बेलायतमा ‘इलेक्ट्रिफाइड’ कारको सबैभन्दा ठूलो विक्रेता बन्यो बीवाईडी, रेकर्ड ब्रेकिङ सेल्स रेकर्ड

बेलायतको अटोमोबाइल बजारमा चिनियाँ कम्पनी बीवाईडीले ऐतिहासिक उपलब्धि हासिल गरेको छ। सन् २०२५ को अन्त्यसम्ममा बीवाईडीले बेलायतमा ५१ हजार ४२२ वटा सवारी साधन दर्ता गर्दै ईभी कार (पूर्ण विद्युतीय र प्लग–इन हाइब्रिड दुवै) को सबैभन्दा ठूलो विक्रेताको स्थान ओगटेको छ।

यो रेकर्ड बिक्रीसँगै बीवाईडी बेलायतको समग्र ब्रान्ड बिक्री सूचीमा १७औँ स्थानमा उक्लिएको छ। यस क्रममा उसले मिनी, माज्दा, डासिया र लामो समयदेखि प्रतिस्पर्धी मानिँदै आएको टेस्लालाई समेत पछि पारेको छ।

डिसेम्बर महिनामा मात्र बेलायतमा बिक्री भएका ‘न्यू इनर्जी भेइकल’ (एनईभी) हरूको १२ प्रतिशत हिस्सा बीवाईडीका मोडलहरूले ओगटेका थिए। विशेषगरी, बीवाईडीको सिल यु डीएम–आई एसयूभीले सन् २०२५ को अन्त्यसम्म बेलायतकै सबैभन्दा लोकप्रिय प्लग–इन हाइब्रिड कारको उपाधि जित्न सफल भयो। पूर्ण विद्युतीय मोडलतर्फ भने डल्फिन सर्फ बीवाईडीको सबैभन्दा बढी बिक्री हुने ईभी बन्यो।

बीवाईडीले बेलायतमा प्रवेश गरेको केवल दुई वर्ष मात्रै भएको छ। कम्पनी सन् २०२३ को सुरुवातमा बेलायती बजारमा पुगेको हो, तर छोटो समयमै विद्युतीय कार सेग्मेन्टमा उल्लेखनीय पकड जमाउन सफल भएको छ।

विश्वव्यापी रूपमा पनि बीवाईडीले ठूलो उपलब्धि हासिल गरेको छ। सन् २०२५ मा बीवाईडीले विश्वभर २२ लाख ६० हजार विद्युतीय कार बिक्री गर्दै टेस्लालाई पछि पारेर विश्वकै सबैभन्दा ठूलो ईभी विक्रेताको स्थान ओगट्यो। सोही अवधिमा टेस्लाले १६ लाख ४० हजार ईभी मात्र बिक्री गर्न सकेको थियो। जहाँ टेस्लाको ईभी बिक्री ९ प्रतिशतले घट्यो, त्यही समयमा बीवाईडीको विद्युतीय कार बिक्री २७ प्रतिशतले वृद्धि भएको छ।

बेलायतमा बीवाईडीको कुल बजार हिस्सा २.५ प्रतिशत पुगेको छ, जुन सन् २०२४ मा मात्र ०.५ प्रतिशत थियो। डिसेम्बर २०२५ मा मात्रै बीवाईडीले बेलायती ग्राहकहरूलाई ७ हजार ६८३ वटा कार बिक्री गरेको थियो। समग्रमा हेर्दा, बीवाईडीले आफ्नो बेलायती बिक्री ४८५ प्रतिशतले वृद्धि गर्दै सन् २०२४ को करिब ८ हजार ८०० युनिटबाट सन् २०२५ मा झण्डै ५१ हजार ५०० युनिट पु¥याएको छ।

बीवाईडीले आगामी वर्षहरूमा बेलायतमा आफ्नो मोडल लाइनअप अझ विस्तार गर्ने योजना बनाएको छ। सन् २०२६ मा नयाँ सिलायन डीएम–आई र एट्टो २ डीएम–आई प्लग–इन हाइब्रिड मोडलहरू सार्वजनिक हुने अपेक्षा गरिएको छ। यससँगै, कम्पनीले नयाँ पूर्ण विद्युतीय मोडलहरू पनि बजारमा ल्याउने संकेत दिएको छ।

यद्यपि बीवाईडीले तीव्र वृद्धि देखाए पनि बेलायतमा सबैभन्दा धेरै चिनियाँ कार बिक्री गर्ने ब्रान्डको उपाधि भने हाललाई एमजीसँग नै छ। एमजीले सन् २०२५ मा बेलायतमा ८५ हजार १५५ वटा कार बिक्री गरेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ४.४ प्रतिशतले बढी हो। बिक्री संख्याका आधारमा एमजी बेलायतको १०औँ सबैभन्दा लोकप्रिय ब्रान्ड बनेको छ।

यसैबीच, अन्य चिनियाँ ब्रान्डहरूले पनि बेलायती बजारमा प्रभाव जमाएका छन्। एउटै मूल कम्पनीअन्तर्गतका जेइको, ओमोडा र चेरीले उल्लेखनीय बिक्री गरेका छन्। जेइकोले २८ हजार २३२ वटा गाडी दर्ता गर्दै होन्डा, सिएट र सिट्रोन जस्ता परम्परागत ब्रान्डहरूलाई उछिनेको छ। त्यस्तै, ओमोडाको १९ हजार ८५५ बिक्री पोश्र्च, सुजुकी र लेक्सस भन्दा बढी रहेको छ।

यी तथ्यांकहरूले बेलायती अटोमोबाइल बजारमा चिनियाँ विद्युतीय तथा हाइब्रिड ब्रान्डहरूको प्रभाव तीव्र गतिमा बढिरहेको स्पष्ट संकेत दिएका छन्।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...