सार्वजनिक बस नयाँ बसपार्कबाटै सञ्चालन गर्ने निर्णय कार्यान्वयनमा सकस

काठमाडौँ - सङ्घीय राजधानी काठमाडौँबाट उपत्यका बाहिर सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णय कार्यान्वयनमा समस्या देखिएको छ ।

काठमाडौँ महानगरपालिकाले गत जेठ १९ गते सूचना प्रकाशित गरी असार १ गतेदेखि काठमाडौँभित्रका चक्रपथ वरपरबाट उपत्यका बाहिर सञ्चालन हुँदै आएका सार्वजनिक यात्रुवाहक सवारी साधनलाई नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय गरे पनि उक्त निर्णयको कार्यान्वयन नभएको पाइएको हो ।

मुख्यतः काठमाडौँको पेप्सीकोला, जडीबुटी, मनोहरा करिडोर, कोटेश्वर, तिलगङ्गा, बागमती करिडोर, गौशाला, चावहिल, जोरपाटी, धोविखोला करिडोर, गोँगबु, विष्णुमती करिडोर, माछापोखरी, बालाजु, स्वयम्भू, कलङ्की र बल्खुलगायतका क्षेत्रबाट सञ्चालन हुँदै आएका सवारीसाधन असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट सञ्चालन गर्ने निर्णय भए पनि कार्यान्वयनमा समस्या देखिएको हो ।

महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले महानगरले गरेको निर्णय कार्यान्वयनका लागि नगर प्रहरी लागिरहेको बताए । “काठमाडौँ महानगरपालिकाभित्रको यातायातलाई व्यवस्थित ढङ्गले सञ्चालन गर्नका लागि महानगरपालिकाले नेपाल प्रहरी, ट्राफिक प्रहरी र यातायात व्यवसायी तथा मजदुरसँग सहकार्य गरिरहेको छ, चाँडै समस्याको समाधान हुन्छ,” उनले भने ।

नगर प्रहरी प्रमुख पाण्डेले चक्रपथ क्षेत्रमा सञ्चालन भएका टिकट बुकिङ काउन्टरलाई महानगर प्रहरीले हटाउने काम सुरु गरिसकेको जानकारी दिए । “कोटेश्वरबाट पूर्वतर्फ चल्ने केही सवारी साधन महानगरपालिकाको स्वीकृत विना जडीबुटीमा पार्किङ स्थल बनाउन लागेको जानकारी महानगरपालिकालाई प्राप्त भएको छ, उक्त कार्यलाई महानगरपालिकाले तत्काल रोक्नेछ,” उनले सुनाए ।

यस्तै, सोही क्षेत्रको सडक वरपर रहेका टिकट काउन्टरलाई समेत चाँडो हटाउने उनले दाबी गरे । काठमाडौँ महानगरपालिकाभित्र सवारी साधन व्यवस्थित रुपमा सञ्चालन गर्न अवरोध गर्नेलाई महानगरपालिकाले कारबाही गर्ने उनको भनाइ छ ।

नयाँ बसपार्कभित्रबाट सार्वजनिक भाडाका सवारी साधन सञ्चालन गर्नका लागि यातायात व्यवसायी, मजदुर सङ्घ, सङ्गठनको सहकार्यमा नयाँबसपार्क सञ्चालन गरिरहेको लोत्से बहुउद्देश्यीय प्रालिले यसका लागि नयाँबसपार्कभित्र काउन्टरसमेत निर्माण गरिसकेको छ ।

लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लले नयाँबसपार्कभित्रबाट सार्वजनिक भाडाका सवारीसाधन सञ्चालन गर्न आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माण गरिसकेको बताए । “महानगरपालिकाले असार १ गतेदेखि नयाँ बसपार्कभित्रबाट सार्वजनिक भाडाका सवारीसाधन अनिवार्यरुपमा सञ्चालन गर्ने निर्णय गरेसँगै लोत्सेले ६६ वटा टिकट बुकिङ काउन्टर थप गरिसकेको छ,” उनले भने ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले काठमाडौँभित्र सार्वजनिक सवारी साधनलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि व्यवसायीहरु तयार रहेको बताए । “व्यवसायी र सरकार दुवैलाई सहज हुने ढङ्गले सार्वजनिक सवारी साधन सञ्चालन हुनुपर्छ,” उनले भने ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले लामो दूरीका सवारी साधन चक्रपथ वरपर सडकमा पार्किङ गर्दा उपत्यकाको ट्राफिक व्यवस्थापनमै समस्या हुने गरेको बताए । “लामो तथा छोटो दूरीका सवारी साधन गोङ्गबुस्थित नयाँबसपार्कभित्रबाट सञ्चालन गर्ने महानगरपालिकाको निर्णयले काठमाडौँ भित्रको सवारी व्यवस्थापनलाई सहज बनाउने हामीले विश्वास लिएका छौँ,” उनले भने । प्रवक्ता भट्टले नयाँ बसपार्कभित्रबाट सार्वजनिक भाडाका सवारी साधन सञ्चालन गर्नेबारे ट्राफिक प्रहरीले सरोकारवाला निकायसँग सहकार्य गरिरहेको जानकारी दिए ।

काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित तथा पार्किङ गर्न महानगरपालिकाले विसं २०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याएको थियो । एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा आठ सयभन्दा बढी सार्वजनिक सवारी साधन राख्न मिल्ने क्षमता छ ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार हाल काठमाडौँ उपत्यकामा झन्डै १८ लाख हाराहारीमा सवारीसाधन सञ्चालनमा छन् भने एक हजार आठ सय हाराहारीमा ट्राफिक जनशक्ति कार्यरत छन् । पछिल्लो समय मुलुकको राजधानी काठमाडौँलगायत देशभर निजी तथा सार्वजनिक सवारी साधनको सङ्ख्या वृद्धि हुँदा र बाटो साँघुरो हुँदा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको छ ।

सम्बन्धित समाचारहरू

कारमा हुनुपर्ने ५ स्मार्ट ग्याजेट, जसले कारलाई सुरक्षित र यात्रामा आरामदायक बनाउँछन्

कारमा हुनुपर्ने ५ स्मार्ट ग्याजेट, जसले कारलाई सुरक्षित र यात्रामा आरामदायक बनाउँछन्

कार किन्नु जति सजिलो छ, त्यसको नियमित मर्मतसम्भार र सुरक्षामा ध्यान दिनु...

हिल होल्ड कन्ट्रोलले कसरी काम गर्छ ? भिरालो सडकमा यो सुविधा कत्तिको महत्त्वपूर्ण छ ?

हिल होल्ड कन्ट्रोलले कसरी काम गर्छ ? भिरालो सडकमा यो सुविधा कत्तिको महत्त्वपूर्ण छ ?

हालै लन्च भएका अधिकांश कारहरूमा विभिन्न प्रिमियम सुविधा प्रदान गरिएको छ,...

गर्मीमा कारलाई अत्यधिक तातो हुनबाट बचाउन ध्यान दिनुहोस् यी ५ महत्त्वपूर्ण कुरा

गर्मीमा कारलाई अत्यधिक तातो हुनबाट बचाउन ध्यान दिनुहोस् यी ५ महत्त्वपूर्ण कुरा

चर्को गर्मीले कारको इन्जिनलाई क्षति पुर्‍याउन सक्छ। त्यसैले कारमा हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...