धैर्य अपनाऔँ, हतार होइन : तीव्र गति र जोखिमपूर्ण ओभरटेकबाट जीवन बचाऔँ

सडक केवल एउटा मार्ग मात्र होइन, यो मानव जीवन र गतिशीलताको साझा मञ्च हो । तर पछिल्लो समय हाम्रा सडकहरू यात्रा पुरा गर्ने माध्यमभन्दा बढी जोखिमका केन्द्र बन्दै गइरहेका छन् । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्मको तथ्याङ्कलाई मात्र हेर्ने हो भने पनि तीव्र गतिका कारण १३,०५० र जथाभाबी ओभरटेक गर्दा ४७२ वटा सवारी दुर्घटना भएका छन् । यी केवल अङ्कहरू मात्र होइनन्, यसभित्र कयौँ परिवारको आँसु, अपूरणीय क्षति र अकालमा गुमेका अमूल्य जीवनहरू लुकेका छन् ।

       घरबाट निस्कँदा ढिलो होला कि भन्ने सामान्य हतारो वा सडकमा अरूभन्दा अगाडि बढ्ने तीव्र चाहनाले क्षणभरमै जीवनको यात्रा सधैँका लागि रोकिदिन सक्छ । सडकमा केही सेकेन्डको धैर्यताले कसैको सिन्दुर पुछिनबाट, कसैको काख रित्तिनबाट र देशको सक्षम नागरिक अपाङ्ग हुनबाट जोगिन सक्छ । त्यसैले भनिन्छ "हतारोका केही सेकेन्डभन्दा जीवनका बाँकी वर्षहरू धेरै मूल्यवान् छन् ।"

दुर्घटनाको यो भयावह अवस्थालाई न्यूनिकरण गर्न र आफ्नो तथा सडकमा गुड्ने अन्य यात्रुहरूको जीवन रक्षाका लागि अनिवार्य रूपमा अपनाउनुपर्ने प्रमुख सुरक्षा सावधानीहरू निम्न बमोजिम छन्:

१. तीव्र गतिमा नियन्त्रण र गति सीमाको पालना

       गतिले मानिसलाई रोमाञ्चक त बनाउला, तर यसले दुर्घटनाको जोखिमलाई सोही अनुपातमा बढाउँछ । सवारीसाधनको गति जति तीव्र हुन्छ, त्यसलाई नियन्त्रण (ब्यालेन्स र ब्रेक) गर्न त्यति नै गाह्रो हुन्छ । तसर्थ सधैँ तोकिएको गति सीमा (Speed Limit) भित्रै रहेर सवारी चलाउनुहोस् । साथै खराब मौसम, वर्षा, कुहिरो वा साँघुरो सडकमा गतिलाई अझ कम गर्नुहोस् ।

२. ओभरटेक गर्दा 'धैर्यता र सही निर्णय'

       जथाभाबी र हतारमा गरिने ओभरटेक दुर्घटनाको अर्को प्रमुख कारण हो । अगाडिको गाडीलाई उछिन्नु अघि पूर्ण रूपमा संयम र सचेत हुन आवश्यक छ । अगाडिबाट अर्को सवारी आइरहेको छ भने कहिल्यै ओभरटेकको प्रयास नगर्नुहोस् । घुम्ती (Blind Curves), साँघुरा पुल र जेब्रा क्रसिङ नजिक ओभरटेक गर्न पूर्ण रूपमा निषेध गरिएको छ । ओभरटेक गर्नुअघि सधैँ दायाँ साइडलाइट (Indicator) को प्रयोग गर्नुहोस् र अगाडिको चालकले पास नदिएसम्म धैर्यतापूर्वक पर्खनुहोस् ।

३. सुरक्षित दूरी (Safe Distance) कायम

       गति र ओभरटेकको हतारोमा चालकहरू अक्सर अगाडिको गाडीको एकदमै नजिक पुग्छन् । यसले गर्दा अगाडिको गाडीले अचानक ब्रेक लगाउँदा दुर्घटना अनिवार्य हुन्छ । आफ्नो सवारी र अगाडिको सवारीबीच सधैँ सुरक्षित दूरी कायम राख्नुहोस् । यसले अचानक ब्रेक लगाउनु पर्दा पर्याप्त समय दिन्छ ।

४. समय व्यवस्थापन र मानसिक शान्ति

       हतारमा सवारी चलाउनुको मुख्य कारण समयमै गन्तव्यमा प्रस्थान नगर्नु हो । आफ्नो यात्रा सुरु गर्नुअघि नै सम्भावित ट्राफिक जाम वा सडकको अवस्थालाई ध्यानमा राखेर केही समय अगावै घरबाट निस्कने बानी बसाल्नुहोस् । सडकमा प्रतिष्पर्धा होइन, सहकार्यको भावना राख्नुहोस् । रिस, तनाव वा उत्तेजनामा सवारी चलाउँदा ध्यान विचलित भई दुर्घटना हुन सक्छ ।

५. ट्राफिक नियम र सङ्केतहरूको पूर्ण पालना

       ट्राफिक नियमहरू सजाय पाउनबाट बच्नका लागि मात्र होइनन्, यी त सडकमा जीवन रक्षा गर्ने कवच हुन् । लेन अनुशासन को सधैँ पालना गर्नुहोस् । बिनाकारण र पटक-पटक लेन परिवर्तन नगर्नुहोस् । ट्राफिक लाइट, गति नियन्त्रक बोर्ड र सडकका रेखाङ्कनहरू (Road Markings) लाई पूर्ण रूपमा पालना गर्नुहोस् ।

       "बिस्तारै गए अवश्य पुगिन्छ, हतार गरे भन्न सकिन्न" भन्ने यथार्थलाई आत्मसात गर्न जरुरी छ । सवारी साधन चलाउनु एक गम्भीर जिम्मेवारी हो । तीव्र गति र हतारको ओभरटेकले तपाईँलाई गन्तव्यमा ५ मिनेट चाँडो त पुर्‍याउला, तर एउटा सानो गल्तीले तपाईँलाई अस्पताल समेत पुर्‍याउन सक्छ ।

       त्यसैले, आजैदेखि प्रण गरौँ - सडकमा गुडिरहँदा हामी केवल स्टेरिङ वा ह्यान्डल मात्र घुमाइरहेका हुँदैनौँ, आफ्नो र आफ्नो प्रतीक्षामा घरमा बसेका परिवारको भविष्य पनि थामिरहेका हुन्छौँ । त्यसैले, सडकमा सधैँ धैर्य अपनाऔँ, हतार होइन ।

ट्राफिक नियम जानौं पनि, मानौं पनि ।

  • विष्णु थापा

प्रहरी बरिष्ठ नायव निरीक्षक

जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवन

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...