वर्षायाममा सुरक्षित सवारी सञ्चालन : सजगता, तयारी र जिम्मेवारी

मनसुन वा वर्षायाम प्राकृतिक सौन्दर्यको मौसम हो । हरियाली र वर्षाको रमाइलोपनसँगै यो मौसमले सडक यातायातमा भने अनेकौं चुनौती पनि थप्ने गर्दछ । लगातारको वर्षाका कारण सडक चिप्लो हुने, खाल्डाखुल्डीमा पानी जम्ने, दृश्यता कम हुने, पहिरो, डुबान तथा सडक भासिने जस्ता जोखिम बढ्छन् । यस्तो अवस्थामा चालकको सानो असावधानीले पनि गम्भीर दुर्घटनाको रूप लिन सक्छ ।

       नेपालमा वर्षायामका क्रममा हुने अधिकांश सडक दुर्घटनाको प्रमुख कारण प्रतिकूल मौसमअनुसार सवारी सञ्चालन नगर्नु, अत्यधिक गति, कमजोर दृश्यता तथा सवारीको प्राविधिक अवस्थाप्रति बेवास्ता गर्नु रहेको पाइन्छ । त्यसैले सुरक्षित यात्रा सुनिश्चित गर्न प्रत्येक चालकले निम्न सुरक्षा सावधानीहरू अनिवार्य रूपमा अपनाउनु आवश्यक छ :-

१. सुरक्षित गति कायम गर्नुहोस् :

       भिजेको सडकमा टायरको पकड (Grip) कमजोर हुने भएकाले ब्रेक लगाउँदा सवारी रोक्न सामान्य अवस्थाभन्दा बढी दूरी लाग्छ । त्यसैले मौसमअनुसार गति नियन्त्रण गर्नु नै सुरक्षित यात्राको पहिलो सर्त हो ।

२. अगाडिको सवारीसँग पर्याप्त दूरी राख्नुहोस् :

       आकस्मिक ब्रेक लगाउनुपर्ने अवस्था आउन सक्छ । त्यसैले अगाडिको सवारीसँग पर्याप्त सुरक्षित दूरी कायम राख्दा ठोक्किने सम्भावना उल्लेखनीय रूपमा घट्छ ।

३. दृश्यता स्पष्ट रहने व्यवस्था गर्नुहोस् :

       यात्रा सुरु गर्नु अघि वाइपर, वासर, हेडलाइट, टेललाइट, इन्डिकेटर तथा ब्रेक लाइटको अवस्था जाँच गर्नुहोस् । सिसामा बाफ जमेमा डिफगर वा हिटर प्रयोग गर्नुहोस् ताकि सडक स्पष्ट देखियोस् ।

४. कम दृश्यतामा डिप हेडलाइट प्रयोग गर्नुहोस् :

       वर्षा, कुहिरो वा बादलका कारण दृश्यता कम भएको अवस्थामा डिप (Low Beam) हेडलाइट प्रयोग गर्नु उपयुक्त हुन्छ । यसले तपाईंलाई पनि राम्रोसँग देख्न र अन्य सवारी चालकलाई तपाईंको सवारी सहजै देख्न मद्दत गर्दछ ।

५.  घुम्ती, मोड र चोकमा विशेष सावधानी अपनाउनुहोस् :

       घुम्ती, यू-टर्न तथा चोकमा प्रवेश गर्दा गति घटाउनुहोस्, आवश्यक दिशासूचक बत्ती (Indicator) प्रयोग गर्नुहोस् र अचानक स्टेयरिङ मोड्ने वा ब्रेक लगाउने कार्यबाट बच्नुहोस् । चिप्लो सडकमा यस्ता गतिविधिले सवारी नियन्त्रण गुम्न सक्छ ।

६. पानी जमेको सडकमा अनुमानका भरमा प्रवेश नगर्नुहोस् :

       पानीमुनि खाल्डाखुल्डी, खुला ढल वा सडक भत्किएको भाग लुकेको हुन सक्छ । सम्भव भएसम्म सुरक्षित वैकल्पिक मार्ग रोज्नुहोस् ।

७. बाढी, खोल्सा वा डुबान भएको स्थान पार गर्दा जोखिम नलिनुहोस् :

       बहाव भएको पानीको गहिराइ र वेग अनुमान गर्न कठिन हुन्छ । यस्तो अवस्थामा जोखिम मोलेर सवारी अघि बढाउनु दुर्घटनाको प्रमुख कारण बन्न सक्छ । आवश्यक परे सुरक्षित स्थानमा रोकिनु नै उत्तम निर्णय हो ।

८. पैदल यात्रु तथा दुईपाङ्ग्रे सवारीप्रति संवेदनशील बन्नुहोस् :

       पानी वा हिलो छ्यापिने गरी तीव्र गतिमा सवारी नचलाउनुहोस् । पैदल यात्रु, साइकल चालक तथा मोटरसाइकल चालक वर्षायाममा अझ बढी जोखिममा हुने भएकाले उनीहरूप्रति विशेष जिम्मेवारीका साथ व्यवहार गर्नुहोस् ।

९. लामो यात्राअघि सवारीको प्राविधिक परीक्षण गर्नुहोस् :

       टायर, ब्रेक, स्टेयरिङ, ब्याट्री, लाइट, वाइपर तथा अन्य सुरक्षा प्रणाली राम्रो अवस्थामा छन् भन्ने सुनिश्चित गरेपछि मात्र यात्रा सुरु गर्नुहोस् । सानो प्राविधिक त्रुटिले पनि ठूलो दुर्घटना निम्त्याउन सक्छ ।

१०. पानी पार गरेपछि ब्रेक परीक्षण गर्नुहोस् :

       यदि सवारीले पानी पार गरेको छ भने केही दूरीसम्म बिस्तारै ब्रेक प्रयोग गरी त्यसको कार्यक्षमता परीक्षण गर्नुहोस् । आवश्यक परे पूर्ण रूपमा सुकिसकेपछि मात्र सामान्य गतिमा यात्रा जारी राख्नुहोस् ।

       सडक सुरक्षा केवल ट्राफिक नियमको पालना मात्र होइन, यो आफ्नो, आफ्नो परिवार र अन्य सडक प्रयोगकर्ताको जीवनप्रतिको जिम्मेवारी पनि हो । वर्षायाममा हुने अधिकांश दुर्घटना प्राकृतिक कारणले मात्र होइन, असावधानी, हतार र जोखिमपूर्ण निर्णयका कारण पनि हुने गरेका छन् । त्यसैले प्रतिकूल मौसमलाई ध्यानमा राखी अतिरिक्त सावधानी, धैर्यता र जिम्मेवारीका साथ सवारी सञ्चालन गर्नु नै सुरक्षित यात्राको आधार हो ।

ट्राफिक नियम जानौं पनि, मानौं पनि ।

  • विष्णु थापा

प्रहरी बरिष्ठ नायव निरीक्षक

जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवन

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...