थकान र अनिद्रा : सडक दुर्घटनाको अदृश्य शत्रु

सवारी साधनको स्टेरिङ समात्ने व्यक्तिको हातमा केवल गाडीको नियन्त्रण मात्र हुँदैन - त्यहाँ यात्रुहरूको जीवन, परिवारको आशा र समाजको भरोसा पनि जोडिएको हुन्छ । तर व्यवहारमा हेर्दा धेरै चालकहरू लामो समयसम्म निरन्तर सवारी चलाउने, पर्याप्त आराम नगर्ने र थकान तथा अनिद्रालाई बेवास्ता गर्ने प्रवृत्ति देखिन्छ । यही प्रवृत्ति नै सवारी दुर्घटनाको महत्वपूर्ण जोखिम र कारकको रूपमा देखा पर्ने गरेको छ । चालकले पर्याप्त आराम र स्वास्थ्यको ख्याल राखेमा धेरै दुर्घटना रोक्न सकिन्छ ।

        कतै तपाई पनि यही अवस्थामा सवारी हाँक्दै त हुनुहुन्न ? यस सन्दर्भमा तपाईका लागि निम्न जीवन उपयोगी सुरक्षा सावधानीहरू अत्यन्त महत्वपूर्ण छन् :

१. पर्याप्त निद्रा लिएर मात्र सवारी चलाउनु

        चालकले दैनिक कम्तीमा ७-८ घण्टा आरामदायी निद्रा लिनु अत्यन्त आवश्यक हुन्छ । पर्याप्त निद्रा नलिई सवारी चलाउँदा सडकमा ध्यान केन्द्रित गर्ने क्षमता घट्छ, आँखाहरू भारी हुन्छन् र प्रतिक्रिया दिन ढिलो हुन्छ । यस्तो अवस्थामा स्टेरिङ समातेर यात्रा गर्नु जोखिमपूर्ण हुन्छ ।

२. लामो यात्रामा नियमित विश्राम लिनु

                लगातार धेरै घण्टा सवारी चलाउनु शरीर र मस्तिष्क दुवैका लागि थकाइपूर्ण हुन्छ । सामान्यतया २-३ घण्टा सवारी चलाइसकेपछि केही समय सवारी रोकेर विश्राम लिनु, पानी पिउनु वा हल्का हिँडडुल गर्नुले थकान कम गर्न मद्दत गर्छ र चालकलाई पुनः सतर्क बनाउँछ ।

३. अत्यधिक थकान वा निद्रा लागेमा सवारी रोकेर आराम गर्नु

        कहिलेकाहीँ चालकलाई झपक्क निद्रा लाग्ने अवस्था आउन सक्छ, जसलाई “माइक्रो स्लिप” भनिन्छ । यस्तो अवस्थामा केही सेकेन्डका लागि आँखा बन्द हुन सक्छ, जुन सडकमा अत्यन्त खतरनाक हुन्छ । यदि थकान वा निद्रा लागेको महसुस भयो भने सुरक्षित स्थानमा सवारी रोकेर आराम गर्नु नै सबैभन्दा सुरक्षित उपाय हो ।

४. रातिको यात्रामा विशेष सावधानी अपनाउनु 

        रातिको समयमा शरीर स्वाभाविक रूपमा आराम चाहन्छ, त्यसैले राति सवारी चलाउँदा थकान छिटो बढ्न सक्छ । चालकले पर्याप्त आराम बिना लामो रात्री यात्रा नगर्नु र आवश्यक परे बीचमा विश्राम लिनु अत्यन्त आवश्यक हुन्छ ।

५. नियमित भोजन र सन्तुलित आहार लिनु

        खाली पेट वा असन्तुलित भोजनले पनि शरीर कमजोर बनाउँछ र ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ । चालकले नियमित रूपमा पौष्टिक भोजन गर्नु, पर्याप्त पानी पिउनु र शरीरलाई ऊर्जावान् राख्नु आवश्यक हुन्छ ।

६. अत्यधिक चिया, कफी वा ऊर्जा पेयमा निर्भर नहुनु

        चिया, कफी वा ऊर्जा पेय पदार्थले केही समयका लागि जागा रहन मद्दत गर्न सक्छ, तर यसले वास्तविक थकान हटाउँदैन । थकान हटाउने सबैभन्दा प्रभावकारी उपाय भनेको पर्याप्त आराम र निद्रा नै हो ।

७. स्वास्थ्य अवस्था राम्रो नभए सवारी नचलाउनु

        ज्वरो, अत्यधिक थकान, चक्कर आउने, टाउको दुख्ने जस्ता अवस्थामा सवारी चलाउनु जोखिमपूर्ण हुन सक्छ । यस्तो अवस्थामा आफूलाई जबर्जस्ती काममा लगाउनु भन्दा स्वास्थ्यलाई प्राथमिकता दिनु बुद्धिमानी हुन्छ ।

८. शारीरिक सक्रियता र हल्का व्यायामलाई प्राथमिकता दिनु

        लामो समय बसिरहने पेशा भएकाले चालकले दैनिक जीवनमा हल्का व्यायाम, हिँडडुल वा स्ट्रेचिङ गर्नुपर्छ । यसले शरीरलाई सक्रिय राख्छ र लामो यात्रामा थकान कम गर्न मद्दत गर्छ ।

९. समयको दबाबमा जोखिमपूर्ण निर्णय नगर्नु

        छिटो पुग्ने हतारमा विश्राम नगरी सवारी चलाउनु दुर्घटनाको प्रमुख कारण बन्न सक्छ । चालकले समय भन्दा सुरक्षा महत्वपूर्ण हो भन्ने सोच राख्नुपर्छ ।

१०. सुरक्षित यात्राका लागि ‘आराम–सतर्कता–स्वास्थ्य’ को सूत्र अपनाउनु :

        सुरक्षित यातायातका लागि चालकले तीन आधारभूत कुरा सधैं सम्झनुपर्छ - पर्याप्त आराम, पूर्ण सतर्कता र राम्रो स्वास्थ्य अवस्था । यी तीन कुरा कायम रहे मात्र यात्रा सुरक्षित र सफल हुन्छ ।

        तपाईंको एक झपक्क निद्राले कसैको संसार अँध्यारो बनाउन सक्छ । त्यसैले, गन्तव्यमा १० मिनेट ढिलो पुग्नु स्वीकार्य छ, तर कहिल्यै नपुग्नु वा कसैलाई पुग्न नदिनु किमार्थ स्वीकार्य छैन । तसर्थ सुरक्षित रहौँ, सतर्क रहौँ ।

ट्राफिक नियम जानौँ पनि, मानौँ पनि ।

– प्र .ब.ना.नि. बिष्णु थापा

   प्रमुख - जिल्ला ट्राफिक प्रहरी कार्यालय, सिन्धपाल्चोक

सम्बन्धित समाचारहरू

यी संकेतले भन्छ, अव तपाईको कार बेच्ने समय भयो

यी संकेतले भन्छ, अव तपाईको कार बेच्ने समय भयो

लामो समयसम्म कारको उपभोग गर्दा यसको मर्मत सम्भारमा ठूलो रकम खर्च भइसकेको...

भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा कुमारी बैंकका ग्राहकले ड्राइभिङ कोर्स छुट पाउने

भेइकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा कुमारी बैंकका ग्राहकले ड्राइभिङ कोर्स छुट पाउने

काठमाडौं – कुमारी बैंक लिमिटेड र गुर्जुधारा काठमाडौंस्थित भेइकल एकेडेमी...

सिट बेल्टको प्रयोग : यसरी बन्छ जीवन बचाउने प्राथमिक सुरक्षा कवच

सिट बेल्टको प्रयोग : यसरी बन्छ जीवन बचाउने प्राथमिक सुरक्षा कवच

सवारी साधन आधुनिक जीवनको अभिन्न हिस्सा बनिसकेको छ । तर, सडक यात्रा जति सहज छ,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...