एमजी र नेटा भीको नयाँ मूल्यले नेक्सन ईभीको मूल्य स्थिर राख्न दवाव

आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत सरकारले इलेक्ट्रिक कारको करमा फेरवदल गरेपछि अहिले ईभी बजार निकै तातिएको छ । सवैभन्दा बढी बिक्री हुने १०० किलोवाटसम्मका ईभीमा ५ प्रतिशतले भन्सार र १० प्रतिशत अन्तशुल्क थप भएपछि ग्राहक र विक्रेता दुवै अन्योलमा परेका छन् । साथै बजेटले ५० किलोवाट सम्मको ईभीलाई नयाँ सेग्मेन्ट वनाएर पुरानै दरलाई निरन्तरता दिएको छ । यो सेग्मेन्टको आयातमा जम्मा १० प्रतिशत भन्सार लाग्ने व्यवस्थालाई निरन्तरता दिइएको हो ।

नयाँ कर दर लागु भएपछि केही कम्पनीले ईभीको मूल्य समायोजन गरिसकेका छन् भने बाँकी कम्पनीले पनि छिट्टै समायोजन गर्ने तयारी थालेका छन् । यस्तोमा एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले जम्मा ५० हजार रुपैयाँमात्र मूल्य वृद्धि गरेको छ भने नेटा भीको आधिकारिक वितरक सिजी मोटर्सले १ लाख वृद्धि गरेको छ । नयाँ मूल्य अनुसार यसअघि ५२ लाख ४९ हजारमा बिक्री हुँदै आएको एमजी जेडएस ईभीको मूल्य ५२ लाख ९९ हजार र ३८ लाखमा बिक्री हुँदै आएको नेटा भीको ३९ लाख तय गरिएको छ ।

भन्सार र अन्तशुल्क गरी १५ प्रतिशतले कर वृद्धि भएसँगै बजारमा यो सेग्मेन्टको मूल्य सोही अनुपातमा वृद्धि हुने आँकलन गरिएको थियो । तर एमजी र नेटाले एकदमै कम रकम वृद्धि गरेपछि अन्य प्रतिस्पर्धी ब्रान्डलाई समेत मूल्य स्थिर राख्न दवाव परेको छ । यो सेग्मेन्टमा एमजी र नेटा वाहेक टाटा नेक्सन, हुन्डाई कोना, बीवाईडी ई६ र एट्टो३ उपलब्ध छन् ।

एमजी र नेटाको नयाँ मूल्यले सवैभन्दा वढी दवाव नेक्सन ईभी विक्रेता सिप्रदी ट्रेडिङमाथि परेको प्रष्ट हुन्छ । यो सेग्मेन्टमा निकै ठूलो बजार हिस्सा ओगट्दै आएको नेक्सन ईभीको नयाँ मूल्य कति तय होला भनेर अहिले ईभी पारखीले प्रतीक्षा गरिरहेका छन् । यस्तोमा सिप्रदीले पनि प्रतिस्पर्धी व्रान्डको मूल्यलाई हेरेर नयाँ मूल्य सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । जसअनुसार नेक्सन ईभीमा पनि १ लाख हाराहारीले मात्रै मूल्य बढ्ने अनुमान गर्न सकिन्छ ।

अर्कोतर्फ हुन्डाई कोना विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल र बीवाईडी विक्रेता साइमेक्स इंकले पनि छिट्टै मूल्य समायोजन गर्ने तयारी थालेका छन् । यी कम्पनीले नेक्सन ईभीको नयाँ मूल्य सार्वजनिक भएपछि मात्रै मूल्य समायोजन गर्ने तयारी गरिरहेको वुझिएको छ । एमजी, नेटा र नेक्सन ईभीको तुलनामा हुन्डाई कोना, बीवाईडी ई६ र एट्टो ३ मा भने केही बढी रकम वृद्धि हुने कम्पनी स्रोतहरुको भनाइ छ ।

मार्जिन कम गर्ने होडबाजी

अहिले वृद्धि भएको भन्सार र अन्तशुल्कलाई आधार मान्ने हो भने ५१ देखि १०० किलोवाट सम्मका गाडीमा २० प्रतिशत हाराहारीले मूल्य वृद्धि हुनपर्ने हो । तर हालसम्म मूल्य समायोजन गरेका कम्पनीको नयाँ मूल्य हेर्दा उनीहरुले लगभग पुरानै मूल्यमा बिक्री गर्ने योजना बनाएका छन् । बजारमा यो सेग्मेन्टको माग निकै बढी भएका कारण आफ्नो वर्चश्व वढाउन उनीहरुले मार्जिन घटाएरै भएपनि पुरानै मूल्यमा केही रकम समायोजन गरेर बिक्रीलाई निरन्तरता दिने रणनीति अपनाएको एक व्यवसायीले नेपाल अटोलाई बताए ।

उनका अनुसार यो सेग्मेन्टमा सवैभन्दा बढी बजार हिस्सा टाटा नेक्सन ईभीले लिँदै आएकोमा अव समीकरण फेरवदल हुने देखिएको छ । ‘सिप्रदीले ईभीको बिक्रीमा मात्र केन्द्रित नभई चार्जिङ स्टेशन र विक्री पछिको सेवा दिने नेटवर्कमा समेत ठूलो रकम लगानी गरिरहेको छ । जसका कारण उसलाई फराकिलो अन्तरले मार्जिन घटाउन गाह्रो हुने देखिन्छ । सिप्रदीलाई अहिले प्रतिस्पर्धी ब्रान्डलाई आधार मानेर मूल्य निर्धारण नगर्दा बजार गुम्ने डर र घटाउँदा पुर्वाधारमा लगानी गरेको ठूलो रकम नोक्सानमा जाने जोखिम देखिएको छ । सिप्रदीमाथि दवाव सिर्जना गर्नकै लागि प्रतिस्पर्धीहरुले एकदमै कम मार्जिन राखेर नयाँ मूल्य निर्धारण गरेको प्रष्ट हुन्छ’ ती व्यवसायीले भने ।

यता नयाँ मूल्य सार्वजनिक गरेका पारामाउन्ट मोटर्स र सीजी मोटर्सले भने उत्पादक कम्पनीसँग सम्वाद गरेरै नेपालमा आफ्नो बजार सुनिश्चित गर्न मूल्य नवढाइएको जिकिर गरेका छन् । पारामाउन्ट मोटर्सले त झन प्रेस विज्ञप्ति नै जारी गरेर विश्व बजारमै ईभीमा प्रयोग हुने कच्चा पदार्थको मूल्य घटिरहेको कारण नेपाली उपभोक्तालाई समेत फाइदा दिन आफूहरुले एकदमै कम रकम वृद्धि गरेर मूल्य समायोजन गरेको बताइसकेको छ ।

सम्बन्धित समाचारहरू

नयाँ शोरुमका साथ नेपालगञ्जमा सार्वजनिक भयो ओमोडा ई–फाइभ

नयाँ शोरुमका साथ नेपालगञ्जमा सार्वजनिक भयो ओमोडा ई–फाइभ

काठमाडौं – नेपालका लागि ओमोडा गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...

ईभी बजारमा होमियो स्मार्टफोन निर्माता शाओमी, देखायो पहिलो इलेक्ट्रिक कार

ईभी बजारमा होमियो स्मार्टफोन निर्माता शाओमी, देखायो पहिलो इलेक्ट्रिक कार

चाइनिज इलेक्ट्रोनिक्स तथा टेक्नोलोजी जायन्ट शाओमी इलेक्ट्रिक भेइकल (ईभी)...

डलर महंगो हुँदा तेस्रो मुलुकबाट आउने यी गाडीको मूल्यमा तत्कालै असर पर्ने

डलर महंगो हुँदा तेस्रो मुलुकबाट आउने यी गाडीको मूल्यमा तत्कालै असर पर्ने

डलरको तुलनामा स्थानीय मुद्रा कमजोर हुँदै गएपछि तेस्रो मुलुबाट आयत हुने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...