१०० युनिट डेलिभरीका साथ पोखराबाट लन्च गरियो बीवाईडी एम६, मूल्य ५८ लाख ९० हजार
पोखरा – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले पोखराबाट...
विद्युतीय गाडी प्रयोग गर्नु वा किन्नु अघि तपाईले जान्नुपर्ने पहिलो कुरा भनेको गाडीसँगै विक्रेताले उपलब्ध गराउने चार्जर कस्तो प्रकारको हो र त्यसलाई कसरी प्रयोग गर्ने भन्ने हो । यसको लागि मुख्यतः तीन तथ्य जान्नु आवश्यक छ । ती हुन् :
१. चार्जरको प्रकार
२. कनेक्टरको प्रकार
३. जडान गर्ने प्लग (पावर सप्लाई)
१. चार्जरको प्रकार
चार्जिङ्ग गतिको आधारमा चार्जर दुई प्रकारका हुन्छन् ः कम गतिको र छिटो गतिको चार्जर अर्थात स्लो र फास्ट चार्जर ।
गाडीसँग बिक्रेताले उपलब्ध गराउने चार्जर कम गतिमा चार्ज गर्ने खालको हुन्छ । जुन घरमा भएको उपयुक्त प्लगमा जोडेर विद्युतीय गाडीको ब्याट्री चार्ज गर्न सकिन्छ । यसलाई एसी –अल्टर्नेटिभ करेन्ट) चार्जर पनि भनिन्छ । यसबाट करिब ३ किलोवाट देखि ७ किलोवाटसम्मको गतिमा घरमा चार्ज गर्न सकिन्छ । तर घरमा प्रयोग भएको पावर सप्लाई करेन्टको क्षमता र सामान्यतया घरमा प्रयोग हुने प्लगको क्षमताको आधारमा ३ किलोवाटसम्मको चार्जर प्रयोग गर्नु राम्रो हुन्छ । साथै ईभीमा एसी चार्ज अधिकतम कुन दरसम्म लिनसक्ने क्षमता हो, बुझ्न जरूरी हुन्छ ।
छिटो गतिमा चार्ज गर्ने चार्जरको तुलनामा कम गतिमा चार्ज गर्ने चार्जरको लागत कम हुने तथा लिथियम ब्याट्रीको लाइफ राम्रो कायम रहन्छ । विशेषगरी लिथियम आयोन ब्याट्री उत्पादकले मध्यम स्तर सम्मको चार्ज गर्ने दर उपयुक्त रहने गरि ब्याट्री उत्पादन गरेका हुन्छन् । त्यस्तै प्रायःजसो गाडी उत्पादकले पनि कम गतिको चार्जर नै प्रयोग गर्न सुझाव दिने गर्छन । ईभी प्रयोगकर्ताले यो कुरालाई ध्यान दिनु अत्यन्त लाभदायक हुन्छ ।
फास्ट चार्जर लामो दुरीका यात्राको लागि उत्तम मानिन्छ । त्यही अनुसार राजमार्गहरुमा जडान गरिएका हुन्छन् किनकी छिटो गतिका चार्जरले छोटो समयमा सबैभन्दा बढी इनर्जी प्रदान गर्न सक्छ । यसले छिटो ईभी चार्ज हुन्छ ।
विशेषगरी यस्ता फाष्ट चार्जिङ डिसी फास्ट चार्जरको रूपमा प्रयोग गरिन्छन् । तपाईंको ब्याट्रीको क्षमतामा निर्भर गर्दै डिसी फास्ट चार्जरले ३० मिनेट देखि १ घण्टामा लगभग ८० प्रतिशत ब्याट्री चार्ज गर्न सक्छ । यो समय चार्जरको क्षमतामा भर पर्छ । यस्तो फास्ट चार्ज अति आवश्यक भएमा मात्र प्रयोग गर्नु पर्छ । नियमित फास्ट चार्ज गर्दा लिथियम आयोन ब्याट्रीको क्षमता छिट्टै कमजोर हुँदै जान्छ । गाडी उत्पादक तथा बिक्रेता कम्पनीहरूले लिथियम आयोन ब्याट्रीको आयु तथा वारेन्टी अवधिलाई ध्यानमा राखेर डिसी फास्ट चार्ज गर्न प्राथमिकता दिँदैनन् । यद्यपि व्यावसायिक प्रयोजनका लामो–छोटो दुरीमा चल्ने विद्युतीय बस वा त्यस्ता गाडीको लागि भने अत्यन्त उपयुक्त छ ।
नेपालमा पनि नेपाल सरकारका विभिन्न सम्बन्धित निकाय र विद्युतीय सवारी साधन आयात गर्ने कम्पनीहरुले सार्वजनिक चार्जिङ स्टेसन स्थापना गरिरहेका छन् । सरकारी तवरबाट राम्रो अध्ययन नगरी र उपभोक्ताको आवश्यकता नबुझी गरिएका यस्ता पब्लिक चार्जिङ स्टेसनमा सबै खालका गाडीलाई प्रयोग हुने प्लग उपलब्ध भने छैन । उदाहरणको लागि डिसी फास्ट चार्जिङ गर्ने विश्वब्यापी रूपमा प्रयोग हुने चाडेमो (CHAdeMO) हाल स्थापना भएका सार्वजनिक चार्जिङ स्टेसनमा ऊपलब्ध छैन । नेपालमा शुरूवाती समय देखिनै चाडेमो प्लग भएका गाडीहरू गुडिरहेका छन् ।
२. कनेक्टरको प्रकार
विद्युतीय गाडीमा भएको मुख्य ब्याट्री चार्ज गर्नका लागि आवश्यक हुने चार्जिङ प्लग गाडी उत्पादक कम्पनी अनुसार फरक–फरक प्रकारका हुन सक्छन् । त्यसैले चार्जर जोड्नु पहिले चार्जरको कनेक्टर र गाडीतर्फको प्लग एउटै खालको र फिट हुने–नहुने ध्यान दिनु पर्छ । एसी चार्जिङ गर्नको लागि टाइप १, टाइप २ र जीबी/टी आदि प्रकारका प्लग रहेका छन् भने डीसी फास्ट चार्जिङको लागि सीसीएस१, सीसीएस२, चाडेमो, जीबी/टी–डीसी आदि प्लग हुन्छन् ।
३. जडान गर्ने प्लग (पावर सप्लाई)
विशेष गरी गाडीसँग बिक्रेताले उपलब्ध गराउने स्लो चार्जर घरमा जोड्नु पहिले तलको बुँदाहरूमा ध्यान दिनु अति जरूरी हुन्छ :
(क) वाल साइडको पावर सप्लाई प्लग चार्जरको करेन्ट एम्पियर क्षमता बराबर वा बढी क्षमताको हुनु पर्छ । जस्तै, १० एम्प्यिरको चार्जर छ भने वाल साइडको प्लग पनि सो बराबर वा बढी १२ एम्पियर वा १५ एम्पियर हुनु पर्छ ।
(ख) वाल साइडको प्लगमा ओभर लोड वा सर्ट सर्किट हुदा सुरक्षाको लागि अनिवार्य एमसीबी र आरसीसीबी/आरसीडी प्रयोग गर्नु पर्छ । यसले घर साइडको वायरिङ तथा चार्ज गर्दा गाडी र चार्जरलाई सुरक्षित गर्छ ।
(ग) चार्जर जोड्ने वाल साइडको प्लग र चार्जरको पिन पूर्णरूपले जोडिने खालको छ वा छैन ख्याल दिनु पर्छ । नमिल्ने वा हल्का मिल्ने भन्दै जबरजस्ती उक्त प्लगमा चार्जर प्रयोग गरी ईभी चार्ज गर्दा ठूलो क्षति हुन सक्छ ।
(घ) वाल साइडको प्लग वाटरप्रुफ वा इन्ग्रेस प्रोटेक्सन क्षमता ठिक नहुन सक्छ, त्यसैले वर्षाको पानीले नभेट्ने ठाउँमा प्लग सुरक्षित हुनु पर्छ ।
(ङ) वाल साइडको प्लगको उचाई सानो बच्चाको पहुँच भन्दा माथि भए राम्रो हुन्छ ।
(च) वाल साइडको प्लगमा घरबाट ल्याइएको वायरको साइज दूरी र प्रयोग क्षमता अनुसार प्रयोग भएको छ छैन ध्यान दिनु पर्छ ।
केपी पोखरेल
(सर्भिस हेड, निसान/ड्याटसन सर्भिस सेन्टर, नेपाल)
पोखरा – नेपालका लागि बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकले पोखराबाट...
नेपाली इभी बजारमा अर्को नयाँ व्राण्डको मिनी कार भित्रिएको छ । चीनको...
नेपाली बजारमा नयाँ ब्रान्ड ‘कोल्टर’ को इलेक्ट्रिक बाइक भित्रिएको छ । हाल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...