स्पार्क प्लग हेरेर थाहा पाउन सकिन्छ इन्जिनको अवस्था, कुन संकेतले के भन्छ?
पेट्रोल इन्जिन भएका कार वा मोटरसाइकलमा स्पार्क प्लग निकै महत्वपूर्ण...
खुल्ला सिमानाका कारण बोर्डर साइडमा सामान ओसारपसार हुनु खासै नौलो विषय होइन । भन्सार नाकालाई छलेर सहायक बाटो हुँदै ठूलो परिमाणमा सामान तस्कर हुँदै आएको विषयले बेलाबखत निकै ठूलो चर्चा समेत बटुल्ने गरेको पाइन्छ । तर पछिल्लो समय भन्सार नाका हुँदै दैनिक लाखौ मूल्य बराबरका स्पेयर पार्ट्स तस्करमार्फत नेपाल आउन थालेपछि सीमा क्षेत्र नजिक व्यवसाय गर्ने व्यवसायीहरु मर्कामा पर्न थालेका छन् ।
सवारीसाधन र स्पेयर पार्ट्स आयात हुने सबैभन्दा ठूलो नाका सुनौलीबाट सेटिङका आधारमा स्पेयर पार्ट्स आयात हुन थालेपछि त्यस आसपास क्षेत्रका व्यवसायी पलायन हुनुपर्ने अवस्थामा पुगेका छन् । देशको सबैभन्दा ठूलो औद्योगिक क्षेत्रका रुपमा विकास हुँदै गएको भैरहवा आसपासमा थुप्रै उद्योग संचालन हुन थालेपछि यो क्षेत्रमा गुड्ने ठूला मालबाहक सवारीसाधनको संख्या समेत बढ्दो क्रममा रहेको पाइन्छ ।
यस्ता साधनको मर्मत सम्भारमा प्रयोग हुने स्पेयर पार्ट्स मूलतः नेपाली व्यवसायीमार्फत नै खरिद गरी प्रयोग हुनुपर्ने हो । तर यसको ठीक विपरित पछिल्लो समय अधिकांश स्पेयर पार्ट्स सीमाक्षेत्रको भारतीय बजारबाट मागाउन थालिएको छ । यसले उक्त क्षेत्रमा व्यवसाय गर्ने व्यवसायी मर्कामा त परेका छन् नै साथमा सरकारले दैनिक लाखौ रुपैयाँ राजस्व समेत गुमाउनु परेको छ ।
यो क्षेत्रमा गुड्ने ठूला मालबाहक सवारीसाधन र निर्माण कार्यमा प्रयोग हुने ट्रक/टिप्पर बढीमात्रामा टाटा ब्रान्डको रहेका कारण यसको सबैभन्दा बढी असर टाटा जेन्युइन पार्ट्समा देखिएको छ । टाटा जेन्युइन पार्ट्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी अटो पार्ट्सका महाप्रबन्धक युवराज बुढाथोकीका अनुसार विगत ३ महिनायता यो क्षेत्रमा अबैध कारोबार अत्यधिक मात्रामा बढिरहेको छ । उनी भन्छन्, ‘खुल्ला सिमानाका कारण सहायक बाटो हुँदै केही परिमाणमा सामान आयात हुनुलाई सामान्य नै मान्न सकिए पनि पछिल्लो समय भन्सार नाका हुँदै ठूलो परिमाणमा यस्ता पार्ट्स आयात भैरहेको छ । भन्सार छलेर आयात गरिने यस्ता पार्ट्सका कारण उक्त क्षेत्रमा व्यवसाय गर्ने व्यवसायीहरु सबैभन्दा बढी मारमा पर्ने गरेका छन् । कर छलेर ल्याइने यस्ता कमसल र गुणस्तरहीन सामान नेपालमा पाइने सामानको तुलनामा सस्तो पर्ने कारण अबैध कारोबारले प्रश्रय पाइरहेको छ ।’
यस विषयमा भन्सार प्रशासन र अन्य सम्बन्धित निकायलाई जानकारी गराएपनि कुनै सुनुवाई नभएको बताउँदै उनले भने, ‘यस विषयमा हामीले सम्वन्धित निकायसमक्ष धेरै पटक गुनासो गर्दा समेत यस्ता गतिविधि रोकिएको छैन । ४३ प्रतिशतसम्म कर भुक्तानी गरेर आयात गरिने हाम्रो सामानले सीमापारीबाट चोरी निकासीमार्फत आउने सामानसँग प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन । जसका कारण उक्त क्षेत्रमा कारोबार गर्ने व्यवसायीहरु बढी मारमा परेका छन् । यस्तो गतिविधि बढ्न थालेपछि उक्त क्षेत्र आसपासमा टाटा जेन्युइन पार्ट्सको कारोबार चौपट भैरहेको छ ।’ यस विषयमा सम्बन्धित निकायले समयमै विचार नपु¥याउने हो भने भोलिका दिनमा समस्या थप विकराल बन्ने उनको ठहर छ ।
भैरहवामा जमुना एन्ड सन्स नामको स्पेयर पार्ट्स सञ्चालन गर्दै आइरहेका थिरेन्द्र श्रेष्ठले यो क्षेत्रमा अबैध कारोबार बढिरहेको बताए । उनले भने, ‘नेपाली बजारको तुलनामा झन्डै ५० प्रतिशतसम्म सस्तो पर्ने बताउँदै कतिपय गाडीधनी स्वयं नै भारतीय बजारमा गएर सामान खरिद गर्ने गरेका छन् । सीमा नजिकै भएका कारण एकैछिनमा गएर सामान ल्याउन सकिने अवस्था र यसरी ल्याइने सामानमा भन्सार र सुरक्षाकर्मीले कुनै निगरानी नगरिदिँदा समस्या बढ्दो क्रममा छ ।’ उनका अनुसार यो क्षेत्रमा ९० प्रतिशतसम्म स्पेयर पार्ट्स अबैध बाटोबाट भित्रिने गरेको छ ।
यसरी भित्रिने सामानले भैरहवा मात्र नभई बुटवल र नवलपरासीसम्मको बजारमा प्रभाव पारिरहेको बुटवल अटो इन्जिनियरिङका बाणिज्य उपाध्यक्ष वावुराम आचार्यले बताए । उनका अनुसार मर्मतसम्भारका लागि वर्कशपमा ल्याइने यस्ता गाडीको कोटेशन मागेर स्वयं गाडीधनी र कतिपय मिस्त्रीले सीमापारीबाट सामान मगाउने प्रचलन यो क्षेत्रमा अत्यधिक मात्रामा बढिरहेको छ । उनले भने, ‘भन्सार छलेर ल्याइने यस्ता सामान सस्तो पर्ने कारण बजारमा बिक्री गर्न सजिलो हुने भन्दै यस्ता सामानको कारोबार गर्ने गिरोह नै सक्रिय बनिरहेको छ । जसका कारण यो क्षेत्रमा दैनिक २५ देखि ३० लाख रुपैयाँसम्मको अबैध कारोबार हुने गरेको पाइएको छ । यसले हामीजस्ता व्यवसायीलाई मर्कामा त पारेको छ नै, राज्यले समेत दैनिक १० लाखभन्दा बढी राजस्व गुमाइरहेको छ ।’ यस विषयमा आफूहरुले सबैजसो सम्बन्धित निकायमा कुरा राखेपनि मौखिक आश्वासन बाहेक कुनै उपलब्धि हासिल नभएको उनको देखेसो छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...