विज्ञको सुझाव – फास्ट चार्ज गर्ने नाममा बारम्बार नगर्नुस् यस्तो गल्ती, जान्नुस् चार्ज गर्ने तरिका

हाल नेपालमा बिजुली गाडीको आयात तथा बिक्री संख्या पेट्रोल डिजेल गाडीको भन्दा अत्यधिक बढ्दो छ । त्यसैगरी हाल फास्ट चार्जरको प्रयोग समेत अत्यधिक बढेको छ ।

चार्ज गर्न प्रयोग भएको करेन्ट अनुसार चार्जर दुई किसिमका हुन्छन् । फास्ट एसी चार्जर प्रायः ७ वा ११ वा २२ किलोवाटमा हुन्छन । बिजुली गाडीमा भएको ठूलो ब्याट्रीमा डीसी (Direct Current) स्टोर हुन्छ । त्यसैले एसी चार्जर प्रयोग गर्दा बिजुली गाडीमा भएको कन्भर्टर (ईन्भर्टर) ले डीसी करेन्टमा परिणत गरी गाडीको ब्याट्रीलाई चार्ज गर्छ । एसी चार्जर टाइप १ वा टाइप २ मा उपलब्ध हुने गर्छ ।

डीसी फास्ट चार्जर प्रायः ३० किलोवाट माथि उपलब्ध हुन्छन । यस्ता चार्जरहरु विशेषतः पब्लिक चार्जिङ स्टेसन भएका स्थानहरुमा प्रयोग गरिएको हुन्छ । डीसी चार्जरहरु प्रायः सीसीएस, जीबीटी र चाडेमो कनेक्टर गनमा उपलब्ध हुन्छन् । गाडीअनुसार कनेक्टर फरक हुन सक्छन् ।

निरन्तर फास्ट चार्जर प्रयोग गरी फुल चार्ज गर्दा बिजुली गाडीको ब्याट्रीको क्षमता नियमित भन्दा बढी मात्रामा घट्छ । अत्यावश्यक पर्दा वा फास्ट चार्ज गर्नै पर्ने अवस्थामा तल उल्लेखित कुराहरुलाई ध्यानमा राख्नु अत्यन्त राम्रो हुन्छ ।

नेपालमा आयातित बिजुली गाडीहरुमा आयातकर्ताहरुले फरक फरक समयावधि तथा माइलेजको लागि ब्याट्री तथा मोटरको वारेन्टी उपलब्ध गराएका छन् । साथै प्रायः बिक्रेताले समयावधि र माइलेज सहित ब्याट्री हेल्थ वा क्षमताको आधारमा पनि मापदण्ड राखेको पाइन्छ । कतिपय कंपनीका बिजुली गाडीमा भने ब्याट्रीको हेल्थ वा क्षमता घटेको आधारमा वारेन्टी दिने प्रावधान नरहेको पाइन्छ ।

ब्याट्रीको हेल्थ वा क्षमता धेरै तल पुग्ने मुख्य कारण भनेकै अत्यधिक र नियमित बढी किलोवाटको फास्ट चार्जर प्रयोग गरी ब्याट्री १०० प्रतिशत चार्ज गरिरहने स्वभावको कारणले हुन सक्छ । यस्तो अवस्थामा कुनै म्यानुफ्याक्चरिङ समस्या वा मर्मत हुन नसक्ने समस्या आएमा मात्र वारेन्टी प्रदान गर्ने हुन सक्छ । यसमा बिजुली गाडी खरिद गर्ने वा प्रयोगकर्ताले बिक्रेता कम्पनीका प्रतिनिधिसँग राम्ररी बुझ्नु पर्छ ।

वारेन्टी जेजस्तो तोकिए तापनि बिजुली गाडी प्रयोगकर्ताले आफूले प्रयोग गर्ने बिजुली गाडी चार्ज गर्दा निकै ध्यान दिनु पर्छ । विशेषगरी फास्ट चार्ज गर्दा अति नै सजग हुनु पर्छ । फास्ट चार्जरवाट बिजुली गाडी चार्ज गर्दा गाडीमा प्रवाह हुने करेन्टको प्रवाह अत्यधिक हुने हुँदा यसले ब्याट्री सेलको क्षमता घटाउछ । ‘

नेपालमा प्रायः बिजुली गाडी बिक्रेता कम्पनीहरुले आफूले आयात गर्ने गाडी बिक्री तथा प्रमोशनको लागि फास्ट चार्जर स्थापना संख्यामा अत्यधिक प्रतिस्पर्धा गरेको देखिन्छ । तर बिडम्वना ग्राहकलाई बिजुली गाडी बिक्री गर्दा कसरी वा कस्तो चार्जर प्रयोग गर्दा गाडीको ब्याट्री क्षमतामा हस कम हुने र लामो समय उपयोग गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिएको पाइदैन । विक्रेताले यसवारे ग्राहकलाई राम्रो प्राविधिक जानकारी दिनु एकदमै जरुरी छ ।

सम्झनुहोस, यदि कुनै बिजुली गाडीको पावर ब्याट्री २ वा ३ वर्षमै ब्याट्रीको क्षमता ४० प्रतिशत वा ५० प्रतिशतमा झ¥यो र वारेन्टी कन्डिसनमा नपर्ने भयो भने पूरा चार्जमा गुड्ने माइलेज करिब आधा नै घट्छ र ब्याट्री बदल्नु परेमा ठूलो मूल्य खर्चिनु पर्ने हुन्छ ।

यसर्थ विजुली गाडी प्रयोगकर्ताले विशेषगरी फास्ट चार्जर प्रयोग गर्दा तल उल्लेख भएको कुराहरुमा ध्यान दिनु अत्यन्त उपयोगी हुन्छ ।

१. फास्ट चार्जर अत्यावश्यक समयमा मात्र प्रयोग गनुहोस् ।
२. अनिवार्य २० प्रतिशतभन्दा माथि ८० प्रतिशतसम्म मात्र चार्ज गर्नुहोस ।
३. फास्ट चार्ज गर्दा सकेसम्म छायाँ परेको ठाउँ वा सितल वातावरण भएको ठाउँमा गाडी पार्क गरेर चार्ज गर्नु राम्रो हुन्छ ।
४. चार्ज गर्नु अगाडि चार्जको गन वा पिन फुटेको वा जलेको जस्तो देखिएमा सकेसम्म उक्त फास्ट चार्जर प्रयोग नगर्नुहोस् ।
५. चार्जिङ पोर्टमा गन छिराउन वा चार्ज सकिएपछि गन निकाल्न नमिलेमा गाडीमा भएको ग्राहक निर्देशिका किताब हेर्नुहोस वा सम्बन्धित सर्भिस सेन्टर प्राविधिकलाई सम्पर्क गर्नुहोस् ।
६. बिजुली गाडी चलाउँदा सकेसम्म एक्कासी एक्सलेरेटर बढी थिचेर पिकअप लिने तथा ब्रेक झ्याप्प झ्याप्प प्रयोग बानी नगर्नुहोस् र रिजेनेरेटिभ फङसन प्रयोग गर्नुहोस् ।

सकेसम्म आफ्नो समय मिल्छ भने ३ वा ७ वा ११ किलोवाटको एसी स्लो चार्जर प्रयोग गर्नुहोस् । बिजुली गाडीमा चार्ज गर्ने तालिका मिलाउने प्रविधि भएमा तथा मोबाइल एप्लिकेसन भएमा आफ्नो व्यस्त तालिका र समय अनुसार चार्ज गर्नु अत्यन्त राम्रो हुन्छ । घरमा एसी चार्जर जडान गर्दा अनिवार्य अर्थिङ वा ग्राउन्ड गरिएको तारको कनेक्सन चार्जरमा हुनु अत्यन्त सुरक्षित हुन्छ । विद्युत प्रवाहको अफपिक आवर जस्तो उपयुक्त समयमा पुरा भोल्ट तथा करेन्ट प्रवाह राम्रो हुने हुँदा समय र लागत खर्च कम हुन्छ ।

हाम्रो देशका मुख्य राजमार्गहरुको अवस्था अत्यन्त विकराल र डरलाग्दो छ । ठुला ठुला खाल्डा तथा पहिरोले झारेका ढुंगा, लेदोमाटो आदिले गर्दा राजमार्गमा यात्रा गर्दा गाडीको कुनै न कुनै एउटा चक्का हावामा उफ्रिरहेको झै लाग्छ ।

यस्ता सडकमा बिजुली गाडीसँग यात्रा गर्दा निकै नै ध्यानपूर्वक गाडी चलाउनु पर्छ । बिजुली गाडीको ब्याट्री गाडीको बीच तल्लो भागमा फिट भएको हुँदा ठोक्किने वा ढुंगाले लाग्ने सम्भावना धेरै रहन्छ । आफ्नो गाडीको ग्राउन्ड क्लियरेन्स तथा गाडीमा भएको लोडलाई ध्यानमा राखेर गाडी चलाउनु पर्छ ।

यद्यपि बिजुली गाडीको प्रयोग गर्दा ब्याट्री क्षमता न्यून स्तरमा हरेक समय घटिरहेको हुन्छ र यो सामान्य पनि हो । तर छोटो समयमै ब्याट्री क्षमता धेरै घट्नु असामान्य नै हो । यसको लागि निर्यात गर्ने उत्पादक कम्पनी, आयात तथा बिक्रीकर्ता, आयात अनुमति दिने सम्बन्धित सरकारी निकाय तथा बिजुली गाडी प्रयोगकर्ता सबै सजग रहनु पर्छ । यसवारे पर्याप्त जानकारी लिनु दिनु लाभदायक हुन्छ ।

।। जय बिजुली गाडी ।।

केपी पोख्रेल

(पोख्रेल निसान र ओमोडा लगायत गाडीको सर्भिस सेन्टरका सर्भिस हेड हुनुहुन्छ ।)

सम्बन्धित समाचारहरू

म्याक्सस ब्रान्डका ईभी पिकअप र एमपीभी अब हिमालय मोट्रक्सले बिक्री गर्ने, मूल्य सार्वजनिक

म्याक्सस ब्रान्डका ईभी पिकअप र एमपीभी अब हिमालय मोट्रक्सले बिक्री गर्ने, मूल्य सार्वजनिक

काठमाडौं – नेपाली बजारमा एसएआईसी ग्रुप अन्तर्गतको चिनियाँ ब्रान्ड...

सेरेस ग्रुपको सुपर फ्याक्ट्रीमा सीएटीएलको ब्याट्री प्रोडक्सन लाइन

सेरेस ग्रुपको सुपर फ्याक्ट्रीमा सीएटीएलको ब्याट्री प्रोडक्सन लाइन

ईभी ब्याट्री निर्माता कम्पनीको रुपमा लोकप्रिय कम्पनी सीएटीएल अर्थात...

लुयान चाडपर्व अफर : १० हजार छुट र अन्य फ्रि सर्भिस

लुयान चाडपर्व अफर : १० हजार छुट र अन्य फ्रि सर्भिस

काठमाडौं – लुयान इलेक्ट्रिक स्कुटरको नेपालका लागि आधिकारिक वितरक जिरो...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...