरूमा मुलुकको उत्तरी नाकाहरूबाट हुने व्यापारमा पटकपटक अवरोध भइरहेको छ । २४ असार २०८२ मा ल्हेन्दे खोलामा आएको बाढीले चीनसँगको नेपालको प्रमुख व्यापारिक नाकामध्ये केरुङस्थित मितेरी पुल बगाएको थियो । त्यहाँ अस्थायी पुल निर्माण गर्न चीनलाई करिब ६ महिना लागेको थियो । नेपालको रसुवागढी भन्सार विन्दु केरुङबाट करिब २४ किलोमिटर दक्षिणमा पर्छ । यस्तै सिन्धुपाल्चोकको तातोपानी सीमा नाका पनि गत वर्ष ठूलो पहिरो आएका कारण बाटो अवरुद्ध हुँदा करिब ३ महिना बन्द भएको थियो ।

‘चाडपर्वको बेलासहित गत आर्थिक वर्षमा उत्तरी सीमा नाकाहरू चारदेखि पाँच महिना अवरुद्ध रहे । त्यो व्यावसायीका लागि आफैंमा ठूलो घाटा थियो,’ श्रेष्ठले भनिन्, ‘हामीले केही ईभी (सीपमेन्ट) कोरला नाकाबाट ल्याउने व्यवस्था गरे पनि त्यहाँबाट आयात कठिन थियो । ‘व्यापारिक मार्गहरू अवरुद्ध हुँदा सरकारलाई थप तदारुकताका साथ काम गर्न समेत उनले आग्रह गरिन् ।

‘यस्ता अवरोधहरू हुँदा सरकारले सहज व्यापार सुनिश्चित गर्नुपर्छ । यो ईभी आयात गर्नेबारे मात्र नभई सबै वस्तुहरूको विषय हो,’ उनले भनिन्, ‘सरकारले प्रमुख व्यापारिक मार्गहरूलाई प्राथमिकता दिइनुपर्छ । किनकि हामीले ग्राहकसँग गरेको प्रतिबद्धताअनुसार समयमै ईभी डेलिभरी गर्न सकेका छैनौं ।’

अघिल्लो आर्थिक वर्षको बजेटअघि नै ठूलो परिमाणमा ईभी भण्डारण (स्टक) गरिएकाले पनि गत वर्ष आयातमा गिरावट आएको प्रिमियम ईभी ब्रान्ड म्याक्ससको आधिकारिक वितरक हिमालयन मोट्रक्सका अध्यक्ष ध्रुव थापा बताउँछन् । ‘गत वर्ष बजेटमा ईभीको भन्सार दर बढ्ने हल्लाका कारण धेरैजसो ईभी आयातकर्ताले बजेटअघि नै सामान्यभन्दा २० देखि २५ प्रतिशतभन्दा बढी सवारी साधन आयात गरेका थिए,’ उनले भने, ‘त्यसले चारदेखि पाँच महिनाको माग धान्यो, जसका कारण गत आर्थिक वर्षमा आयातमा सामान्य गिरावट आएको हो ।’

रसुवागढी र तातोपानी सीमा नाका लामो समयसम्म बन्द हुँदा समेत गत वर्षको दसैं र तिहारलगायत चाडपर्वमा सवारी साधनका नयाँ मोडलहरू भित्र्याउन गाह्रो भएको थापाले बताए ।

आपूर्ति अवरोधले गर्दा गत वर्षको नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाईमा) र नेपाल अटोमोबाइल डिलर्स एसोसिएसन (नाडा) अटो शोमा प्रदर्शन गरिएका नयाँ मोडलका सवारी समेत डिलरहरूले ग्राहकलाई उपलब्ध गराउन सकेनन् । उनीहरूले यदि तातोपानी नाका बन्द नै रह्‌यो भने यस वर्षका प्रदर्शनीहरूले पनि उस्तै धक्का व्यहोर्नुपर्ने चेतावनी दिएका छन् ।

‘अटो शोमा नयाँ म्याक्सस मोडल सार्वजनिक गर्ने मेरो पनि योजना छ तर पहिरोका कारण ती सवारी तातोपानीमै अड्किएको छ,’ उनले भने, ‘आयात गरिएको सवारीको उक्त लटलाई केरुङतर्फ मोड्दा कागजात र यातायातको झन्झटसँगै समय र लागत दुवै बढ्छ ।’

यदि कोरला नाकातर्फ सवारीहरू मोड्ने प्रयास गर्यौं भने पनि म्याक्सस फ्याक्ट्रीबाट त्यो सीमाको दूरी धेरै लामो रहेकाले अव्यावहारिक हुने उनको भनाइ छ । दुई साताभन्दा बढी समयदेखि १२ देखि १३ वटा म्याक्सस ईभी तातोपानीमा थन्किएको थापाले बताए । हिमालयन मोट्रक्सले गत वर्ष ३० युनिट म्याक्सस ईभी आयात गरेकामा वर्षभरिमा करिब २५ युनिट बिक्री गरेको थियो ।

थापाले गत आर्थिक वर्षसम्म लक्जरी ईभीको माग बढिरहेको बताए पनि चालू आर्थिक वर्षको बजेटमा ल्याइएको उच्च भन्सार महसुलले मूल्य तीव्र रूपमा बढाएको छ भने प्रिमियम मोडलहरूलाई कम पहुँचयोग्य बनाएको छ ।

जस्तै, म्याक्सस मिफा ७ को मूल्य चालू आर्थिक वर्षमा १ करोड २ लाख ५० हजार ( १०.२५ मिलियन) रुपैयाँबाट बढेर २ करोड ४ लाख ५० हजार (२०.४५ मिलियन) रुपैयाँ पुगेको छ । कम्पनीले चालु आर्थिक वर्षमा करिब सय युनिट म्याक्सस इलेक्ट्रिक पिकअप ट्रक बिक्री गर्ने लक्ष्य राखेको छ । एउटा म्याक्सस पिकअपको मूल्य ८८ लाख (८.८ मिलियन) रुपैयाँ तोकिएको छ।

नेपाली ईभी बजारमा चिनियाँ ब्रान्डहरूको वर्चस्व कायम नै छ । गत आर्थिक वर्ष ईभी आयातमा खर्च भएको ३१ अर्ब ३२ करोड रुपैयाँमध्ये २३ अर्ब ५५ करोड रुपैयाँ चीनमा गएको थियो । त्यसमा भारतको हिस्सा ५ अर्ब २२ करोड रुपैयाँ थियो भने थाइल्यान्ड, बेलायत, जर्मनी, दक्षिण कोरिया, अमेरिका र अस्ट्रियाबाट भएको आयात २ अर्ब ६० करोड रुपैयाँ छ । नेपालले ९ हजार ६४० युनिट चीनबाट, २ हजार ५०७ युनिट भारतबाट र ८६० युनिट ईभी अन्य देशबाट आयात गरेको छ ।

अटो शोमा नयाँ मोडलहरू परिचय गराउने योजना बनाए पनि धेरै सवारी साधन नाकामै रोकिएको इलेक्ट्रिक भेहिकल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एसोसिएसन अफ नेपालका अध्यक्ष श्याम सापकोटा बताउँछन् । ‘तातोपानी नाकातर्फको सडक अवस्था खराब छ भने रसुवागढी नाकामा भन्सार जाँचपास हुन धेरै समय लाग्छ,’ सापकोटाले भने, चालू आर्थिक वर्षको सुरुवातदेखि कागजी प्रक्रिया झन् कडाई गरेको छ ।’ नेपालमा अहिले विद्युतीय कार, जिप, भ्यान र माइक्रोबससहित करिब ६० वटा ईभी ब्रान्डहरू उपलब्ध रहेको उनले बताए ।

‘बजारमा यति धेरै ब्रान्डहरू भएकाले प्रतिस्पर्धा तीव्र छ भने छनोटको फराकिलो दायराका कारण ग्राहकहरू पनि अन्योलमा परिरहेका छन्,’ सापकोटाले भने । आपूर्ति व्यवस्थापनका चुनौतीहरूका बाबजुद ईभीका लागि उपभोक्ताको माग बलियो रहेको डिलरहरू बताउँछन् ।

यद्यपि, नयाँ कर नीतिपछि पहिले ४० लाख देखि ५० लाख रुपैयाँ मूल्यका सवारी साधन खोज्ने ग्राहकहरू अब ४० लाख रुपैयाँभन्दा कम मूल्यका सवारीतर्फ मोडिएका छन् । ५० लाख रुपैयाँभन्दा माथिका प्रिमियम ईभीको माग कमजोर भएको छ भने कम मूल्यको सेगमेन्टमा प्रतिस्पर्धा तीव्र रुपमा बढेको छ ।

पूर्वाधार विकास मन्त्रालयद्वारा जारी राष्ट्रिय यातायात नीति २०८३ अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा नेपालमा ६३ हजा २ सय ८० युनिट ईभी दर्ता भएका छन् । ईभीले वर्षभरि देशमा आयात गरिएका कुल यात्रुवाहक सवारीको ७० प्रतिशतभन्दा बढी हिस्सा ओगटेको नीतिमा उल्लेख छ ।

नेपालले गत आर्थिक वर्षमा ३० अर्ब ३५ करोड रुपैयाँ बराबरका २ लाख २७ हजार ८३४ युनिट अनएसेम्बल मोटरसाइकल र २ अर्ब ७२ करोड रुपैयाँ बराबरका २२ हजार ८२० युनिट एसेम्बल मोटरसाइकल आयात गरेको विभागको तथ्यांक छ । विद्युतीय दुईपांग्रे सवारीले पनि बिस्तारै बजार लिइरहेका छन् । गत वर्ष २ अर्ब ९९ करोड रुपैयाँ बराबरको २७ हजार १८३ थान पुगेको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...