गाडीलाई अगाडिबाट पछाडितिर लैजानुलाई ब्याक गर्नु भनिन्छ। गाडीलाई अगाडि बढाउनुभन्दा पछाडि केही कठिनाइ पर्दछ। गाडीलाई ग्यारेजमा राख्नुपर्दा, ग्यारेजबाट निकाल्दा तथा कुनै ठाउँमा अरू सवारीहरूसँगै राखेको अवस्थामा ब्याक गरी निकाल्नुपर्ने हुन्छ ।
ब्याक गर्दा पछाडिबाट अरू सवारी साधनका साथै पैदल यात्रीहरू पनि आइरहेका हुन सक्छन् । त्यसैले ब्याक गर्नु भन्दा पहिले आफ्नो गाडी भन्दा पछाडी केही छ छैन भनि यकिन भई ब्याक गर्नुपर्दछ ।
गाडी ब्याक गर्दा ध्यान दिनुपर्ने कुराहरू
- सवारी ब्याक गर्ने क्रममा सर्वप्रथम क्लच थिचेर ब्याक गियरमा लगाउनुपर्छ।
- ब्याक गियर लगाएपछि सीधैँ पछाडि ब्याक गर्नुपर्ने हो वा दायाँ बायाँ कता मोड्नु पर्ने हो ख्याल राख्नुपर्छ ।
- सीधा ब्याक गर्दा स्टेयरिङ सोझो, दायाँतर्फ मोड्नुपर्दा स्टेयरिङ पनि दायाँपट्टि नै र बायाँतर्फ मोडी ब्याक गर्नुपर्दा स्टेयरिङ पनि बायाँतर्फ घुमाउनुपर्छ ।
- ब्याक गर्दा एक्सिलेरेटर विस्तारै थिची ढिलो गतिमा ब्याक गर्नुपर्छ ।
- ब्याक गर्नुपर्ने ठाउँ एकैनासको अर्धसर्कल जस्तो दायाँ वा बायाँ घुमेको छ भने अन्तिम बिन्दुसम्म सवारी नपुगेसम्म नै जतापट्टि घुम्नुपर्ने हो त्यतैतिर घुम्नुपर्ने ठाउँको आधारमा स्टेयरिङ त्यतैतर्फ काटिसकेपछि स्टेयरिङ नछोडी एक्सिलेरेटर मात्र विस्तारै थिच्नुपर्छ र निर्धारित बिन्दुमा पुगेपछि स्टेयरिङ छोड्ने र एक्सिलेरेटर छोड्ने गरी सवारी रोक्नुपर्छ ।
- ब्याक गर्दा शाखा सडकबाट मूल सडकतर्फ कहिल्यै पनि गर्नुहुँदैन ।
- ब्याक गर्ने ठाउँमा सवारी तथा यात्रीहरू आवागमन भएको छैन भने विस्तारै एक्सिलेरेटर दबाई ब्याक गर्नुपर्छ ।
- अगाडिपट्टिको साइडमा दुवैतर्फ रहेका लुकिङ ग्लासबाट पछाडिको भागबाट आउने सवारीसाधन र यात्रीहरूको गतिविधि चेक गर्नुपर्छ ।
- ब्याक गर्न लागिएको स्थानमा आवागमन गर्ने सवारी तथा अन्य पैदल यात्रीहरूलाई पहिले जान दिई ब्याक गर्नु राम्रो हुन्छ ।
- आवश्यक परे चालक सिटबाटै टाउको पछाडिपट्टि फर्काई भित्रैबाट पछाडि गतिविधि कस्तो छ, ब्याक गर्न ठीक छ छैन चेक गर्नुपर्छ ।
- साँघुरो बाटोमा ब्याक गर्दा सडक छेउको नाली वा पेटी, पर्खाल वा सो पनि नभए सडकको किनार हेरेर मात्र त्यसैको आधारमा ब्याक गर्नुपर्छ ।
- ठूलो सवारी पछाडिको गतिविधि चालकले देख्न नसक्ने भएकाले यस्ता ठूला सवारीहरु ब्याक गर्दा हेल्परको सहयोग लिएर मात्र गर्नुपर्छ ।
माधव प्रसाद अधिकारी