मन्त्रिपरिषदको बैठकले इलेक्ट्रिक कारमा यसअघि लाग्दै आएको अन्तःशुल्कमा छुट दिने निर्णय गरेपछि अहिले यो चर्चाको बिषय बनिरहेको छ । सरकारले अन्तःशुल्कमा छुट दिएका कारण इलेक्ट्रिक कारको मूल्य घट्ने र यसले इलेक्ट्रिक कारको बजारलाई पुरानै लयमा फर्किन मद्दत गर्ने अड्कलबाजी समेत गर्न थालिएको छ । तर यस्ता सवारीसाधनको कारोबार गर्दै आइरहेका ब्यावसायीहरु भने सरकारले दिने भनेको छुटका कारण बजार पुरानै लयमा फर्किहाल्नेमा ढुक्क देखिदैनन् ।
टाटा गाडीको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले सरकारको निर्णय कार्यन्बयनमा आएपछि यस्ता कारको मूल्य कतिले कम हुन्छ भन्ने कुराले महत्व राख्ने बताए ।
भारतीय बजारमा टाटा नेक्सन ईभी सार्वजनिक भए लगत्तै नेपाल भित्र्याउने तयारी थालेको तर करमा वृद्धि गरेपछि पछि हटेको बताउँदै उनले भने, ‘अहिले हामी सरकारको पछिल्लो निर्णयलाई आधार मानेर तत्काल नयाँ गाडी भित्र्याइहाल्ने पक्षमा छैनौ । पहिला यसको मूल्य कति पर्छ र त्यो मूल्य तिरेर गाडी किन्न ग्राहक तयार हुन्छन कि हुदैनन्, त्यसको समीक्षापछि मात्र नयाँ कार ल्याउने वा नल्याउने निचोडमा पुग्नेछौ ।’ बजारको माहोल बुझ्नका लागि कम्तिमा पनि १० दिनको समय लाग्ने र त्यसपछि मात्र नेक्सन ईभी ल्याउने वा नल्याउने निर्णय गरिने उनले बताए ।
उता हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिका नायब महाप्रबन्धक रुपेश शर्मा भट्ट इलेक्ट्रिक कारले बजार लिंदै गरेको समयमा सरकारले हतारमा कर बढाएर माहोल बिगारेका कारण सरकारले ल्याएको नयाँ छुटकै कारण पुरानै लयमा फर्किहाल्नेमा ढुक्क देखिदैनन् ।
इलेक्ट्रिक कारमा ग्राहकहरु विस्तारै आकर्षित बनिरहेको समयमा सरकारले हतारमा कर बढाएपछि यस्ता कारको भविष्यलाई लिएर ग्राहकहरु सशंकित बनेको उनी बताउँछन् । उनी भन्छन्, ‘कम्तिमा पनि २/४ वर्ष पुरानै ट्यारिफमा चल्न दिनुपथ्र्यो । तर सरकारले हतारमा कर बढाएर यसको गतिमा ब्रेक लगाएका कारण यस्ता कारको रिसेल भ्याल्यु र सर्भिसका विषयमा संशय उत्पन्न गराउने काम भएका कारण पछिल्लो छुटकै कारण बजारले पुनः गति लिइहाल्ने अवस्था देखिदैन ।’ उनका अनुसार हालको अन्तःशुल्कमा ८० प्रतिशतसम्म छुट दिने निर्णय गरिएपनि यस्ता सवारीसाधनको मूल्य यसअघिको तुलनामा अझै ४५ देखि ५० प्रतिशतले महंगो पर्नेछ । हुन्डाई कोना भित्र्याएर छाटो समयमै चर्चा कमाएको लक्ष्मी ग्रुपले अबका दिनमा ग्राहकको माग अनुसार मात्रै नयाँ गाडी भित्र्याउने उनले जानकारी गराए ।
निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटोकर्प भने अन्तःशुल्कमा छुट दिने सरकारको निर्णयबाट उत्साहित देखिन्छ । विश्व बजारमा सर्बाधिक लोकप्रिय निसान लिफ नेपाल भित्र्याउने अन्तिम तयारीमा जुटेको पायोनियर आर्थिक वर्ष २०७७/७८ को बजेटमा एकाएक भारीमात्रामा कर वृद्धि गर्ने निर्णय भएपछि पछि हटेको थियो । कम्पनीका सहायक महाप्रबन्धक ज्ञानेन्द्र चन्दका अनुसार सरकारको पछिल्लो निर्णय सार्वजनिक भएपछि लिफलाई नेपाली बजारमा ल्याउने तयारी पुनः थालिएको छ । उनले भने, ‘सरकारको पछिल्लो निर्णयले अब लिफ नेपाल भित्रिने निश्चित प्रायः बनेको छ । हामी सन् २०२१ को जनवरी महिनाभित्रमा यसलाई नेपाल भित्र्याइसक्ने छौ ।’
दिगो ब्रान्डका इलेक्ट्रिक भेइकल बिक्री गर्दै आइरहेको दिगो ग्रुप अफ कम्पनिज पनि अन्तःशुल्कमा छुट दिने सरकारको पछिल्लो निर्णयबाट केही मात्रामा भए पनि उत्साहित देखिन्छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत हेमन्त पुरानिकले यसअघि ३० लाख ९० हजारमा बिक्री हुँदै आएको ई ८ मोडलको मूल्य ६ लाख कम भई अब २४ लाख ९४ हजार रुपैयाँमा बिक्री गर्न सकिने बताए । धेरै नभए पनि केही मात्रामा यसबाट ग्राहकलाई राहत पुग्ने उनको भनाइ छ ।
हाल नेपाली बजारमा हुन्डाई, किया, एमजी, महिन्द्रा, दिगो र प्युजो लगायत ब्रान्डका इलेक्ट्रिक कारको कारोबार भइरहेको छ ।