इन्धन गाडीलाई ईभीको ओभरटेक : भदौमा भित्रिएका कुल कारमध्ये ८१ प्रतिशत ब्याट्रीबाट चल्ने

काठमाडौं - नेपाली अटोमोबाइल बजारमा परम्परागत इन्धन (पेट्रोल/डिजेल) बाट चल्ने गाडीहरूको वर्चस्व तीव्र गतिमा खुम्चिँदै गएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौ महिनाको तथ्यांकले नेपाली उपभोक्ताको रोजाइ पूर्ण रूपमा विद्युतीय गाडी (ईभी) तर्फ मोडिएको देखाएको छ ।

भदौ महिनामा नेपाल भित्रिएका कुल २ हजार ६३२ युनिट प्यासेन्जर कार ईभी, डिजेल, पेट्रोल र हाइब्रिड मध्ये ८१.५ प्रतिशत हिस्सा विद्युतीय गाडीले मात्रै ओगटेका छन् ।

चाडपर्वको मुख र अटो शोको प्रभावका कारण भदौमा मात्रै कुल ५ अर्ब ९ करोड रुपैयाँ बराबरका २ हजार १४५ युनिट विद्युतीय कार, जीप र भ्यान आयात भएका छन् । यो संख्या अघिल्लो महिना साउनको तुलनामा तीन गुणा बढी हो । साउनमा जम्मा ६८९ युनिट ईभी नेपाल भित्रिएका थिए ।

भदौमा आयात भएका ईभीबाट राज्यले ३ अर्ब २३ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । समग्रमा चालु आवको पहिलो दुई महिना साउन र भदौमा ६ अर्ब ७० करोड रुपैयाँ बराबरका कुल २ हजार ८३४ युनिट ईभी भित्रिएका छन् । जसबाट राज्यको ढुकुटीमा ४ अर्ब २९ करोड रुपैयाँ राजस्व दाखिला भएको छ ।

सुस्तायो पेट्रोल/डिजेल कारको बजार
ईभीको आयात आक्रामक रूपमा बढ्दा परम्परागत इन्टरनल कम्बसन इन्जिन युक्त गाडीहरूको आयात भने निकै सुस्त देखिएको छ । भदौमा २१ सयभन्दा बढी ईभी भित्रिँदा डिजेल, पेट्रोल र हाइब्रिड गरी कुल ४८७ युनिट मात्रै कार आयात भएका छन् ।

जसमा ४२८ युनिट पेट्रोल, ४५ युनिट डिजेल र १४ वटा हाइब्रिड कार रहेका छन् । व्यवसायीहरूले १ अर्ब ३५ करोड रुपैयाँ बराबरका यी इन्धन कार आयात गर्दा सरकारलाई ३ अर्ब ३१ करोड रुपैयाँ राजस्व बुझाएका छन् । यसले नेपाली बजारमा नयाँ गाडी खरिद गर्ने अधिकांश ग्राहकको रोजाइमा अब पेट्रोल/डिजेलभन्दा ईभी नै पहिलो प्राथमिकतामा पर्न थालेको देखाउँछ ।

अटो शो र चाडपर्वले बढाएको माग
साउन र भदौमा सम्पन्न नाइमा मोबिलिटी एक्स्पो तथा नाडा अटो शोमा बुकिङ भएका गाडीहरूको डेलिभरी दिनुपर्ने दबाब र नजिकिँदै गरेका दशैं–तिहार जस्ता ठूला चाडपर्वलाई लक्षित गरी व्यवसायीहरूले ठूलो संख्यामा ईभी भित्र्याएका हुन् । चाडपर्वमा नयाँ गाडी किन्ने नेपाली परम्परालाई सम्बोधन गर्न कम्पनीहरूले मौज्दात बढाएका हुन् ।

नेपालमा आयात हुने ईभीमा उत्तरी छिमेकी चीनको दबदबा कायमै देखिएको छ । चीनसँग व्यापार गर्ने मुख्य दुई नाका रसुवागढी र तातोपानी प्राकृतिक विपद्का कारण बन्द भएपछि व्यवसायीहरूले मुस्ताङको कोरला नाका प्रयोग गरेर गाडी भित्र्याएका छन् ।

भदौमा चीनबाट मात्रै ३ अर्ब ५ करोड रुपैयाँ बराबरका १ हजार २५६ युनिट ईभी आयात भएका छन् । चीनबाट बीवाईडी, चेरी, ओमोडा, जेको, नामी, आर्कफक्स, लीपमोटर, एमजी, ओरा, हाभाल र स्काइवेल लगायत ब्राण्डका ईभी नेपाल आएका हुन् ।

त्यस्तै, दोस्रो स्थानमा रहेको भारतबाट भदौमा ५४० युनिट ईभी आयात भएका छन् । भारतबाट विशेषगरी टाटा, महिन्द्रा, किया, एमजी र सुजुकी ब्राण्डका विद्युतीय गाडी भित्रिएका छन् ।

यसैगरी, पछिल्लो समय थाइल्याण्डबाट पनि ईभी आयात हुन थालेको छ । भदौमा थाइल्याण्डबाट ३४८ युनिट ईभी आयात भएको छ, जसमा दीपल लगायतका चिनियाँ ब्राण्ड सामेल छन् । अमेरिकाबाट समेत भदौमा १ युनिट ईभी आयात भएको भन्सार विभागको तथ्यांक छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...