इलेक्ट्रिक सवारी साधनको सर्भिसिङ कसरी गरिन्छ ? इन्जिन र जटिल पार्ट्स नभए पनि के मा हुन्छ खर्च ?
इलेक्ट्रिक सवारी साधन अर्थात ईभीले प्रदूषण कम गर्ने र सर्भिसिङको लागि पनि...
नेपाल सरकारले हालै एक निर्णय गरेर युरो ३ का सवारी साधनहरु केही समय आयात गर्न दिने निर्णय गरेको छ । यस अनुसार आगामी मंसिर १५ सम्म पूर्ववत मापदण्ड अनुसार सवारी आयात गर्न सकिने उल्लेख छ ।
अर्थ मन्त्रालयले गरेको यो निर्णयका कारण नेपालमा भित्रिनका लागि तयार भएका, तर आवश्यक प्रक्रिया पुरा नभएका कारण त्यत्तिकै रोकिएका सवारी साधनहरु नेपाल भित्रिन पाउने छन् । यसका कारण विशेष गरी पहिले नै अर्डर भइसकेका कारण अब ती सवारी के गर्ने भन्ने विलखबन्दमा परेका आयातकर्ता कम्पनीहरुलाई फाइदा हुनेछ । यो समग्र व्यवसायी र उपभोक्ताकै हितमा हुनेछ ।
यो भन्दा पहिले नै सरकारले यस्ता सवारी ल्याउन नपाउने नियम लागु गर्ने निर्णय गरिसकेको थियो । सरकारले २०८२ असार ९ गते राजपत्रमा प्रकाशित गर्दै नेपाल सवारी मापदण्ड, २०८२ लागु गरेको थियो । सो मापदण्ड लागु भएसँगै चारपांग्रे सवारी साधनमा युरो ६ र दुईपांग्रे सवारी साधनमा युरो ५ लागु भएको थियो ।
तर व्यवसायीहरुको सहमति विनै अचानक यो व्यवस्था लागु गरिएको भनेर उनीहरुले यो नियम केही समयका लागि स्थगन गर्न पहिले देखि नै अनुरोध गर्दै आएका थिए । अटोमोबाइल व्यवसायीहरुको संगठन नाडा र नाइमाले संगठित रुपमै यो आवाज उठाएका थिए । गत भदौमा सम्पन्न नाइमा मोबिलिटी एक्सपो र नाडा अटो शो २०२५ को उदघाटन समारोहमा समेत तत्कालीन मन्त्रीकै उपस्थितिमा उनीहरुले केही समयका लागि पहिले अर्डर गरिएका गाडी नै ल्याउन दिन आग्रह समेत गरेका थिए । यसकारण अहिलेको निर्णय पहिलेकै तयारी अनुसार नै गरिएको मान्न सकिन्छ ।
नेपालमा विशेष गरी व्यावसायिक चारपांग्रे सवारी साधनहरु भारतबाट भित्रिन्छन् । भारतमा मार्चको अन्त्य देखि नै आर्थिक वर्ष समापन हुन्छ । नयाँ आर्थिक वर्षका लागि आवश्यक गाडीहरु अप्रिल देखि नै अर्डर हुने गर्छ । यसरी गाडी अर्डर गरे पश्चात मात्र नयाँ नियम लागु भएको कारण नै केही समयका लागि नयाँ नियम लागु गर्ने समय पछि सार्न व्यवसायीहरुले अनुरोध गर्दै आएको बताइन्छ । अहिलेको सरकारी निर्णय त्यही अनुरोधको व्यावहारिक रुप भएको व्यवसायीहरु बताउछन् ।
खासगरी चारपांग्रे निजी गाडीहरुमा युरो ६ को समस्या धेरै नहुने देखिन्छ । तर व्यावसायिक गाडीहरुमा भने तत्काल नयाँ नियम लागु हुँदा विभिन्न कठिनाई आउने व्यवसायीहरुको भनाइ छ ।
के हुन्छ युरो ६ मा ?
युरो ६ का गाडीहरु तुलनात्मक रुपमा कम प्रदूषणयुक्त हुन्छन् । बिक्री गरिने कुनै पनि नयाँ गाडीले निकाल्ने प्रदूषणको स्तरलाई युरो स्ट्यान्डर्ड वा युरोपियन इमिसन स्ट्यान्डर्ड भनिन्छ । युरोपियन युनियनले लागू गरेको सो स्ट्यान्डर्ड सवारी साधनले निकाल्ने नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड, टोटल हाइड्रोकार्बन (टीएचसी), नन–मिथेन हाइड्रोकार्बन र पार्टिक्युलेट म्याटर (पीएम) मा आधारित हुन्छ । सवारी साधन अन्तर्गत कार, ट्रक, ट्रयाक्टर र अन्य लोकोमोटिभ पर्छन् भने यसमा सामुद्रिक जहाज र हवाईजहाज भने पर्दैनन् । सवारी साधनको प्रकार अनुसार यसलाई विभाजन गरिन्छ । यसरी तोकिएको मापदण्ड पालना नगर्ने सवारी साधनलाई युरोपियन युनियन अर्थात ईयूमा बिक्री गर्न पाइदैन । छोटकरीमा भन्दा यसबाट हावाको गुणस्तरमा सुधार गर्ने उद्देश्य राखिएको हुन्छ ।
हलुका सवारी साधनका लागि ६ प्रकारका युरो स्ट्यान्डर्ड प्रयोगमा आएका छन् युरो १ देखि युरो ६ सम्म । हाल व्यावहारिक रुपमा युरो ६ प्रयोगमा आइरहेको छ, जुन सन् २०१४ देखि हलुका प्यासेन्जर र कमर्सियल भेइकलका लागि लागू भएको छ । युरो ५ र युरो ६ अनुसार डाइरेक्ट इन्जेक्सन इन्जिनले ०.००४५ ग्राम प्रतिकिलोमिटर भन्दा कम पीएम मात्र उत्पादन गर्नुपर्छ ।
नाडा सकारात्मक, तर चरणवद्ध रुपमा लागू गर्न आग्रह
नाडाले केही पूर्व तयारी गरेर मात्र प्रदूषण मापदण्ड सम्बन्धी नयाँ नियम लागू गर्नुपर्ने बताएको छ । सम्पुर्ण सवारी तथा यातायातका साधनहरुमा युरो ६ लागु गर्ने प्रस्तावलाई नाडा अटोमोबाइल्स एसोसिएसनले सकारात्मक रुपमा लिएको बताएको छ । यद्यपि यसको समग्र पूर्वाधार तयारीका लागि चरणवद्ध रुपमा लागू गर्दे जानु पर्ने नाडाले बताएको छ ।
अहिले त्यसका लागि देशमा उपयुक्त पूर्वाधारहरु लगायत दक्ष प्राविधिक जनशक्ति पनि तयार नभई सकेको सन्र्दभमा यसलाई चरणवद्ध रुपमा नै लागू गर्ने व्यवस्थाका लागि सरकारसँग हार्दिक अनुरोध गरेको बताइएको छ । एकै पटक युरो ६ मा जानका लागि त्यही अनुसारको सवारी साधन भएर मात्र पुग्दैन, त्यसका लागि आवश्यक इन्धन, प्रविधि, वर्कशप र सरकारको अनुगमन प्रणाली समेत हुनु आवश्यक छ । यसबाट सवारी साधनको मूल्यमा वृद्धि हुने मात्र होइन, इन्धन किफायतीपना समेत घट्ने र सर्भिसिङ समेत छिटो गराउनु पर्ने हुन्छ ।
अटो मेकानिक्स व्यवसायीहरुको भनाइ : तयारी र तालिम आवश्यक
यसलाई आवश्यक तयारीका साथ मात्र लागू गर्नु पर्ने कुरामा नेपाल अटो मेकानिक्स व्यवसायी संघ समेत रहेको छ । संघका निवर्तमान अध्यक्ष ठाकुरप्रसाद न्यौपानेले आवश्यक तयारी गरेर र त्यस्ता सवारी साधनका लागि आवश्यक मर्मत सम्भार गर्न सकिने व्यवस्था गरेर मात्र सो मापदण्ड लागु गरिनु पर्ने बताएका छन् ।
नेपालमा कार्यरत अटो मेकानिक्सहरु धेरैजसो आफै काम गर्दै सिक्दै गरेको अवस्था छ । कतिपयलाई कम्पनीहरुले आधिकारिक रुपमा तालिम प्रदान गरे पछि सबैमा यो अवस्था छैन । युरो ६ का सवारी साधन भित्रिए पश्चात नयाँ प्रविधिको वारेमा जानकारी प्रदान गर्न र तिनको मर्मत गर्नका लागि सबै मेकानिक्सहरुलाई आवश्यक तालिम प्रदान गरिनु आवश्यक छ । यो कार्यका लागि नेपालमा सवारी साधन आयात गरिरहेका आधिकारिक वितरकहरुको मुख्य भूमिका हुन सक्छ भने सहजीकरणका लागि नाडा र नेपाल अटो मेकानिक्स व्यवसायी महासंघ र संघलगायतका संघ संस्थाहरुको विशेष भूमिका हुन सक्छ ।
यसै पनि नेपाली अटो मेकानिक्स क्षेत्रमा दक्ष जनशक्तिको अभाव भइरहेको समयमा भविष्यमा आउने प्रविधि र ती प्रविधिका सवारी साधन मर्मत गर्ने कार्यका लागि विशेष अध्ययन गर्न सक्ने मेकानिक्सहरुको कमी खड्किने छ । तर पनि भविष्यमा जसरी पनि नयाँ प्रविधिका सवारी साधन भित्र्याउनु अनिवार्यता छ भने त्यसको तयारी स्वरुप अटो मेकानिक्सहरुले आफूलाई अब्बल मेकानिक्सको रुपमा उभ्याएर पूर्व तयारी अवस्थामा राख्नु आवश्यक छ । यी सबैका कारण अटो मेकानिक्सहरुका लागि यो चुनौतीपूर्ण कार्य बनेको छ ।
कस्तो असर पर्ला ?
नेपालमा युरो ६ मापदण्ड लागु गर्ने लक्ष्य भए पनि यसको कार्यान्वयन निकै चुनौतीपूर्ण छ । पूर्वाधार, इन्धनको गुणस्तर, सवारी साधनको अवस्था र नीति(नियमको प्रभावकारिता जस्ता पक्षले यो प्रक्रिया जटिल रहेको बताइन्छ । यद्यपि, दीर्घकालीन दृष्टिकोणबाट हेर्दा यो आवश्यक र लाभदायक कदम हो ।
नेपालमा युरो ६ उत्सर्जन मापदण्ड लागु भएपछि गाडीको मूल्यमा वृद्धि हुनेसक्ने सम्भावना प्रबल छ । युरो ६ मापदण्डमा आधारित गाडीहरूमा उन्नत इन्जिन प्रविधि र सफ्टवेयर प्रणालीको आवश्यकता पर्छ । यसका लागि विशेष तालिम प्राप्त प्राविधिकहरू साथै इन्फ्रास्ट्रक्चरमा पनि लगानी बढाउनु पर्ने हुन्छ । त्यसैले यसमा मापदण्ड लागु भएपछि केही हदसम्म गाडीको मूल्य बृद्धि हुने अटो व्यवसायीहरू पनि बताउँछन् ।
निष्कर्ष
सरकारले नियम लागु गरिसकेको छ । केही समयका लागि मात्र पुरानो अर्डर लिनका लागि युरो ६ वाहेकका सवारी आयात गर्न अनुमति दिइएको हो । अब त्यसपछि भने युरो ६ का सवारी साधन मात्र भित्र्याउनु पर्ने हुन्छ । यो अवस्थामा व्यवसायी र ग्राहक सबै युरो ६ गाडीका लागि तयारी अवस्थामा बस्नु पर्नेछ । यो अवस्थामा आवश्यक पूर्वाधार, तालिम लगायत सबै व्यवस्था गरेर युरो ६ का गाडी बिक्री गर्न र किन्न सबै तयार हुनु पर्नेछ । यो नै अन्तिम र आवश्यक विकल्प हुनेछ ।
इलेक्ट्रिक सवारी साधन अर्थात ईभीले प्रदूषण कम गर्ने र सर्भिसिङको लागि पनि...
भारतमा पहिलो पटक एकै वर्षमा १ लाख बढी युनिट इलेक्ट्रिक टु ह्विलर बिक्री...
काठमाडौं– चिनियाँ ईभी निर्माता लिपमोटरले अक्टोबर महिनामा पनि आफ्नो...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...