एसिया अटो जिमखाना च्याम्पियनसिप (एएजीसी)का लागि नेपाली खेलाडी छनौट
काठमाडौं – नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल)द्वारा आयोजित बाग्मती...
एसिया अटो जिमखाना च्याम्पियनसिप (एएजीसी) २०२६ मा नेपालको तर्फबाट सहभागी भएका रविन सुनुवार (रेहान) र विपास्ना तामाङ अब थाइल्यान्ड पुगेका छन् । उनीहरु एसिया महादेशका २४ देशका खेलाडी सहभागी हङकङमा सम्पन्न एसिया अटो जिमखाना च्याम्पियनसिप अर्थात एएजीसीमा सहभागी भएर अर्को राउन्डको लागि थाइल्यान्ड पुगेका हुन् ।
उनीहरु आगामी अक्टोबर २३ देखि २५ अर्थात कार्तिक ६ देखि ८ गते सम्म थाइल्यान्डको पताया चान्बुरीस्थित बिरा सर्किटमा आयोजना हुने अटो जिमखानामा सहभागी हुनेछन् । अटो जिमखानाका खेलाडीहरुलाई नासा नेपालकी कोषाध्यक्ष तथा आउटरिच कोअर्डिनेटर कमला क्षेत्रीले विदाई गरेकी थिइन् ।

थाइल्यान्डमा तीन दिन सम्म मोटरस्पोर्टका अन्य क्याटागोरी कार्टिङ स्प्रिन्ट, कार्टिङ इन्डुरेन्स, कार्टिङ स्लालोम, ई–स्पोर्ट्स र अटोक्रस समेत आयोजना हुनेछ । यस मध्ये नेपालको तर्फबाट जयप्रताप मास्के र कविन ठकुरी समेत भोलि दसैंको टिकाको दिन विहान थाइल्यान्ड प्रस्थान गर्नेछन् ।
नेपालमा दसैंको रौनकताका बिचमा पनि नेपालको प्रतिनिधित्व गर्दै यी खेलाडीहरु विदेशमा मोटरस्पोर्टमा सहभागी हुनेछन् । मोटरस्पोर्टका खेलाडी मात्र होइन, समग्र अटोमोबाइल व्यवसायीलाई समेत दसैंको रौनकताले छोएको छ । धेरै कम्पनीहरुले गाडी बिक्री गर्ने मात्र होइन, यसका लागि आवश्यक अफर समेत ल्याएका छन् ।
नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल)द्वारा आयोजित गत भदौमा सम्पन्न बाग्मती अटो जिमखाना च्याम्पियनसिपको उपाधि जितेका खेलाडीहरुलाई पठाउने निर्णय अनुसार यी खेलाडीहरु अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी बनेका हुन् ।
जयप्रताप मास्के गत पुस महिनामा पोखरामा सम्प्पन्न नेसनल अटोक्रस च्याम्पियनसिप २०२५ का विजेता हुन् भने हालै सम्पन्न नेपाल सिम रेसिङको नेसनल च्याम्पियनसिपका समेत विजेता हुन् । विपास्ना तामाङले समेत सो प्रतियोगितामा तेस्रो स्थान हासिल गरेकी थिइन् ।

दुवै इभेन्टको टिम म्यानेजरको रुपमा नासा नेपालको मार्सल कमिसनका प्रमुख आशीषमान रौनियार समेत सहभागी छन् । उनका अनुसार नेपाली खेलाडीहरुको प्रदर्शन उत्कृष्ट नभए पनि सन्तोषजनक नै रहेको छ।
यो भन्दा पहिले गत वर्ष सम्पन्न अटो जिमखाना विधा अन्तर्गत मेल सोलोमा आशीष भारती (रोनी) ले स्वर्ण पदक प्राप्त गरेका थिए । त्यही विधामा नेपालको तर्फबाट विपास्ना तामाङ र राजकुमार कार्की समेत सहभागी भएका थिए ।

स्मरणीय छ, यो प्रतियोगिता सामान्यतः नेपालमा दसैं मनाउने समयमै हुने गरेको छ ।
एसिया प्यासिफिक मोटर स्पोर्ट च्याम्पियनसिपको अटो जिमखाना च्याम्पियनसिप अन्तराष्ट्रिय अटोमोबाइल फेडेरेसन (एफआईए) को मान्यता प्राप्त एसिया महादेशको सबैभन्दा ठूलो इभेन्ट हो ।
अटोमोबाइल क्षेत्रमा अटो जिमखाना भनेको कार वा अन्य सवारीसाधन चलाउने सीप, नियन्त्रण र चालकको दक्षता परीक्षण गर्ने मोटरस्पोर्ट प्रतियोगिता हो। यसमा चालकले निश्चित ट्र्याकमा राखिएका कोन, अवरोध र घुम्तीहरू पार गर्दै निर्धारित मार्ग पूरा गर्नुपर्छ।
नेपालमा पनि अटो जिमखाना मोटरस्पोर्ट विकास गर्ने, नयाँ चालकलाई प्रतिस्पर्धामा सहभागी गराउने र सुरक्षित वातावरणमा सवारी नियन्त्रणको सीप प्रदर्शन गर्ने माध्यमका रूपमा प्रयोग भइरहेको छ। नासा नेपालले पनि अटो जिमखानासम्बन्धी गतिविधि सञ्चालन गर्दै आएको छ।
अटोक्रस एक प्रकारको रोमाञ्चक मोटरस्पोर्ट हो, जसमा चालकहरूले माटो, ग्राभेल वा पक्की सडकमा ट्राफिक कोन वा अन्य अवरोधहरू राखेर बनाइएको कठिन र घुमाउरो ट्र्याकमा प्रतिस्पर्धा गर्छन्। यस खेलमा धेरै वटा गाडीहरू एकैपटक आपसमा कुद्दैनन्, बरु ’टाइम अट्याक’ ढाँचामा पालैपालो गाडी कुदाइन्छ र जसले सबैभन्दा कम समयमा र सही तरिकाले ट्र्याक पूरा गर्छ, उही विजेता बन्छ।

नेपालमा पनि पछिल्लो समय मोटर स्पोर्टको क्रेज बढ्दै गएको छ। नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) र विभिन्न क्लबहरूको अगुवाइमा नेपालका विभिन्न सहरहरूमा राष्ट्रिय स्तरका अटोक्रस प्रतियोगिताहरू आयोजना भएका छन् ।
नेपालको पहिलो अटोक्रस च्याम्पियनसिप हेटौँडाको गौरीटार स्टेडियममा आयोजना गरिएको थियो। यसबाहेक काठमाडौं (चन्द्रागिरी), पोखरा र धनगढी जस्ता सहरहरूमा पनि नेसनल अटोक्रस च्याम्पियनसिप र अटो¥यालीहरू सफलतापूर्वक सम्पन्न भइसकेका छन्।
नासा नेपालका कार्यकारी निर्देशक गोविन्द भट्टराईका अनुसार नेपाली मोटरस्पोर्टका लागि महान् चाडपर्व भन्दा पनि यी दुई महादेशिय प्रतिस्पर्धाहरु महत्वपूर्ण छन्, जुन नेपाली ड्राइभरहरुले आफ्नो अद्भूत क्षमता र कौशल देखाउन पाउने महत्वपूर्ण अवसर समेत हो । एसिया प्यासिफिकका दर्जनौ राष्ट्रहरुको बिचमा नेपालको राष्ट्रिय झन्डामुनि रहेर अन्तर्राष्ट्रिय स्तरको ट्रयाकमा प्रतिस्पर्धा गर्न पाउनु नै पनि कम्ती उत्साहको कुरा होइन । त्यसैले पनि नासा नेपाल एएजीसी र एपीएमसीका अधिकांश प्रतिस्पर्धामा सहभागी भइसकेको छ, जुन नेपाली ड्राइभरहरुका लागि उच्चतम प्लेटफर्म समेत हो ।

हाल थाइल्यान्डमा भइरहेको एसिया प्यासिफिक मोटरस्पोर्ट च्याम्पियनसिप एसिया प्यासिफिक क्षेत्रकै सर्बाधिक ठूलो अफिसियल इभेन्ट हो र यो तेस्रो संस्करण हो । यो भन्दा पहिले सन् २०२३ मा मलेसिया र २०२५ मा श्रीलंकामा यस प्रकारको इभेन्ट भएको थियो ।
देश दशैं मुडमा छ । नेपालीहरुको महान चाड मानिने दशैंको समयमा सबै आफ्नो काम थाती राखेर परिवारसँग रमाइरहेका छन् । देश विदेशमा रहेका आफन्तहरु एकै स्थानमा भेटघाट गर्ने चलन अनुसार सके सम्म आफन्तसँग भेटघाट गर्ने, रमाउने र आशिर्वाद लिने गरिन्छ । दसैंको लहर जताततै चलेको छ र विदेशमा रहेका लाखौ नेपालीहरु समेत दसैंं तिहार मनाउने क्रममा नेपाल फर्किरहेका छन् । तर यी मोटरस्पोर्ट खेलाडीहरु भने देशको प्रतिनिधित्व गर्न विदेशमा छन् र प्रस्थान गरिरहेका छन् ।
आशा गरौ, नेपालको मोटरस्पोर्ट भविष्य आगामी दिनमा अझै सुन्दर बन्ने छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...