६सी फास्ट चार्जिङ र तीन ब्याट्री विकल्पमा आयो नयाँ जिली ईएक्स५, ८० प्रतिशत चार्ज अब ९ मिनेटमै
काठमाडौँ– चिनियाँ अटोमोबाइल निर्माता जिलीले आफ्नो लोकप्रिय इलेक्ट्रिक...
काठमाडौं - नेपालीहरूको चाड दशैं–तिहार नजिकिँदै गर्दा बजारमा नयाँ लुगाफाटा, खाद्यान्न मात्र होइन । नयाँ सवारीसाधन किन्नेहरूको पनि उत्तिकै भीड लाग्ने गर्छ । अटोमोबाइल व्यवसायीहरूका लागि दशैं–तिहार वर्षभरिकै सबैभन्दा ठूलो व्यापारिक सिजन हो । वर्षभरि हुने सवारीसाधन बिक्रीको करिब ४० देखि ५० प्रतिशत हिस्सा यही चाडपर्वको डेढ–दुई महिनाको अवधिमा हुने गरेको छ ।
तर, भदौ महिनामा सम्पन्न हुने नाइमा मोबिलिटी एक्स्पो र नाडा अटो शोबाट सुरु भएको व्यापारिक उत्साह यस वर्ष एकाएक निराशा र अन्योलमा परिणत भएको छ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी, अविरल वर्षापछिको पहिरो र देशका मुख्य राजमार्गहरूमा आएको अवरोधले दशैं लक्षित अटो बजारलाई नराम्ररी असर पर्ने देखिएको छ । चीनसँग जोडिएका उत्तरी भन्सार नाकाहरू ठप्प हुनु र राजधानी जोड्ने लाइफलाइन सडकहरू अवरुद्ध हुनुले दशैंको अटो व्यापारमा बहुआयामिक असर पारेको छ ।
बाढीले अटो क्षेत्रमा केवल आपूर्ति मात्र रोकेको छैन, व्यवसायीलाई अपूरणीय भौतिक क्षति समेत पुर्याएको छ । दशैंको माग धान्न चीनबाट तातोपानी र रसुवागढी नाका हुँदै ल्याइएका सयौं नयाँ सवारीसाधन भोटेकोशी र अन्य खोलाको बाढीले बगाएको छ ।
विशेषगरी चिनियाँ ब्रान्डका विद्युतीय सवारी (ईभी) हरू बाढीको चपेटामा परेका छन् । नाडाका पूर्वअध्यक्ष ध्रुव थापाका अनुसार उनीहरूले दशैंका लागि आयात भएका गाडी भोटेकोशी बाढीले बगायो । पूर्वअध्यक्ष थापाले उत्तरी नाका पूर्ण रूपमा बन्द हुँदा दशैंको आपूर्ति चक्र ध्वस्त भएको बताए ।
उनका अनुसार तत्कालका लागि उत्तरी नाकाको अर्को कुनै सहज विकल्प छैन । चीनबाट आउने गाडीहरूलाई समुद्री मार्ग हुँदै भारतको कोलकाता बन्दरगाहबाट ल्याउने विकल्प भए पनि त्यसका लागि कम्तीमा ३ देखि ४ महिना लाग्छ र ढुवानी भाडा अत्यधिक महँगो पर्न जान्छ। यसले दशैंको बजारलाई कुनै राहत दिन सक्दैन । शोरुममा पुगेर ग्राहकको हातमा चाबी सुम्पिनुपर्ने गाडीहरू बाढीले बगाएको छ । यसले व्यवसायीहरूको करोडौं रुपैयाँको प्रत्यक्ष लगानी डुबाएको छ ।
दशैंको साइत पारेर वा फूलपातीका दिन नयाँ गाडी घर भित्र्याउने सपना बुनेर हजारौं ग्राहकले गाडी तथा मोटरसाइकल बुकिङ गरिसकेका छन् । नाडा अटो शो र दशैं अफरमा आकर्षित भएर ग्राहकहरूले बैंक फाइनान्स समेत पास गराइसकेका थिए । तर, बाढीपहिरोले सडक सञ्जाल क्षतविक्षत बनाएपछि गाडीहरू शोरुमसम्म आइपुग्न सकेका छैनन् ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती (सुरेश) का अनुसार, दशैंको घटस्थापनादेखि फूलपातीसम्म ग्राहकलाई गाडी हस्तान्तरण गर्ने तालिका थियो, तर अब त्यो सम्भव नहुने प्रायः निश्चित भएको छ ।
नेपालको अटो बजार अहिले तीव्र रूपमा विद्युतीय गाडी (ईभी) तर्फ रूपान्तरण भइरहेको छ, जसको मुख्य स्रोत चीन हो । तर, भोटेकोशीको बाढीले तातोपानी जोड्ने मितेरी पुल, सडक पूर्वाधार र रसुवागढी नाकाका संरचनाहरू बगाइदिएको छ ।
लगातार चौथो वर्षको बज्रपात : व्यवसायीको मनोबल खस्कियो
अटो क्षेत्रका लागि सिजनमै संकट आउने यो पहिलो घटना होइन । विगत चार वर्षदेखि अटो व्यवसायीहरूले चाडपर्वकै मुखमा यस्तै नियति भोग्दै आएका छन् ।
२०८०/८१ मा रसुवागढी नाकामा आएको बाढी र जेनजी आन्दोलनका कारण बजार प्रभावित भएको थियो । त्यस्तै, २०८१ को भदौको बाढी र लगातारको अविरल वर्षाले सडक पूर्वाधार नै तहसनहस बनाउँदा समस्या भएको थियो ।
चाडपर्वकै समयमा लगातार प्राकृतिक तथा नीतिगत धक्का लाग्दा व्यवसायीहरूको जोखिम लिने क्षमता र मनोबल नराम्ररी खस्किएको छ । अटोमोबाइल क्षेत्र नेपाल सरकारको राजस्वको सबैभन्दा ठूलो स्रोतमध्ये एक हो । विशेषगरी दशैंको समयमा गाडीको भन्सार जाँचपासबाट राज्यले अर्बौं रुपैयाँ राजस्व संकलन गर्ने गर्छ ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको भदौ महिनामा मात्रै ५ अर्ब ९ करोड रुपैयाँ बराबरका २ हजार १४५ युनिट ईभी आयात भएका थिए । जसबाट राज्यले ३ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । समग्रमा भदौमा कुल २ हजार ६३२ युनिट कार भित्रिएका थिए । जसमा ईभीको हिस्सा मात्रै ८१.५ प्रतिशत थियो।
साउन र भदौ दुई महिनामा मात्रै ईभी आयातबाट राज्यको ढुकुटीमा ४ अर्ब २९ करोड राजस्व उठेको थियो । तर भदौको अन्त्य र असोजको सुरुवातमै आएको बाढीपहिरोले नाकाहरू ठप्प भएपछि असोज महिनामा उठ्ने अनुमान गरिएको अर्बौं रुपैयाँको राजस्व गुम्ने खतरा उत्पन्न भएको छ ।
विपद्ले नेपालको पूर्वाधार कति कमजोर छ र आपूर्ति व्यवस्थापन समस्या पैदा भएको छ । चीनसँग व्यापार गर्ने दुईवटा मात्र नाका हुनु र ती दुवै वर्षायाममा पहिरो तथा बाढीको उच्च जोखिममा रहनुले समग्र अर्थतन्त्र नै बन्धक बन्ने गरेको छ । वैकल्पिक सडक मार्गहरूको अभावले गर्दा प्राकृतिक विपद् आउनासाथ काठमाडौं र अन्य प्रमुख सहरहरूको बजार ठप्प हुने अवस्था सिर्जना भएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...