ड्राइभिङ लाइसेन्समा विवरण गलत छ ? अब अनलाइनबाटै यसरी सच्याउनुस्

सवारी चालक अनुमतिपत्र अर्थात ड्राइभिङ लाइसेन्समा नाम, ठेगाना, जन्ममिति, नागरिकता नम्बरलगायत विवरण गलत छ भने अब यातायात कार्यालय धाइरहनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ । हालै सञ्चालनमा आएको नयाँ ईडीएलभीआरएस प्रणालीमा ‘लाइसेन्स सच्याउने आवेदन’ सुविधा थप गरिएको छ ।

अब राष्ट्रिय परिचयपत्रमा रहेको विवरणका आधारमा सवारी चालक अनुमतिपत्रमा भएका त्रुटि सच्याउन सकिनेछ । तर, लाइसेन्समा सच्याउन खोजिएको विवरण राष्ट्रिय परिचयपत्रमा समेत सही रूपमा कायम भएको हुनुपर्नेछ । राष्ट्रिय परिचयपत्रमै विवरण गलत भए पहिले सम्बन्धित निकायबाट त्यसलाई सच्याउनुपर्ने विभागले जनाएको छ ।

यसरी सच्याउन सकिन्छ विवरण
लाइसेन्सको विवरण सच्याउन सेवाग्राहीले आफू सम्बन्धित प्रदेशको ईडीएलभीआरएस पोर्टलमा जानुपर्नेछ । उदाहरणका लागि बागमती प्रदेशका सेवाग्राहीले गुगलमा ‘EDLVRS Bagmati’ खोजेर सम्बन्धित पोर्टलमा प्रवेश गर्न सक्छन् । पोर्टल खुलेपछि होमपेजमा रहेको License Correction Application विकल्प छनोट गर्नुपर्छ ।

त्यसपछि प्रणालीले माग गरेका प्रारम्भिक विवरण भर्नुपर्छ । यस क्रममा आफ्नो नाम, राष्ट्रिय परिचयपत्र नम्बर र राष्ट्रिय परिचयपत्रको फोटो राख्नुपर्ने हुन्छ । त्यसपछि सवारी चालक अनुमतिपत्र नम्बर प्रविष्ट गर्नुपर्छ ।

अर्को चरणमा जन्ममिति (ईस्वी संवत्), लिङ्ग, मोबाइल नम्बर र इमेल ठेगाना राखेर ‘Continue’ बटन थिच्नुपर्छ । त्यसपछि सेवाग्राहीको मोबाइल नम्बरमा ओटीपी कोड पठाइनेछ । प्राप्त ओटीपी कोड प्रविष्ट गरेपछि लाइसेन्स विवरण सच्याउने ड्यासबोर्डमा प्रवेश गर्न सकिनेछ ।

ड्यासबोर्डमा पुगेपछि सेवाग्राहीले आफूलाई आवश्यक परेको विवरण संशोधनका लागि अनुरोध पठाउन सक्छन् । यसमा नाम तथा थर, जन्ममिति, बुबाआमाको नाम, मोबाइल नम्बर, इमेल ठेगाना, स्थायी तथा अस्थायी ठेगानालगायत विवरण सच्याउन सकिनेछ ।

तर, अनलाइन आवेदनमा राखिने नयाँ विवरण राष्ट्रिय परिचयपत्रमा उल्लेख भएको विवरणसँग मिल्नुपर्नेछ । सबै विवरण भरेपछि आफूले प्रविष्ट गरेका जानकारी सही भएको पुष्टि गर्नुपर्नेछ ।

त्यसपछि ‘Submit Update Request’ विकल्पमा क्लिक गरेर आवेदन अगाडि बढाउन सकिन्छ । अन्तिम चरणमा आफूले सच्याउन लागेको विवरण पुन: देखाइनेछ । विवरण जाँच गरेपछि ‘Yes, Submit’ मा क्लिक गर्नुपर्नेछ ।

अनलाइनबाट आवेदन पठाएपछि त्यसलाई सम्बन्धित यातायात कार्यालयले परीक्षण गर्नेछ । सेवाग्राहीले सच्याउन खोजेको विवरण राष्ट्रिय परिचयपत्रमा रहेको विवरणसँग मेल खान्छ कि खाँदैन भन्ने यकिन गरेपछि सम्बन्धित कार्यालयका कर्मचारीले आवेदन स्वीकृत गर्नेछन् ।

कार्यालयबाट आवेदन स्वीकृत भएपछि मात्र लाइसेन्सको विवरण अपडेट हुनेछ । त्यसपछि सेवाग्राहीले अनलाइन प्रणालीमै आफ्नो अद्यावधिक भएको कार्ड हेर्न सक्ने विभागले जनाएको छ । यो सुविधाले सामान्य विवरण सच्याउन सहज हुनुका साथै कार्यालयमा जानुपर्ने बाध्यताको समेत अन्त्य भएको छ । यसबाट धेरै सेवाग्राही लाभान्वित हुने अपेक्षा गरिएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...